site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्धले समस्या समाधान गर्न सक्दैन : मोदी

मस्को । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताएका छन् । 

“एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु”, पुटिनसँगै बसेर हिन्दी भाषामा उनले भने, “जब निर्दोष बालबालिकाहरूको हत्या हुन्छ, उनीहरू मरेको देख्दा मुटु दुख्छ, त्यो पीडा असह्य हुन्छ ।”

Argakhachi Cement Island Ad

आफ्नो मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी अभियानबारे पनि छलफल गरेको बताए । “एउटा सच्चा मित्रका रूपमा हामीसँगै थियौँ र धेरै मुद्दामा छलफल गर्यौँ,” उनले भने,  “युक्रेनका बारेमा हामी दुवैले आफ्नो विचार खुला र विस्तृतरूपमा राख्न सकेकामा मलाई खुसी लागेको छ ।”

रुसले युक्रेनका सहरहरूलाई लक्षित गर्दै तीन दर्जनभन्दा बढी मानिसको ज्यान लिएको र किएभको बाल अस्पताललाई ठूलो क्षति पुर्‍याएको केही घन्टापछि मोदी सोमबार मस्को पुगेका थिए ।  उक्त आक्रमणको युरोप र उत्तरी अमेरिकाका सरकारहरूले निन्दा गरेका छन् ।“मलाई थाहा छ, युद्धले समस्याको समाधान गर्न सक्दैन, समाधान र शान्ति वार्ता बम, बन्दुक र गोलीमा सफल हुनसक्तैन, साथै हामीले वार्तामार्फत शान्तिको मार्ग खोज्न आवश्यक छ”, मोदीले भने । 

रुस भारतका लागि कम मूल्यमा तेल र हतियारहरूको प्रमुख आपूर्तिकर्ता हो तर पश्चिमबाट मस्कोको एक्लोपन र बेइजिङसँगको बढ्दो मित्रताले नयाँदिल्लीसँगको उसको साझेदारीलाई असर गरेको छ ।

हालैका वर्षहरूमा पश्चिमी शक्तिहरूले पनि चीन र एसिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्