site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेट आएको १२ दिन : सांसदले अझै पाएनन् ‘बजेट पुस्तिका’ 
SkywellSkywell

काठमाडौं । आइतबार बिहान १० बजे हतार–हतारमा सांसदहरू संसद् हिँड्ने तर्खरमा थिए । बिहान ११ बजेकै निम्ति प्रतिनिधिसभा बैठक राखिएको हुँदा घरबाट निस्कन खोज्दै थिए । तर, बिहान १० बजेतिर मोबाइलमा एसएमएस सन्देश मिल्यो, ‘दुई दिनका लागि संसद् स्थगित गरिएकोबारे ।’

संसद् सचिवालयले बैठक स्थगन गरेको जानकारी गराएपछि सांसदहरू रूष्ट भएका छन् । सचिवालयले सूचना टाँस्दै संघीय संसद्को बैठक स्थगन गरेको थियो । 

सांसद प्रतिमा गौतमले सदन अनाहक सूचना टाँसेर स्थगन गरेकामा गुनासो पोखिन् । उनले सभामुख र सचिवालयको गैरजिम्मेवारीका कारणले अनाहक सांसदहरूले दुःख पाएको भन्दै आक्रोश पोखिन् । 

Dabur Nepal
NIC Asia

“पूर्वनिर्धारित संसद्को बैठक स्थगितको सूचना बिहान १० बजे एसएमएसमार्फत् पठाइन्छ,” उनले बाह्रखरीसँग भनिन्, “सबैको घर बालुवाटार र बानेश्वरमा छैन । सबै सांसदहरूको सवारीसाधनको सुविधा पनि छैन भन्ने समेत ख्याल गर्नुपर्छ नि ।” उनले अपरिपक्व एवं गैरजिम्मेवार भएको ठहर गरेको भन्दै आगामी दिनहरूमा यस्तो कार्य नदोहोर्‍याउन सचेत गराइन् । 

samsad-1717920769.png
 

संसद् सचिवालयले एसएमएसमा लेखेको छ ‘माननीय सदस्य, आज ०८१/२/२७ गतेको प्र.स.को बैठक विशेष कारण मिति ०८१/२/२९ गते बिहान ११ बजे बस्ने गरी सम्माननीय सभामुखले निर्धारण गर्नुभएको व्यहोरा अनुरोध छ ।’

बिहान सभामुख देवराज घिमिरेले दलका प्रमुख तथा सचेतकसँग बैठक गरी सदन सूचना टाँस गरेर स्थगन गर्ने निर्णय गरेको थियो । सभामुख घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन गर्न दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको जानकारी दिएका थिए । 

बजेट पुस्तक अभावपछि बैठक स्थगन 
सभामुखको सचिवालयले बजेट पुस्तिका अध्ययन गर्न समय माग भएको भनिए पनि वास्तवमा सबै मन्त्रालयहरूले बजेट पुस्तिक सचिवालयमा उपलब्ध गराउन नसक्दा बैठक बस्न नसकेको हो । बैठक बस्नुभन्दा ४८ घण्टाअघि नै पुस्तक मन्त्रालयहरूले उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म एक, दुईबाहेक अन्य मन्त्रालयले पुस्तक सचिवालयमा पठाउन सकेका छैनन् । 

बिहानको छलफलमा सहभागी कांग्रेस सचेतक सुशीला थिङले बजेट पुस्तक अभाव भएपछि बैठक सार्नुपरेको बताइन् । “मन्त्रालयले पुस्तक उपलब्ध गराएका छैनन् । सांसदले अध्ययन पाएकै छैनन् त्यसकारण बैठक स्थगन गर्न सबै सहमत भएका हौँ” सचेतक थिङले बाह्रखरीसँग भनिन् । अहिलेसम्म शिक्षा मन्त्रालय, युवा तथा खेलकुद र श्रम मन्त्रालयले मात्र पुस्तक उपलब्ध गराएका छन् । 

बैठकमा सहभागी अर्का एक प्रमुख सचेतकले प्रश्न गरे, “किताबै नभएपछि कसरी छलफल हुन्छ ?”

उनले उपलब्ध पुस्तक बाँडेर छलफल चलाउने भन्ने विषय पनि बैठकमा उठेको बताए । तर, आज छलफल सकिएला भोलि अर्को मन्त्रालयको पुस्तक आउँछ त ? सांसदले अध्ययन कतिबेला गरेर मन्त्रालयगत विनियोजन विधेयकयमा छलफल गर्ने भन्ने प्रश्न उठेको उनले बताए । 

अर्को विकल्प चाहिँ समितिको प्रतिवेदनहरू हालेर आजको निर्धारित बैठक सञ्चालन गर्ने योजना प्रस्तुत भएको थियो । यसमा पनि प्रश्न–उत्तर हुने र मन्त्रीले जवाफ दिनुपर्ने भएकाले मन्त्री नै तयार नभएको अवस्थामा छलफल चलाउने वातावरण नै नबन्ने निष्कर्षमा बैठक पुगेको थियो । “तेस्रो विकल्प चाहिँ सूचना टाँसेर बैठक सार्ने थियो । हामी यसैमा सहमत भयौँ,” उनले भने । 

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले मन्त्रालयहरूको चरम गैरजिम्मेवारीका कारण महत्त्वपूर्ण समय खेर गएको बताए । “अर्थदेखि विषयगत मन्त्रालय सबैको लापरबाही छ । छलफल गर्नुपर्छ भन्ने जान्दा जान्दै किताब छाप्न नसक्नु लाजमर्दो र साह्रै गैरजिम्मेवारी विषय हो,” उनले भने । 

आइतबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ गर्ने तयारी थियो । बैठकमा सांसद प्रेम सुवालले खर्च कटौती प्रस्ताव प्रस्तुत गर्ने तयारी रहेको थियो । सुवालले वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यतालिका रहेको थियो । 

यस्तै, सांसद डा. अमरेशकुमार सिंहले वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यतालिका थियो । 

यता, सांसदहरू पुष्पबहादुर शाहले, बजेटअन्र्तगत युवा तथा खेलकुद मन्त्रालय, बद्रीप्रसाद पाण्डेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा रमा कोइराला पौड्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यतालिका थियो । 

प्रतिनिधिसभा नियमावली २०७९ दफा १४६ मा खर्च कटौतीको प्रस्तावमा कुनै शीर्षकको खर्च रकम घटाइ एक रूपैयाँ कायम गराउने, खर्च रकममा एक सय रूपैयाँ घटाइयोस् भनी प्रस्ताव राख्न पाइने व्यवस्था गरिएको छ । 

यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफलअन्तर्गत वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमाथिको छलफल हुने तयारी थियो । यी सबै तयारी अपेक्षित पुस्तक अभावका कारण पूरा हुन नपाएको र बैठक बस्न नसकेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

“मन्त्रालयगत बजेट पुस्तक अपेक्षित रूपमा कमी भएकै हो । प्राप्त भएका पुस्तकहरू पनि केही ढिला भएकाले अध्ययनका लागि समय माग गर्नुभएपछि बैठक दुई दिन पछि सारिएको हो,” उनले भने ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu