site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा बस दुर्घटना : दुईको मृत्यु, ३४ जना घाइते

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३, बखरियामा यात्रीवाहक बस दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ । ३४ जना घाइते छन् ।

दुर्घटनामा दंगीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र  सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

तुलसीपुर–अमलियाखण्डअन्तर्गत गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ४००९ नम्बरको यात्रीवाहक बस र तुलसीपुरबाट बखरियातिर गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा१क ८७० नम्बरको खाली बस एकापसमा ठोक्किँदा दुर्घटना भएको उनले बताए ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । १५ जनाको मध्यम र बाँकीको अवस्था सामान्य रहेको इन्स्पेक्टर रानाले जानकारी दिए ।

तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा घाइते सबैको उपचार भइरहेको छ । बसमा सवार यात्री अधिकांश एउटै गाउँका रहेका उनले बताए ।

तत्काल उद्धार गरी घाइतेलाई प्रादेशिक अस्पतालमा उपचारका निम्ति पठाइएको थियो । दुवै बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इन्स्पेक्टर रानाले उल्लेख गरे ।

ठक्करपछि यात्रीवाहक बस सडकबाट करिब पाँच मिटर तल पल्टिएको थियो । रासस

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्