site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक उपविजेता इंग्ल्यान्डलाई डच टिमको डर 

काठमाडौं । जर्मनीको डर्टमन्डमा हुने युरो–२०२४ को दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिँदा इंग्ल्यान्ड लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ । 

क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा जित निकालेपछि इंग्लिस टिमले सेमिफाइनल यात्रा तय गरेको थियो । तर, प्रतियोगितामा स्वभाविक प्रदर्शन दिन नसकेको इंग्ल्यान्डलाई यो जित उत्साहभन्दा पनि राहत थियो । 

ग्यारेथ साउथगेटको टोली सहज प्रतिद्वन्दीविरुद्ध अपेक्षाविपरीत पनि लड्खडाउँदै साधारण प्रदर्शनसहित सेमिफाइनलमा आइपुगेको हो । “यस्ता खाले राष्ट्रिय प्रतियोगितामा ठूलो दबाब हुन्छ । हाम्रो टिम सुरुआतदेखि नै भारी दबाबमा छ । उनीहरूले धेरै राम्रो गरिरहेका छन्,” डच टिमविरुद्धको खेलअघि इंग्लिस प्रशिक्षक साउथगेटले भने, “अहिले हामी धेरै गोल गर्न सकिरहेका छैनौँ । तर, हामीले यस्ता तीन टिमसँग खेल्यौँ, जसले रक्षापंक्तिमा पाँच खेलाडी राख्ने गर्दछन् । निक्कै राम्रो संगठित रक्षापंक्ति बनाउँछन् ।” 

यता, नेदरल्यान्ड्स भने हारको संघारबाट माथि उठ्दै सेमिफाइनलसम्म आइपुगेको टिम हो । क्वार्टरफाइनलमा डच टिम टर्कीयाविरुद्ध हारसहित प्रतियोगिताबाट बाहिरिने समीकरणबाट २० मिनेटमात्र पर थियो । तर, २० मिनेटभित्र दुई गोल गरेपछि पुनरागमन जितसहित नेदरल्यान्ड्सले सेमिफाइनल यात्रा तय गरेको हो । 

क्वार्टरफाइनलमा संघर्षका बाबजुद नेदरल्यान्ड्सले प्रतियोगिताको पछिल्लो तीन खेलमा निर्धारित समयमै जित निकालेको छ । यसको तुलना इंग्ल्यान्डसँग गर्ने हो भने, साउथगेटको टिमले एक खेलमामात्र निर्धारित समयभित्र जित निकालेको छ । डच टिम आक्रमणमा पनि इंग्ल्यान्डभन्दा अघि छ । 

प्रतियोगितामा नेदरल्यान्ड्ले २० प्रहार गर्दा नौ गोल गरेको छ । यस वर्षको बालोन डी‘अर दाबेदार जुड बेलिङ्घम, ह्यारी केन र फिल फोडनजस्ता जब्बर आक्रमण भए पनि इंग्ल्यान्डले पाँच गोलमात्र गरेको छ । तर, २० वर्षपछि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको नेदरल्यान्ड्सको प्रदर्शन अनपेक्षित छ ।

इंग्लिस टिमविरुद्ध डच टिम १९८८ पछि पहिलो प्रमुख उपाधिको जित्ने लक्ष्यलाई कायम राख्न केन्द्रित हुनेछन् । “हामीले सेमिफाइनलमा जितका लागि लड्न आवश्यक छ । दुई देशबीचको यो ऐतिहासिक खेल बुधबार राति उत्कृष्ट हुनेछ । इंग्ल्यान्डसँग राम्रा खेलाडी छन्, तर हामीसँग पनि सोही स्तरका खेलाडी छन्,” डच टिमका प्रशिक्षक रोनाल्ड कोमनले भने । 

इतिहास हेर्दा इंग्लिस टिमविरुद्ध डच टिम हाबी देखिन्छ । पछिल्लो पटक यूईएफए नेसन्स लिगको सेमिफाइनलमा यी दुई टिमबीच प्रतिस्पर्धा हुँदा नेदरल्यान्ड्सले ३–१ को जित निकालेको थियो । डच टिमविरुद्धको पछिल्लो नौ खेलमा इंग्ल्यान्डले एक पटकमात्र जितको अनुभव बटुलेको छ । यी नौ खेलमा नेदरल्यान्ड्सविरुद्ध सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड १–० ले विजयी भएको थियो । ‘हेड टू हेड’ मा यी दुई टिमबीच हालसम्म २२ खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले सात र इंग्ल्यान्ड ६ खेलमा जित निकालेको इतिहास छ । 

यी दुई टिमबीचको नौ खेल भने बराबरीमा समाप्त भएको थियो । फिफा वरीयतामा नेदरल्यान्ड्स सातौँ र इंग्ल्यान्ड पाँचौँ स्थानमा छन् । जर्मनीको डर्टमन्डमा हुने यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro