site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहकारीमा सुधार नआएसम्म बैंकको खराब कर्जा घट्दैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने धारणा राखेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल बोल्दै उनले यस्तो बताएका हुन् । 

देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्त्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने धारणा राखेका हुन् । 

Argakhachi Cement Island Ad

“सहकारीको विषयमा सोच्न अबेला भइसकेको छ, अर्थतन्त्रमा सहकारीको भूमिका ठूलो छ, सहकारीहरू बैंक जस्तो भएर अगाडि बढ्दा समस्या देखिएको हो,” उनले भने, “हामीले सहकारीमा दोस्रो तहको नियामक आवश्यक छ भनेर २० वर्ष अगाडिदेखि भन्दै आएका थियौँ । तर, कार्यान्वयन हुन नसक्दा समस्या आएको हो ।”

उनले समस्या समाधान नहुँदासम्म बैंकको खराब कर्जा पनि नघट्ने बताए । समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्तिसहितको संस्था र अन्य सहकारीको व्यवस्थापनका लागि दोस्रो तहको नियामक आवश्यक रहेको गभर्नर अधिकारीको भनाइ थियो । 

उनले बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा पनि खराब कर्जा बढेको स्पष्ट पारे । अर्थतन्त्र चलायमान हुन नसक्दा, आर्थिक शिथिलता, रिकभरीमा समस्या र व्यवसायीमा मनोवल घटेका कारण खराब कर्जा बढेको उनको धारणा थियो । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्