site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
करारकै जनशक्तिको भरमा ठूला अस्पताल, भएका दरबन्दी पनि रिक्त 

काठमाडौं । स्वास्थ्य सेवामा ३३ वर्षदेखि दरबन्दी थपिएको छैन । ठूला अस्पतालमा ठूलै संख्यामा दरबन्दी रिक्त छ । जसको प्रत्यक्ष असर आम नागरिकले पाउने सेवामा परेको छ ।

अधिकांश अस्पतालका अकस्मिक र शल्यक्रिया कक्ष करारका जनशक्तिको भरमा छन् । कारारका जनशक्ति आउने–जाने क्रम चलिरहँदा अस्पतालका सेवामात्रै खुम्चिएका छैनन, सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको असन्तुष्टि बढ्दै गएको छ ।

चिकित्सक नर्सको अभाव, भएका दरबन्दी पनि रिक्त

Dabur Nepal
NIC Asia

वीर अस्पतालको ओपीडीमा दैनिक दुई हजार ८०० देखि तीन हजारसम्म बिरामी आउँछन् । इमर्जेन्सी कक्षको 'रेड' र 'एल्लो जोन'मा मत्रै ८० देखि १०० सम्म बिरामी हुन्छन् । 

'रेड जोन'मा एकजना बिरामीलाई एक नर्सले हेनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड छ । तर, वीरमा एक नर्सले ६ जनासम्म हेर्नुपर्छ । एल्लो जोनमा एकजना नर्सले १८ जनासम्म बिरामी हेरिरहेका छन् । 

नर्सकै अभावमा दश महिनादेखि थन्किएको 'ग्रिन जोन' फेरि चलाइएको दश दिनमात्रै भयो । 

वीरमा स्टाफ नर्स पदमा नेपाल सरकारको स्थायी दरबन्दी १६५ मात्रै छ । तीमध्ये पनि १४४ जना मात्रै कार्यरत छन् । नयाँ सर्जिकल भवन विस्तार गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८३१ जना जनशक्ति पुल दरबन्दीमा राख्ने निर्णय गरेको थियो । त्यसमा ५६६ जना नर्सको दरबन्दी छ, तर त्यो दरबन्दी पनि हालसम्म पूर्ति भएको छैन । 

मेडिकल अफिसरको अवस्था पनि उस्तै छ । अस्पताल निर्देशक डा. सन्तोष पौडेलका अनुसार वीर अस्पतालमा हाल ३०२ जना चिकित्सक कार्यरत छन् । तीमध्ये ५६ जना मात्रै मेडिकल अफिसर छन् । बर्सौंदेखि दरबन्दी अपडेट नहुँदा १०औँ तहका चिकित्सक एउटै पदमा बस्न बाध्य छन् ।

नर्सहरूको संख्या जम्मा ५७९ छ । यो संख्या शल्यक्रिया कक्ष र सबै सेवा सञ्चालन गर्न पर्याप्त छैन । पछिल्लोपटक करार सेवामा १०० जना नर्सको आवेदन खुल्दा ८५ जना मात्रै पदपूर्ति भयो ।

अन्य स्वास्थ्यकर्मीको संख्या १९३ छ । बरु अस्पतालमा कर्मचारी र सफाइकर्मीको संख्या ६०२ छ । चिकित्सक नर्सको चरम अभावले अस्पतालका आईसीयू, शल्यक्रिया, इमर्जेन्सीलगायतका महत्त्वपूर्ण सेवाका निम्ति बिरामीले सास्ती खेप्नुपरेको छ ।

वार्षिक दुई लाख बढी बिरामीलाई सेवा दिने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मासिक एक हजार ८०० देखि दुई हजारको संख्यामा प्रसूति गराइन्छ । आर्थिक वर्ष २०७०/०८० मा मा एक लाख ६१ हजार जनाले ओपीडी सेवा लिए । सोही वर्ष २२ हजार जनाले प्रसूति सेवा लिए ।

दक्षिण एसियाकै धेरै प्रसूति गराउनेमध्येको एक अस्पतालमा सरकारको दरबन्दी भने जम्मा ६८ छ । स्वास्थ्य सेवाअन्तर्गत ६८ वटा दरबन्दी रहेको परोपकारमा ४५ जना मात्रै कार्यरत छन् । बाँकी २३ वटा दरबन्दी बर्सौंदेखि न अपडेट भएको छ, न पूर्ति ।

९० जना चिकित्सक कार्यरत रहँदा जम्मा १५ जना स्थायी दरबन्दीमा छन् । अस्पतालले करार सेवामा २५० नर्स, ७५ चिकित्सक र २५० जना अन्य प्राविधिक जनशक्ति राखेर अस्पताल चलाइएको छ । तिनलाई अस्पताल विकास समिति र अस्पतालको आन्तरिक स्रोतबाट सेवा सुविधा दिइन्छ । 

“डेलिभरी रुममा १० जना बिरामीलाई एकजना नर्सले हेनुपर्छ, पोस्ट अपरेटिभमा १५ जनालाई एक जनाले हेर्छन्, एन्टिन्याटल वार्ड, लेबर रुम सबैको अवस्था यस्तै छ,” निर्देशक डा. श्रीप्रसाद अधिकारी गुनासो गर्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा सरकारको स्वीकृत दरबन्दी १६७ हो । तर, जम्मा १०२ जना कार्यरत छन् । अस्थायी करारमा ७१ जना र विकास समितिका तर्फबाट २३ जना जनशक्तिको भरमा अस्पतालको इमर्जेन्सी, ओपीडी आईसीयूका साथै चौबिसघण्टे सेवा चलेका छन् ।

बाँकी ६५ कर्मचारी कहाँ गए ? कहिले पदपूर्ति हुन्छ ? जवाफमा अस्पताल निर्देशक डा. युवनिधि बसौला भन्छन्, “नर्स र डाक्टर जहाँ धेरै सेवा सुविधा छ, त्यहीँ जान्छन्, कतिपय विदेश उडे । कहिले पदपूर्ति गर्ने मन्त्रालयको हातमा छ ।”

माथि उल्लेख गरिएका प्रतिनिधि अस्पतालमात्र हुन् । देशका प्रमुख ठूला अस्पतालहरूको अवस्था फरक छैन । ३३ वर्षदेखि जनशक्ति थप नहुँदा एकातिर अस्पतालमा भएका सेवा पनि पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन् । अर्कोतर्फ दरबन्दी अपडेट नहुँदा बर्सौंदेखि कार्यरत चिकित्सक नर्सहरूमा निराशाको अवस्था छ ।

वीर अस्पतालकी प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ भन्छिन्, “दैनिक दुई–तीनजना नर्सले अस्पताल छोड्छन्, विदेश जान अनुमति लिने पनि त्यत्तिकै संख्यामा छन् । ”

बढ्दै बिरामी, घट्दै गुणस्तर

आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सरकारी र निजी स्वास्थ्य संस्थाका ओपीडी, अन्तरंग र इमर्जेन्सी गरी चार करोड ६० लाख ५६ पटक सेवा प्रवाह भएको छ ।

बिरामीले कुल सेवामध्ये सबैभन्दा धेरै अन्तरंग (ओपीडी) सेवा लिएका छन् । जसको प्रतिशत ९२.६ रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । गएको आर्थिक वर्षकोे फागुनसम्म यी सेवा दुई करोड ८८ लाखपटक प्रवाह भएको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्म अन्तरंग, बहिरंग र आकस्मिक गरी पाँच करोड ८४ लाख १५ हजार पटक सेवा प्रवाह भएको थियो । चालु आर्थिक वर्षमा भने यो संख्या फागुन अन्त्यसम्म नै चार करोड ६० लाख ५६ हजार पटक प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सोही सर्वेक्षणले नेपालमा सरकारी सेवामा जम्मा एकलाख दुई हजार ६८६ जना स्वास्थ्य जनशक्ति रहेको देखाएको छ । त्यसमा ५१ हजार ४२३ महिला स्वास्थ्य स्वयंसेविका छन् ।

बाँकी ५१ हजारमध्ये २७ हजार ६९८ जना नर्सिङ जनशक्ति छन् । स्वास्थ्य सहायक १५ हजार ९८७, ६९३ वैद्य, ६८४ कविराज छन् । चिकित्सकको संख्या जम्मा ६ हजार २०१ छ ।

०७६ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य जनशक्तिको संख्या ९० हजार ९४६ थियो । पाँच वर्षमा यो संख्या १२ हजारले वृद्धि भएको छ । तर, अस्पताल संख्या दोब्बरले बढेको छ ।

०७६ मा देशभरका सरकारी अस्पतालमा आठ हजार १७२ शय्या रहेकामा ०८० फागुनसम्म १६ हजार ५४१ पुगेको सर्वेक्षणले देखाएको छ । चिकित्सक नर्सको अभाव र अस्पताल शय्या विस्तारको तथ्यांकले सरकारी सेवाको गुणस्तरमाथि प्रश्न उठाइरहेको देखिन्छ ।

कति जनशक्ति उत्पादन भइरहेको छ ?

नेपाल मेडिकल काउन्स्लिको पछिल्लो तथ्यांक अनुसार हाल देशभर एमबीबीएस र बीडीएस गरी ३४ हजार ९१० जना चिकित्सक दर्ता छन् । १० हजार ५८८ विशेषज्ञ दर्ता छन् । तर, ती चिकित्सक कहाँ छन् ? न मन्त्रालयसँग तथ्यांक छ, न काउन्सिलसँग ।

नेपाल नर्सिङ परिषद्‌मा हालसम्म ८२ हजार ४७१ नर्स दर्ता छन् । ३७ हजार ४४९ एनएनएम, एक हजार ५०७ स्पेसलिस्ट, ८४९ विदेशी नर्स र ६६ मिडवाइफ दर्ता छन् । उनीहरूमध्ये कति प्रतिशत स्वेदशमा रोजगार छन् र कति विदेश जान्छन् कुनै निकायको रेकर्डमा छैन ।

दरबन्दी थपबारे के भन्छ मन्त्रालय ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने उद्देश्यले निर्माण प्रक्रिया अघि बढाएका अधिकांश अस्पतालको अवस्ता नाजुक छ । कतै अस्पताल बन्ने प्रक्रियामा छन् त कतै बनेर ताला लागेको अवस्था छ ।

०७७ मंसिरमा एकैपटक ३९६ वटा अस्पताल शिलान्यास गरिएका अस्पतालमध्ये ०८१ जेठ अन्तिमसम्म २८ वटा अस्पतालमात्रै निर्माण सकिएर हस्तान्तरण भएका छन् । ती अस्पतालमा जनशक्ति पूर्तिको विषय यतिखेर सरकारकै टाउको दुखाइ बनेको छ ।

आवश्यकता, जनशक्ति र आर्थिक स्रोतसमेत सुनिश्चित नगरी एकैपटक धेरै अस्पताल निर्माणको निर्णय लिनु नीतिगत त्रुटि भएको स्वास्थ्यसचिव डा. रोशन पोख्रेल बताउँछन् ।

केन्द्रदेखि स्थानीय तहसम्म स्वास्थ्य जनशक्ति अभाव भइरहँदा स्वास्थ्य मन्त्रालयले पटकपटक अर्थलाई बुझाएको ओएनएम अस्वीकृत हुँदै आएको छ ।

“केन्द्रमा मात्रै तत्काल १० हजार जनशक्ति थप गर्नुपर्ने आवश्यकता छ,” सचिव पोख्रेल भन्छन् । तर, बर्सौंदेखि मन्त्रालयको योजनामा परेको तर सफल हुन नसकोको योजना बन्न पुगेको छ, स्वास्थ्यमा जनशक्ति थप ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro