site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ती सात दिन’मा नवपुस्ता र पुस्तान्तरको चित्रण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

समकालीन नेपाली आख्यानमा क्रियाशील सानु शर्मा आफ्नो फरक आख्यानशैलीका कारण पाठकमाझ निकै लोकप्रिय छिन् । उनको आठौँ आख्यानकृतिका रूपमा ‘ती सात दिन’ शीर्षकको उपन्याससंग्रह प्रकाशित भएको छ । यसअघि नै उनका ‘अर्धविराम’, ‘जितको परिभाषा’, ‘अर्थ’, ‘विप्लवी’, ‘उत्सर्ग’ र ‘फरक’ जस्ता उपन्यासकृति प्रकाशित भएको छ भने ‘एकादेशमा’ कथासंग्रह पनि प्रकाशित छ ।

उनका यी सबै प्रकाशित आख्यानकृतिहरूमा एउटा विशिष्ट कथ्य वा ‘थिम’ र त्यसलाई प्रस्तुत गर्ने विशिष्ट भाषिक कला पाइन्छ । उनका आख्यानमा पाइने कथ्य वा ‘थिम’ भनेको नै छोपिएर रहेका मानवीय यथार्थहरूको प्रकटीकरण गर्नु र मानवीय संवेदनाका सूक्ष्म पक्षहरूलाई अभिव्यक्त गर्नु हो । अनि, मान्छेका अन्तर्मनको निरीक्षण गर्नु हो ।

मूलतः किशोर तथा युवापुस्ताका संवेदना तथा समस्याहरूलाई समेटेर तयार पारिएको सानु शर्माको उपन्यासकृति ‘ती सात दिन’ रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । पछिल्लो समयका किशोरकिशोरी र युवायुवतीका मनोभावना, सोचाइ, चिन्तन, दृष्टिकोण, प्रेम, मित्रता, तिनका आँट, साहस, दायित्व, कर्तव्य, आइपरेका समस्या समाधान गर्न सक्ने उनीहरूको क्षमता आदि यावत् कुरालाई यस उपन्यासमा निकै प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस उपन्यास मूलतः प्रेमकथामा नै केन्द्रित भए पनि विविध कथा, उपकथा, सन्दर्भ र घटनाहरूको सुन्दर संयोजन गरिएको छ । परम्परागत संस्कारलाई आदर्श मानेर त्यसबाट नै निर्देशित हुने पुस्ता र स्वतन्त्र रूपमा जिउन चाहने आजको पछिल्लो पुस्ताका बीचमा हुने आन्तरिक द्वन्द्व, सम्झौता र समझदारीलाई यसमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।

आफ्नै जीवनशैली र जीवनप्रतिको मूल्यमान्यताहरूलाई अपनाएर जिउन चाहने आजको पुस्ताको मनोविज्ञान र विविध यथार्थलाई यस कृतिमा चित्रण गरिएको छ । मूलतः किशोरकालमा भएको बलात्कार र त्यसले दिएको मानसिक घाउ अनि त्यसबाट उत्पन्न परिस्थितिका अनेक आरोह–अवरोह नै यस उपन्यासमा प्रस्तुत गरिएको गम्भीर विषय हो । साथै, यिनै घटनाहरूका बीचमा हुर्केको आदित्य–जानकीको प्रेमको गहिरो सम्बन्ध पनि यस उपन्यासमा मूल विषयवस्तुसँग जोडिन आइपुगेको छ ।

Royal Enfield Island Ad

पछिल्लो समय अमेरिकामा नै स्थायी बसोबास गरिरहेका र केही समयका लागि काठमाडौं आएका जानकी, जेसन र ज्योतिको जीवनकेन्द्रित विभिन्न घटनासन्दर्भहरूले ओगटेको कथावस्तु निकै रोचक छ । यसै परिवेशमा जेसन र निक्कीको प्रेमसम्बन्ध गाँसिन्छ भने जानकी र आदित्यको प्रेमले सार्थकता पाउँछ ।

प्रस्तुत उपन्यासमा अभिजात वर्ग मानिएका काठमाडौंका धनाढ्य परिवारका यथार्थलाई समेत सम्बोधन गरिएको छ । पुस्तान्तरसँगै सामाजिक तथा सांस्कृतिक मान्यता र मान्छेको सोचमा समेत परिवर्तन आइसकेको सन्दर्भहरू उपन्यासमा प्रस्तुत भएका छन् । अमेरिकामा बस्ने मध्यमवर्गीय नेपाली परिवारको कथा भए पनि उपन्यासले काठमाडौंको आजको धनाढ्य नेपाली परिवार तथा समाज र अमेरिकामा बस्ने नेपाली परिवारको कथा भनेको छ ।

तारा–निवासमा निक्कीको काका अभयजंगजस्तो पात्रले किशोरीलाई बलात्कार गरेको घटनाबाट प्रारम्भ भएको यस उपन्यासको कथावस्तु घटनाप्रधान देखिन्छ र कतिपय सन्दर्भहरू फिल्मीशैलीका पनि देखिन्छन् । उपन्यास पढिरहँदा कुनै चलचित्र हेरिरहेजस्तो लाग्ने यस कृतिका पात्रहरू अविवाहित युवाहरू नै रहेकाले पनि कथावस्तु उनीहरूको यौवनकालजस्तै गतिशील रहेको देखिन्छ ।

उपन्यासमा उत्सुकता जगाउने र कौतूहल पैदा गर्ने विभिन्न सन्दर्भहरू बुनिएका छन् र यसले पाठकलाई गम्भीरता र रोचकता एकैपटक प्रदान गरेका छन् । आजको पुस्ताका मानिसले आफूमाथि जिम्मेवारी आइपर्दा कसरी बुद्धिमत्तापूर्ण तरिकाले काम गर्छन् र हरेक समस्याको समाधान गर्छन् भन्ने यथार्थलाई उपन्यासमा देखाइएको छ । यस्तै बुद्धिमत्तापूर्ण व्यवहार निक्की र जेसनको प्रेम तथा विवाह एवं जानकी र आदित्यको प्रेम तथा विवाहमा पनि उनीहरूले देखाएका छन् ।

उपन्यास दुई जोडी युवायुवतीको प्रेम, उत्सुकता, रहस्य र यथार्थमा अडिएको छ । जेसन र जानकीकी बहिनी ज्योतिको भूमिकाले उपन्यासलाई अत्यन्त रोचक बनाएको छ । यिनीहरूका बीचको मित्रता र प्रेमको कथामा अडिएको यस उपन्यासको अधिकांश भाग पुराना साथी आदित्य र जानकीका इमेल संवादले ओगटेको छ भने निक्की र जानकीका इमेल संवादले पनि केही आयतन ओगटेको छ ।

जानकीले आफ्नो परिचय नदिईकन छद्म नामबाट आदित्यलाई इमेल पठाइरहनु र जानकीले आफ्नो परिचय नखुलाए पनि आदित्यले रहस्य र हैरानीका साथ जानकीलाई इमेल लेखिरहनु तथा अपरिचित इमेल संवादमै उनीहरूका बीच प्रगाढता बनाउनु अनि उपन्यासलाई साइबर संस्कृतिको नमुनाका रूपमा प्रस्तुत गर्नु उपन्यासकार सानु शर्माको सबलता र सफलता हो ।

प्रस्तुत उपन्यासकी प्रमुख पात्र जानकी र उसैसँग जोडिएका सहायक पात्र जेसन र ज्योति बाबुआमाका साथ अमेरिकामै बसेका छन् । तर, बोलीचाली वा भाषाको प्रयोगमा अंग्रेजी शब्द र वाक्यको प्रयोग गर्ने बानीबाहेक उनीहरूले आफ्नो परम्परा, संस्कार र कर्तव्यलाई भुलेका छैनन् । संस्कार र शिक्षाको सन्तुलन यी पात्रहरूमा देख्न सकिन्छ । प्रारम्भमा जानकीले भोग्नुपरेको बलात्कारको घटना र सात दिनभित्रको दुर्दान्त मानसिक पीडाले अमेरिका गएर ऊ सत्ताइस–अट्ठाइस वर्षकी हुँदासम्म लखेटिरहेको छ ।

बलात्कारजन्य पीडाबाट आहत नारीहरूले जीवनमा भोग्नुपर्ने मानसिक आघात यस उपन्यासको एउटा विन्दुको कथा हो भने सम्बन्धको गहिराइ अर्को विन्दुको कथा हो । प्रेम र मित्रताका रमाइला प्रसंग तथा किशोरकिशोरी र युवायुवतीका चञ्चलता, उटपट्याङ, दायित्वबोध, तिनका अत्यन्त अनौपचारिक तथा निश्छल सम्बन्ध आदिले यस उपन्यासलाई पठनीय बनाएका छन् ।

प्रस्तुत ‘ती सात दिन’ उपन्यासले युवायुवतीका कथा र तिनका जीवनशैलीलाई देखाएको छ । यस उपन्यासका युवायुवती आधुनिक छन्, तर मर्यादित छन् । अमेरिकामा बस्छन्, तर नेपालीपन भुलेका छैनन् । नेपालमा जहाजबाट ओर्लंदा समेत धर्तीमा टाउको टेकाउने आदर्श समेत उनीहरूले भुलेका छैनन् । उपन्यासमा यो प्रसंग रमाइलोसँग आएको छ ।

कथावस्तु एउटै धारमा अगाडि बढे पनि विषयगत विविधता र घटनालाई प्रस्तुत गर्ने उपन्यासकारको विशिष्ट शैलीले यस उपन्यासलाई अत्यन्त रोचक र पठनीय बनाएको छ । यस उपन्यासका प्रेमप्रसंगहरू अत्यन्त रमाइला र रोचक छन् । आदित्य र निक्की आआप्mनै किसिमले जानकीको काठमाडौंको घरमा आउँदा जानकी ढोकाको कापमा र छतमा लुकेर बस्नु, बहिनी ज्योति ज्वरो आएको नाटक गरेर पानीपट्टी लगाएर बस्नु आदि निकै हँसाउने खालका रोचक घटना हुन् र यस्ता घटना हास्यरसप्रधान छन् ।

वास्तवमा यो उपन्यास आजका सहरिया नेपाली युवायुवतीको कथा पनि हो र यस्ता युवायुवतीमा सकारात्मक भावना जगाउने, कर्तव्यबोध गराउने र कर्मठ बनाउने सन्देश यसले दिएको छ । जिम्मेवारी र स्वतन्त्र निर्णय गर्न पाउने हो भने जस्तासुकै ठूला समस्या पनि उनीहरूले समाधान गर्न सक्छन् भन्ने सन्देश पनि यस उपन्यासले दिएको छ ।

पूर्वदीप्ति अर्थात् फ्ल्यासब्याक शैलीको प्रयोग उपन्यासकार सानु शर्माको विशेषता हो र यो कौशल उनको यस उपन्यासमा पनि देखिएको छ । अमेरिकामा बसेका युवायुवतीको स्वभावअनुरूप संवादमा अंग्रेजी शब्द र वाक्यको व्यापक प्रयोग यस उपन्यासका विशेषता हुन् । पच्चीस–छब्बीस वर्षका युवायुवती भएर पढ्ने हो भने यस उपन्यासले प्रौढ र वृद्धवृद्धालाई पनि उही पच्चिस–छब्बिस वर्षको संसारमा पुर्‍याउँछ र अतीत सम्झने गराउँछ ।  ‘ती सात दिन’ युवापुस्ताका लागि सशक्त उपन्यास हो भन्ने कुरा यसका घटना, पात्र, तिनका संवाद आदि कुराले स्पष्ट पार्छन् ।

“यो हाँसो, यो खुसी, मिलन र यो सुखान्त तिनै अभिशप्त सात दिनको देन थियो । जीवनका कतिपय भाग बाक्लो अँध्यारोमा रुमलिएर बिताएको भए पनि आज म पनि मान्न बाध्य भएँ– एभ्री क्लाउड ह्याज सिल्भर लाइनिङ ।” (पृ. ३४९)

‘ती सात दिन’ उपन्यासको अन्तिम अनुच्छेद हो, माथि साभार गरिएका हरफहरू । उपन्यास जुन वाक्य बोलेर टुंगिएको छ – लाग्छ, त्यहीँबाट उपन्यासको उद्देश्य पूरा भएको छ । परम्परागत संस्कृतिलाई आदर्श मानेर अनुसरण गर्ने पुस्ता र डिजिटल युगमा रमाइरहेको पुस्ताका बीचको सम्बन्धमा आएको टकराब र सम्झौतालाई उपन्यासमा मिहिन ढंगले प्रस्तुत गरिएको छ । उपन्यासकारका अन्य उपन्यासमा जस्तै यसमा पनि मानवीय संवेदनाका विभिन्न रङहरू गाढा बनेर प्रस्तुत भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro