site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
स्वपनकुमार र परदेशीप्रसाद
Siddhartha BankSiddhartha Bank

स्वपनकुमार आईसीपी (इन्टिग्रेटेड चेकपोस्ट), वीरगन्जको वातानुकूलित प्रतीक्षालयमा व्यग्रतापूर्वक आफ्नो बाल्यकालीन साथी परदेशीप्रसादको प्रतीक्षा गर्दै थियो । हरेक पाँच मिनेटमा स्वपनकुमार फोन ठोकिहाल्थ्यो, ‘कहाँ पुग्यौ ?’

उसको उत्ताउलोपन थामिनसक्नु भएको थियो । ‘जाबो दुई सय किमिको दूरी, खुवाजस्तै चिल्लो बाटो, त्यो पनि बाह्र लेनको । तीन घण्टाभन्दा बढी समय नलाग्नुपर्ने । चार घण्टा बितिसक्यो, मोरो अझै सुगौली पनि पुगेको छैन !’ यसरी बर्बराउँदै आफ्नो सदाबहार लट्ठीको सहयोग लिँदै उठ्यो ऊ । र, लखरलखर गर्दै कैफ्टेरियातिर बढ्यो ।

अचेल उसका पचास दशक पुराना घुँडा पहिलाजस्तै चुस्तदुरुस्त छैनन् । एकछिन बसिसकेपश्चात् उठ्दा अप्ठेरो मान्न थालेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उसले स्वीट्जरल्यान्डबाट आयातित स्प्रिङ वाटरको एक बोतल दुई सय रुपैयाँ तिरेर खरिद गर्‍यो । र, घाँटीमा गटट खन्यायो ।

कैफ्टेरिया विभिन्न मुलुकका पर्यटकहरूको भीडले घेरिएको थियो । नेपाल घुमघाम सकाएर उनीहरू वीरगन्ज नाका भएर भारततिर जाँदै थिए क्यार ! ती एकापसमा चाहिनेभन्दा अलि बढी नै तिखो स्वरमा गफ गर्दै थिए ।

Global Ime bank

स्वपनकुमार मुख बिगारेर उनीहरूतिर हेर्दै केही बेरसम्म टोलाइरह्यो, तर केही भनेन । केही बेरपछि ऊ युरिन ब्लडर खन्याउने ठाउँतिर लाग्यो ।

प्रोस्टेटको समस्या भएदेखि ब्लडर खन्याउने काम पनि सहज रहेन । यता बाथरुममा समेत विदेशीहरूकै हालीमुहाली । अनि, थेग्नै नसक्ने गरी चुरोटको तीव्र गन्ध पनि ।

‘खै कुन्नि, यी गोरे कहिले सुध्रिने हुन् ! नेपालजस्तो सभ्य र शान्त मुलुकमा हुँदा त आफ्नो चालामाला छोडेका छैनन् भने अरू ठाउँमा केके गर्दा होलान् !’ फेरि ऊ बर्बरायो र जेनतेन ब्लडर खन्याउने काम सकायो ।

परदेशीप्रसाद झन्डै तीस वर्षअगाडि उच्च शिक्षा ग्रहण गर्न अमेरिका गएको थियो । पढाइ सकिएपछि ऊ त्यहीँ घरजम गरेर बस्यो । त्यसपछि तीन दशकसम्मै ऊ सम्पर्कविहीन रह्यो ।

एक वर्षअघि मात्र ऊ म्यासेन्जरमार्फत पुनः सम्पर्कमा आएको थियो । त्यतिखेरै पुरानो सम्बन्धको नवीकरण भयो । केही दिनअगाडि उसले एक व्यावसायिक काम परेर आफू भारतको पटना आउने जानकारी गराउँदै ‘मलाई भेट्न पटना आइज’ भन्यो । खासमा परदेशीप्रसादले इमोसनल पारामा आग्रह गरेको थियो ।

‘यति नजिकसम्म आएर पनि आफ्नो पुरानो थातथलोमा नआउने ?’ स्वपनकुमारले पनि थप भावनात्मक क्षेप्यास्त्र हान्यो । क्षेप्यास्त्र ठिक ठाउँमा लाग्यो । उसले वीरगन्ज आउन स्वीकार गर्‍यो । त्यो पनि मात्र दुई दिनका लागि !

स्वपनकुमारको गन्ती नेपालको ठूलै पर्यटन व्यवसायीमा हुने गर्छ । एभरेस्ट आधारशिविरमा सञ्चालित विश्वविख्यात पाँचतारे होटेल —ड्रिमान्डु इन उसकै हो ।

पर्सा राष्ट्रिय निकुन्जको सम्पूर्ण व्यवस्थापन उसकै कम्पनी – ट्रिटवेल कम्पनीले हेर्दै छ । रारा तालको ठिक बीचमा बन्दै गरेको रिसोर्ट – ग्लोरी नेपाल पनि उसकै हो ।

नेपालभरि सञ्चालित ओला ट्याक्सी सर्भिसमा पनि उसको ठूलो लगानी छ । ऊ जति ठूलो मान्छे भए पनि मनमा घमण्ड भने एक पैसा राखेको छैन । एक महिनाअगाडि मात्रै तीन करोडमा एउटा ईभी गाडी खरिद गरेको थियो । एकपटक चार्ज गरेपछि पन्ध्र सय किमिसम्म मज्जाले चल्ने ।

ऊ बेलाबखत गइरहनुपर्ने भारतको कुनाकुनासम्म आवतजावत गर्न मिल्ने गरी आफ्नो गाडीको एकवर्षीय पास बनाइसकेको छ । त्यही गाडी उसले पदेशीप्रसादका लागि पटना पठाइदिएको थियो ।

अचेल भारतको कुसीनगर, वैशाली, सारनाथ, काशी र बोधगयातिर घुम्न आएका तेस्रो मुलुकका यात्रुहरू पनि नेपाल प्रवेश गर्न खोज्छन् । र, तिनले हवाई बाटोभन्दा सडक बाटो बढी रुचाउन थालेका छन् ।

त्यसका कारण हुन् – समयको बचत, कम झन्झट र वीरगन्ज अनि रक्सौलका अध्यागमन विभागको छिटोछरितो काम गराई र कुशल व्यवहार । साथै, अनअराइवल भिसाको चुस्तदुरुस्त व्यवस्था पनि ।

सार्वजनिक सवारीसाधनबाट आउने यात्रुहरूका लागि पनि रक्सौल बस स्ट्यान्ड र रेलवे स्टेसनमा सयौँ ओला ट्याक्सीहरू पालो कुरेर बसेका हुन्छन् । वीरगन्जलगायत हरेक नेपाली गन्तव्यको लागि भाडा निश्चित गरिएको छ । कुनै कचकचको कामै छैन ।

अनि, पर्यटक प्रहरीले पनि आफ्नो मिठो व्यवहार र दुरुस्त सेवाका कारण आउने पर्यटकहरूको मन जितेका छन् ।

यिनै चिन्तनमा ऊ मग्न थियो । त्यसैबखत परदेशीप्रसादको फोन आयो, ‘ओए, ड्रिमकुमार ! म आईसीपीभित्र छिरँे ।’

‘लु, एलियनप्रसाद ! त्यसो भए तिमी इमिग्रेसनको काम सकाएर बाहिर आउनू । म गोल्डेन कलरको लट्ठीसहित मेनगेटमै उभिएको हुन्छु,’ पुलकित हुँदै उसले जवाफ फर्कायो ।

अचेल कुनै पनि विदेशी पाहुनालाई नेपाल प्रवेशको अनुमति पाउन हदै समय लाग्यो भने पन्ध्र मिनेट हो । यात्रु आफ्नै गाडीमा आएका छन् भने पनि खासै टाउको दुखाइ हुँदैन । गाडीलाई कन्भेयर बेल्टसम्म पुर्‍याएर सम्पूर्ण कागजात त्यहाँ उपस्थित पर्यटन सहयोगीलाई जिम्मा लगाइदिए पुग्छ ।

गाडीभित्र राखिएका सबै मालसमानको जाँचपड्ताल स्क्यानर मेसिनबाट भयो । समान्यतया गाडी, ड्राइभर र मालसमानको जाँचमा पन्ध्र मिनेटभन्दा बढी लाग्दैन । कथंकदाचित समान्यभन्दा बढी समय लाग्ने भयो भने यात्रुहरू सुविधासम्पन्न कैफ्टेरियामा बसेर चियाकफी खाँदै बस्छन् ।

कैफ्टेरियासँगै लहरै पर्यटन बोर्ड, मुद्रा सटही, सिमकार्ड, ट्रेबेलिङ कार्ड, स्वास्थ्य बिमा कार्ड र टे«बेलिङ एजेन्टका काउन्टर पनि राखिएका छन् । साथै, नेपालमा उत्पादित सामग्रीहरूका बुटिक पसल पनि । नजिकै सानो डिस्पेन्सरी पनि राखिएको छ । यस्तो व्यवस्था दुवै देशको भन्सार परिसरमा गरिएको छ । जे होस्, समय बितेको पत्तो लाग्दैन ।

स्वपनकुमार अराइवल गेटनिर उभिएको थियो । उसको फोन पुनः गुनगुनायो । ‘इमिग्रेसनको काम पनि सक्कियो । म बाहिर पनि आएँ, तर तिमीलाई देखिनँ त !’

परदेशीप्रसादले यसरी भनिरहँदा उसले हतारिँदै चारैतिर मुन्टो घुमाउन थाल्यो । परदेशीप्रसाद उसको ठिक पछाडि पच्चिस पैसे मुस्कानका साथ उभिएको थियो ।

दुवैका आँखा जुधे । एकार्कालाई अंकमाल गरे । केही सेकेन्डमै उनीहरू औपचारिकताबाट यथार्थमा ओर्ले र ‘साले ! कुकुर ! पाजी !’ यस्ता अतिविशिष्ट श्रेणीका अलंकारका साथ एकार्कालाई सम्बोधन गर्न थाले !

परदेशीप्रसादको काँधमा एक ल्यापटप ब्याग र हातमा केही ब्रोसर थियो । ‘तिमीलाई पनि टुरिस्ट सम्झेर ब्रोसर भिडाइदिएजस्तो छ नि !,’ ब्रोसरतिर हेर्दै स्वपनकुमारले हाँस्दै भन्यो ।

‘अँ ! इमिग्रेसनको काम सकाएर अगाडि बढ्दै गर्दा एकजना महिला उफ्रिँदै आइपुगिन् । र, ब्रोसर भिडाउँदै अंग्रेजीमा एके सैँतालिस चलाउन थालिन्, ‘वेलकम टु हिस्टोरिकल गेटवे अफ नेपाल । यो ब्रोसरमा वीरगन्जको नाइट मार्केट, मसाज सेन्टर, फैन्टासी वर्ल्ड, वाटर वर्ल्ड, फुड स्ट्रीट, वीरगन्ज टावर, अन्य टुरिस्ट प्यालेसहरू, इमर्जेन्सी नम्बरहरू, टुरिस्ट पुलिसका नम्बर र यस्तैयस्तै कुराहरू छन्’ भनेर उनी अझै गफिन खोज्दै थिइन् । ‘अरे यार, म पनि वीरगन्जकै मान्छे हुँ !’ भनेर नेपालीमा बोलेपछि बल्ल उनी शान्त भइन् । जे होस्, अनुहार, ज्यान र पहिरनले जति आकर्षक थिइन्, वचनले त्योभन्दा पनि राम्री ।’

उनीहरू गफ गर्दै थिए, ड्राइभरको फोन आयोे, ‘सर, भन्सारको काम सकियो । म ६ नम्बर लेनमा छु, विकलांग सहायता कक्षको ठिक अगाडि ।’

दुवैै गाडी भएको ठाउँमा आइपुगे । बसिसकेपछि गाडी स्टार्ट गर्दै ड्राइभरले सोध्यो, ‘सर, घरतिरै हो नि !’

“हो, तर आउटर रिङरोडको बाटो समातेर जाने,’ मुस्कुराउँदै स्वपनकुमारले आदेश जारी गर्‍यो ।

‘हुन्छ’ भन्दै ड्राइभरले गाडी बढायो । केही बेरमै सडकवरिपरको विहंगम दृश्य देखेर परदेशीप्रसाद अचम्मित भयो, ‘बाफ रे ! यो हाम्रै वीरगन्ज हो कि भारतको बेंग्लुरु ? बाह्र लेनको सडक, तीनतले फ्लाइओभर, सँगसँगै मेट्रो पनि कुद्दै छन् त ! सडकमा गाडीको चाप पनि उत्तिकै । जता आँखा गयो, आकाश छुने भवन । मैले सुनेको भन्दा पनि खतरा रूपमा विकसित भइसकेको रहेछ !’

‘तीस वर्ष पुरानो वीरगन्ज सम्झेर हेप्न खोज्या थियौ कि क्या हो ? यो त क्यै पनि होइन, केही बेरपछि बाटोमा नयाँ औद्यौगिक क्षेत्र आउनेछ, त्यो हेर्नू । साँझ वीरगन्जको रात्रि बजार घुम्न जाने । भोलि ठोरीतिर जाने । पर्सि जनकपुरधामतिर । बल्ल थाहा पाउनेछौ, यो क्षेत्रको भव्यता ।’

परदेशीप्रसादको अनुहारमा अनौठो भंगिमा उत्पन्न भयो । अचम्म मानेझैँ मुहार । यता स्वपनकुमार बेलीविस्तार लगाइनै रह्यो, ‘मात्र हाम्रो मधेस प्रदेशमा सयभन्दा बढी मल्टीनेसनल कारखानाहरू छन् । सयभन्दा बढी आईटी कम्पनीहरू छन् । मेडिकल कलेज नै दशवटाभन्दा बढी छन् । संसारभरिका विद्यार्थी यहाँ पढ्न आउँछन् । अनि, राष्ट्रियस्तरका कलकारखाना त हजारभन्दा बढी नै होलान् । पन्ध्रवटाजति आयुर्वेदिक औषधिका कारखानाहरू छन् । प्रायः औषधि विदेशी बजारमा बिक्री हुन्छन् । यहाँ कलकारखानामा खट्ने कामदार सबै अफ्रिकन मुलुकबाट झिकाइएका छन् । क्यार्नु, नेपाली कामदार अचेल भेट्नै गाह्रो ! आधीजति विदेशमा छन् । बाँकी जे छन्, सबै कृषि क्षेत्रमा व्यस्त छन् । अचेल हाम्रो खेतमा धान, गहँु र मकैजस्ता सस्ता अन्नबालीको कामै छैन ।

हाम्रो खेतमा च्याउ, चेरी, स्ट्रबेरी, ड्रागन फ्रुट, स्याउ, सुन्तलाजस्ता खानेकुरा तथा औषधीय कच्चापदार्थहरू उब्जाउँछौँ । त्यसउप्रान्त रेफ्रिजेरेटेड कन्टेनरमा राखेर विभिन्न मुलुकमा निर्यात गर्ने गर्छौँ । नेपाली वाइनले त तिम्रै अमेरिकामा पनि रामै्र नाम कमाएको छ भनेको सुन्छु !’

स्वपनकुमार यिनै कुरामा व्यस्त थियो ।

“ए दाइ, एयरपोर्ट आइपुग्यौँ, उठ्नोस् !,” कसैको तिखो स्वर कानपुरमा बारम्बार ठोक्किन थालेपछि उसका नेत्रका ढोका उघ्रिए । ऊ त काठमाडांैको साँघुरो गल्लीदेखि हवाईअड्डासम्म कुद्ने आदिमकालीन मारुती ८०० मोडेलको एक ट्याक्सीभित्र लम्पसार थियो ।

उसले चस्मा मिलाउँदै चारैतिर आँखा घुमायो, परदेशीप्रसाद अथवा वीरगन्जको अत्तोपत्तो थिएन । सँगैको सिटमा ओछ्याइएको थोत्रो चकटी, मानौँ उसलाई गिज्याउन खोज्दै थियो ।

उसलाई याद भयो, ऊ हिजो मात्र नाइटबस चढेर वीरगन्जबाट काठमाडौं आएको थियो ।

‘हरे ! गज्जबको सपना चल्दै थियो, ट्याक्सी ड्राइभरले बर्बाद नै गर्‍यो !’ उसले मनमनै ड्राइभरलाई सराप्यो र आफूलाई तनक्क सोझ्यायो । चस्मा झिकेर आँखा सफा गर्‍यो । अनि, आफ्नो सदाबहार काठे लट्ठीको सहारा लिँदै गाडीबाहिर निस्कियो ।

उपल्लो पकेटमा गुजमुजिएका सय–सयका चार नोट झिक्दै उसले ड्राइभरको हातमा राखिदियो ।

“एक सय अझै दिनोस् न हो, साहुजी !,” ड्राइभर चिच्यायो ।

दोब्बर जोडले स्वपनकुमार चिच्यायो, ‘एक रुपैयाँ पनि दिँदिनँ !”

दुवैजनाबीच एकछिन बहस चल्यो । आखिर जित स्वपनकुमारकै भयो । मुरमुरिँदै ड्राइभर आफ्नो बाटो लाग्यो । उसले हतारहतार आफ्नो कपाल मिलाउँदै मनमनै गुन्यो– परदेशीको प्लेन ल्यान्ड गर्ने समय त भइसक्यो ।

काठे लौरोको सहारा लिँदै ऊ लखरलखर एयरपोर्टको आगमन कक्षतिर बढ्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय