site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सार्वजनिक बिदामा सेवा रोक्दैनन् ठूला अस्पताल 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक बिदा दियो । तीन दिनअघिको मात्रै निर्णय भएकाले अस्पतालहरूले बिदा र सेवा तालिकाबारे तत्काल निर्णय गर्नुपरेको थियो ।   

सोमबार काठमाडौंका सबै सरकारी तथा शिक्षण अस्पतालले समेत सेवा रोकेनन् । अधिकांश अस्पतालहरूले बिहान ९ देखि १२ बजेसम्म बहिरंग (ओपीडी) सेवा प्रदान गरेका थिए । केही अस्पतालले भने एक्स्टेन्डेड हस्पिटल क्लिनिक (इएचएस)को माध्यमबाट पनि सेवा प्रवाह गरेका छन् । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतका वीर र राष्ट्रिय ट्रमा सेन्टर दुवै अस्पतालमा सोमबार बिहान ९ देखि १२ बजेसम्म ओपीडी सुचारु थियो । 

“सयम दिएका शल्यक्रिया र अरु सेवा पनि दिनभर नै सुचारु छन्,” ट्रमा सेन्टरका सूचना अधिकारी खुमबहादुर घर्तीले भने । ट्रमामा दैनिक ३५० जनाको कोटा तोकेर ओपीडी टिकट वितरण गर्ने गरिन्छ । सार्वजनिक बिदाका दिनमा २०० देखि २५० सम्मले यो सेवा लिने गरेका छन् । यसबाहेक इमर्जेन्सी, शल्यक्रिया र अन्य सेवाहरू पनि सुचारु नै रहने घर्तीले बताए । 

वीर अस्पतालको ओपीडीमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म बिरामी आउने गरेका छन् । बिदाको दिन यो संख्या झन्डै आधा हुन्छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबारबाहेक कुनै पनि सार्वजनिक बिदामा ओपीडी, खोप लगायतका सेवा रोक्ने गरिएको छैन । सार्वजनिक बिदाका दिनमा ओपीडी सेवा बिहान ९ देखि १२ बजेसम्म सञ्चालन हुन्छ । अस्पतालका इमर्जेन्सी इन्चार्ज भालेश्र यादवका अनुसार सो समयभन्दा पछि आउने बिरामीलाई अवस्था हेरेर इमर्जेन्सीमा नै राखी परीक्षण तथा उपचार गर्ने गरिएको छ । खोप सेवा समेत इमर्जेन्सीबाटै प्रवाह गरिन्छ । 

कान्ति बाल अस्पतालमा सोमबार टिकट काउन्टरका कर्मचारी र चिकित्सकहरूलाई बिदा दिइएको थिएन । अस्पतालमा आइपुग्ने बिरामीलाई ओपीडी खोलेर नै चिकित्सकहरूले सेवा दिइरहेको थिए । “क्यालेन्डरमा नभएका सार्वजनिक बिदामा ओपीडी सेवा रोक्ने गरेका छैनौँ, बरु शल्यक्रियाको डेट तोकिएको दिन बिदा पर्‍यो  भने अर्को दिन थप चाप हुन्छ”, अस्पताल निर्देशक डा. पंकज रायले भने । कान्तिको ओपीडीमा यो सिजनमा दैनिक एक हजारदेखि एक हजार २०० जनासम्म बिरामीको चाप हुने गरेको छ । 

यता त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले सर्वाजनिक बिदामा कुनै पनि सेवा रोक्ने गरेको छैन । सोमबार समेत  टिचिङमा बिहान ९ देखि दिउँसो १ बजेसम्म ओपीडी सेवा सुचारु थियो ।

नियमित शल्यक्रिया, फलोअप लगायतका सेवालाई सार्वजनिक बिदाले प्रभाव नपार्ने अस्पतालका सूचना अधिकारी बाबुकृष्ण श्रेष्ठले बताए । “सिफ्टवाइज कर्मचारी तथा चिकित्सक÷स्वास्थ्यकर्मी खटिएका हुन्छन्, बिदाका दिनमा पनि सेवा अन्य दिनसरह नै चल्छ”, उनले भने । 

टिचिङले नियमितका अलवा दिउँसो १ बजेपछि इएचएस क्लिनिकबाट पनि ओपीडी सेवा दिने गरेको छ । श्रेष्ठका अनुसार टिचिङमा अहिले दैनिक दुई हजार २०० देखि दश हजार ८०० सम्म बिरामीले ओपीडी सेवा लिने गरेका छन् । 

यता परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले पनि सार्वजनिक बिदाका दिन आधा दिन ओपीडी सेवा सञ्चालन गर्ने गरेको छ । बिहान ९ देखि १२ बजेसम्म ओपीडी र दिउँसो १ बजेदेखि इएचएसअन्तर्गत क्लिनिकबाट विशेषज्ञहरूले ओपीडी सेवा दिने गरेका छन् । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि शनिबार र बुधबारबाहेक कुनै बिदामा अस्पतालको ओपीडी सेवा बन्द गर्ने गरेको छैन । दैनिक दुई हजार ६ सयदेखि तीन हजारसम्म बिरामी ओपीडीमा आउने पाटनमा आइतबार र बिहीबार अन्य दिनभन्दा केही भीड हुन्छ ।

यस्तै, दैनिक करिब एक हजारले ओपीडी सेवा लिने सिभिल सर्भिस अस्पताल र पाँच सयदेखि सात सयजनाले यो सेवा लिने सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पनि सार्वजनिक बिदाका दिन आंशिक रूपमा ओपीडी सेवा सुचारु गर्दै आएका छन् । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro