काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आउँदो महिना लेबनानमा चारदेशीय फुटबल प्रतियोगिता खेल्ने भएको छ । लेबनानमा जुलाई ८ देखि १६ सम्म हुने प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले बाह्रखरीलाई बताए ।
“लेबनानमा जुलाई ८ देखि १६ सम्म हुने प्रतियोगिताका लागि एन्फालाई पत्र आएको छ । प्रतियोगितामा नेपाल पनि सहभागी हुनेछ । आयोजकले चार देशको सहभागी हुने जनाएका छन् । तर, कुन–कुन देश भन्ने कुरा सार्वजनिक गरेका छैनन्,” शाहले भने ।
प्रतियोगिताका लागि नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा समेत गरिसकेका छन् । यसअघि नेपालले मध्यपूर्वमा भएको वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । साउदी अरेबियामा भएको प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरे पनि नेपाल उपाधि भिडन्तमा भने जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।