site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सूर्यले नदेखेपछि

दिन फेरिइरहन्छ
उही उपक्रमको निरन्तरता
पूर्वबाट उदाउने सूर्य
उदाउँछ दैनिक
धुम्मिएको आकाशमा
सघन मेघको कोखिलामा
कैद, छट्पटाउँदै, चियाउँदै छिद्रबाट
धराको त्यो सानो छाप्रोमाथि
सायद उसको दृष्टि परेन ।

ओझेल यस्ता कैयौँ छाप्राहरू  
गरिबीको आहालमा चुर्लुम्म 
अभाव र पीडाले
छट्पटाउँदै गरेको दृश्य 
खसम फर्किने मृगमरीचिकाजस्तै
आफ्नै सिन्दूरको व्यग्रतामा
अनगिन्ती पीडाहरू, वेदनाहरू
नसम्हालिने व्यथाहरू
सूर्यले नदेखेपछि
जवान खाडीमा पसिना बेच्दै छ 
जवानी कन्दरामा ओइलाउँदै छ
फूल र यौवन अनि समय
सधैँ उस्तै रहँदैन
ओइलाउँछ फूल
ढल्किन्छ जवानी
अनि, समय निरन्तर चलिरहन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भाइबरको भिडियो च्याटमा
निमेषभर रमाएकी ऊ 
इन्टरनेटको सर्भर डाउन हुँदा
न जवान साथमा छ न जवानी
शुष्क अधर हाँसोबिनाको  
सूर्यले नदेखेपछि
देश रित्तियो, जवान पलायन भो
आमाको कोख सुनो भो
प्रेयसीका आँखा ओभाएनन्
तर पनि देशले काँचुली फेरेन ।

भोको पेटका लागि शरीर बेचियो
इमान, धर्म र अस्तित्व बेचियो
तर, दैनिकी चलेन
पेट अघाएन
सबै लुटिँदा पनि पेट भरिएन । 

दिनहुँ साक्षात्कार अभावलाई
सूर्यले नदेखेपछि
चिताले छोरो कुरिरह्यो
आमाको शवले
आँखा नझिम्क्याइ
आकाशतर्फ हेरिरह्यो 
अन्तिम दागबत्ती दिने छोरो
आफैँ बाकसभित्र खुम्चिएर
उही आकाशको बाटो फर्किंदै छ
न छोरोको देहमा प्राण छ
न आमाको श्वास चलेको छ
धर्ती शून्य
आकाश चकमन्न 
एकोहोरो शंखको उदेक लाग्दो आवाज
घरघरमा चलेको रुवाबासी
सूर्यले नदेखेपछि
विद्रोह, विद्रोह, विद्रोह ! 
अवस्थाका सूत्रधारप्रति ।
(कुलेश्वर, काठमाडौं)


 
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्