
अहिलेजस्तो मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग कल्पनाबाहिर थियो उस बेला । क्षणक्षणमा आफ्नाहरूको समीपमा पुग्न कठिन थियो । अफिसहरू तथा हुनेखानेका घरमा तारफोन हुन्थ्यो । हुलाक युगको समयभन्दा पनि हुन्छ ।
सञ्चार गर्ने मुख्य माध्यम चिठीपत्र, तारफोन र भेटघाट नै थियो । घर नभएका र कोठा भाडामा बसेकाहरूले घरबेटीसँग अनुरोध गरेर तारफोनमा कुराकानी हुन सक्थ्यो । घरबेटीलाई मन परेन भने त्यो पनि पाइन्थेन ।
मानिसका अगाडि बसेर तारफोनमा असजिलो मान्दै कुराहरू छोटकरीमा पोखिन्थे । विशेष खाले कुरा गर्न भने गाह्रै हुन्थ्यो । क्याबिन भएका पीसीओ हुन्थे कहीँकहीँ । तिनले केही राहत दिन्थे । नत्र त ‘अँ अँ, हो हो’ भनेर अड्कलेर बोल्नुपर्दा खुब बेस्वाद हुन्थ्यो । भावना र कुराहरू खुलेर गर्न सकस थियो । अरूले सुनेर के भन्लान्, लाजले मर्नु !
उसको र मेरो क्याम्पस एउटै थियो । नोट सार्ने बहानामा कापीका अन्तरकुन्तरमा सांकेतिक भाषामा केही कुरा लेख्थेँ म । ऊ पनि लेख्थ्यो । घरबेटीको फोन नम्बर लेखेर पठाएछ एक दिन । नोटकापीमै मैले पनि घरबेटीको फोन र अफिसको दुवै फोन नम्बर लेखी पठाएदिएँ उसलाई ।
‘कहिलेकाहीँ सम्झनु नि, फोनको पैसा म तिरिदिउँला ! मिनेटको तीन रुपैयाँ हैन ?,’ क्याम्पसमै व्यंग्य गरेँ मैले एक दिन उसलाई ।
अलि लजालु र कम बोल्ने स्वभावको थियो ऊ । अग्लो र ह्यान्डसम थियो मोरो ! त्यही भएर मन पर्थ्यो ऊ ।
फोन आउँदा ‘के हो ?’ भनेर ठट्टा हान्नेहरू कम थिएनन् । बधाई दिन्थे मलाई । ‘भोज छिटै खुवाउनू’ भनेर जिस्क्याउँथे । हाँसिदिन्थेँ म ।
यसैगरी बितेछन् दुईतीन वर्ष । क्याम्पस छुटेपछि कुराकानी पातलो भो । मनै साट्ने घनिष्टता र आत्मीयता भने थिएन ऊसँग । एक हिसाबले टाढा भइसकेका रहेछौँ ।
बुधबारको गोरखापत्रमा उसको नाम देखेँ । उही होला भन्ने सम्झेँ । फोन गरेको कोठा सरेछ । कुरा भएन । सम्पर्क गर्न सकिनँ । केवल कौतूहल जाग्यो । क्याम्पस जीवनलाई सम्झेँ मैले फेरि । म भने स्नातक पढ्दै खरदार भएको थिएँ । मास्टर्स डिग्री अर्कै क्याम्पस पढेँ । बिहान क्याम्पस र दिउँसो अफिस मेरो दैनिकी थियो । उसलाई बिर्सेको थिएँ मैले । सम्झायो गोरखापत्रले आज ।
जिल्लावासी मनिता र म कोठामा मिलेर बसेका थियौँ । अलि पछि उसले विवाह गरी । नसम्झौँ भन्यो फेरि पोल्छ ! परिवारको जोडबलमा मेरो पनि स्कुले विद्यार्थी हुँदै विवाह भएको थियो । त्यो कालो इतिहासले बारबार पोल्छ । विवाह टिक्न सकेन । मेरो आवश्यकताको विवाह थिएन त्यो । गल्ती थिएन मेरो र पनि पोल्थ्यो मलाई भतभती ! झस्काउथ्ँयो सधैँ त्यसले मलाई ।
एक्लै भएँ अब । मनितासँग छुट्नैपर्ने भो । छुटेँ म । साथीसँग बसेको बानी एक्लै कोठामा नीरस लाग्थ्यो । कोठामा एफएम र ब्ल्याकेन ह्वाइट टीभीलाई साथी बनाएँ । अधिकृतको तयारी पनि गर्दै थिएँ । तर, त्यो सतही थियो ।
अचम्मै भो आज, सुब्बा साप बनेर मेरै अफिसमा आयो ऊ ! चकित भएँ म । चिनजान पुरानै भएकोले नौलो भएन । घनिष्ठ बन्यौँ हामी ।
खाजा खान सँगै जान्थ्यौँ । घरमै तयार गरेको खाजा खुवाउँथे कहिलेकाहीँ उसलाई । मनको अन्तरकुन्तरमा फेरि बस्न गयो ऊ ।
दिन यसरी नै बित्दै गए । एक दिन सोधेँ उसलाई कोठामा को–को बस्ने ? भनेर । भाइ छ भन्यो । कोठामा बोलाऊँ कि भनेर सोचेँ, तर बोलाउने आँट आएन । उसको मनमा के छ भन्ने कुरा अझै बुझ्न सकिनँ ! नबोल्ने मान्छे केहो केहो ? मनमा अनेक कुरा खेले । मनलाई सम्हाले ।
आँट गरे एक दिन । मन चोर्नुपर्यो, जे होला होला ! घरमा पनि ‘छोरीको एउटा घर बिग्रियो, अब के गर्ने ?’ भन्ने गुनासो सधैँ हुन्थ्यो ।
आँट निकालेँ मैले । भनेँ उसलाई खाजा खाने समयमा, ‘नयाँ फिल्म चलेको रहेछ, खुब राम्रो छ रे ! जाने हेर्न ?’
अलि हडबडायो । ‘जानेर ?’ प्रश्न गर्यो । दोधारमा पर्यो । मनमा कुरा खेलेको अनुमान लगाएँ मैले । अलि झस्क्यो । तर, सम्हालियो अनि सहज उत्तर दियो ।
‘जिल्लावासीको भेटघाट छ दिउँसो’ भन्यो । ‘फिल्म बिहान हेर्ने हो,’ मैले सम्झाएँ । बल्लतल्ल ‘हुन्छ’ भन्यो ।
मेरो करमा फिल्म हेर्न गयो ऊ । अफिस बिदाका दिन घुम्न जाने रुटिन हुन्थ्यो हाम्रो । ऊबिना बाँच्न सक्दिनँजस्तो लाग्थ्यो मलाई ।
संगत लामै गरे पनि उसका नजिकका परिवारिक मान्छे कहिल्यै भेटेको थिइनँ । खुलेर कहिल्यै बताएन उसले पनि । क्याम्पसदेखिकै स्वभाव यस्तै हो भनेर ढुक्क भएँ म ।
अफिस बिदा नहोस् जस्तो लाग्थ्यो । बिदा भो कि बोरिङ हुन्थ्यो । हरिबहादुर राउतको ‘मायाले बोलायो नेपाल बन्दमा’ भन्ने गीत खुब झल्को आउँथ्यो । नेपाल बन्दको फेसन नै थियो त्यस बेला । अहिले पो घटेको छ ।
हरेक दिन उसलाई देखौँ र भेटौँ मात्र लाग्थ्यो । शाखा अधिकृत तयारी कता पुग्यो कता मेरो । क्रेजी थिएँ ऊप्रति । अरू सबै कुरा बिर्सेँ उसका लागि मैले ।
मोबाइल फोनको सिमकार्ड टेलिकमले बाँड्न लाग्यो । अफिसको सिफारिसमा दुईवटा सिमकार्ड ल्याएँ । उसलाई एउटा मलाई एउटा । नोकिया फोन मैले नै किनिदिएँ । अझै याद छ त्यो फोनको । अब भने राहत भयो । घरबेटीसँग फोन अनुरोध गर्नु परेन । अफिसमा कसको फोन भन्नु परेन । घण्टौँ फोनमा कुरा गर्न थाल्यौँ । सञ्चारको पछिल्लो विकास हाम्रै लागि भएजस्तो लाग्यो ।
अकस्मात् एक दिन नाम सेभ नभएको नम्बरबाट फोन आयो । केटीको आवाज थियो ।
‘तपाईं बबिता हो ?,’ सोधी उसले ।
जवाफ फर्काएँ, ‘हो, म बबिता हो ।’
तिनले ‘रुकुमबाट बोल्दै छु’ भनिन् । म हडबढाएँ अलि ।
‘भन्नु न, किन फोन गर्नुभो ?’
उनले आफू विकासको श्रीमती भएको बताइन् । छाँगाबाट खसेँ म ! करेन्टले झड्का दिए मलाई ! बेहोस भएछु क्यारे, होस खुल्दा हस्पिटलको बेडमा !