site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेसको निर्णय 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत वर्तमान राजनीतिक व्यवस्थाको रक्षाका लागि एमालेसँग सहमति गरिएको जनाएको छ । 

नयाँ सरकार गठनका लागि एमालेसँग सहमति भएपछि मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न एमालेसँग सहमति गरिएको बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । 

Argakhachi Cement Island Ad

प्रवक्ता महतले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले महत्वपूर्ण मुद्दामा आमजनतामा रहेको चासो र चिन्तालाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको बताए । 

उनले राष्ट्रिय सहमतिको सरकार बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओली र सभापति देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने बताए । इच्छुक अन्य दलहरूलाई सरकारमा सामेल गर्ने उनले जानकारी दिए । 

अहिलेसम्मको समीक्षा र अनुभवबाट राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन पनि सँगसँगै अघि बढाउने प्रवक्ता महतले बताए । 

महतले सभापति देउवा र एमाले अध्यक्ष ओलीले सोमबार राति राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेको र भेटमा संविधान संशोधनको विषयलाई लिएर आयोग बनेको भन्नेमा कुनै सत्यता नभएको प्रष्ट पारे । 

बैठकले प्रतिपक्षमा रहेका दलहरूलाई छलफलमा बोलाउने निर्णय गरेको छ । छलफल साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुनेछ । 

छलफलमा राप्रपा, जनमोर्चा, लोसपा, जसपालाई बोलाउने निर्णय भएको कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देबेले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्