काठमाडौं । गत साता सोमबार बाहिर मौसम त्यति खुल्न सकेको थिएन । घरी घाम लाग्लाजस्तो, घरी पानी पर्ला जस्तो मौसम थियो ।
एउटा स्टोरीमा तथ्यगत हिसाबले पुष्टि गर्नुथियो । त्यो विषय थियो, अर्थ मन्त्रालयसँग सम्बन्धित ।
अर्थ मन्त्रालयका चिनेका अधिकारीहरू सम्पर्क गर्दा उनीहरू कोही मिटिङमा त कोही बजेट लेखनमा व्यस्त भएको जनाए । त्यसपछि प्रवक्ता उत्तरकुमार खत्रीलाई फोन गरेँ । उनका दुईवटै मोबाइल नम्बरमा फोन लागेन । त्यसपछि म अर्थ मन्त्रालय गएँ ।
अर्थ मन्त्रालयका केही अधिकारी बजेट लेखनमा लागेका भए पनि कोही त बजेट लेखनसँग जोडिएका थिएनन् । सधैँ गइरहने भएकाले केही कर्मचारीहरूले मलाई देख्नेबित्तिकै चिन्थे नै । तर, पछिल्लो समय अर्थ मन्त्रालय जाने क्रम नियमित नभएकाले त्यहाँ धेरै परिवर्तन भएका रहेछन् ।
मैले लेख्न खोजेको विषय अर्थ मन्त्रालयको कुन शाखाले हेर्छ भन्नेमा म स्पष्ट थिइनँ । मैले कि त प्रवक्ता वा सहप्रवक्ताको माध्यमबाट त्यो विवरण लिन पर्थ्यो । सिंहदरबार छिरेपछि सुरुमै अर्थ मन्त्रालय नगई त्यही मौकामा अन्य मन्त्रालयका चिनेका अधिकारीहरूसँग भेट्दै करिब ३ बजे अर्थ मन्त्रालयको पछाडि पार्किङमा पुगेँ ।
त्यहाँ अर्थमन्त्री वर्षमान पुनका सचिवालयका सदस्य तथा प्रेस संयोजक दयानिधि भट्टलाई भेटेँ ।
भट्ट एक पत्रकारसँग गफिँदै थिए ।
त्यही क्रममा मैले भट्टसँग ख्याल ठट्टैमा भनेँ, “मन्त्रालयभित्र जान नदिने हुँदा बाहिरै बसेर कुरा गरेको हो ?”
उहाँले जवाफ दिनुभयो, “भेटघाटका लागि हो भने म भनिदिन्छु ।”
यति भनेपछि मैले कसैलाई फोन गरी भित्र प्रवेशका निम्ति आग्रह गरिरहनु परेन ।
मैले अर्थ मन्त्रालयका धेरै कर्मचारीहरू चिनेकै थिएँ । मेरो उद्देश्य एउटा सूचना भेरिफाइ गर्नुथियो । त्यो पनि प्रवक्ता र सहप्रवक्तामार्फत् ।
मूल ढोकामा प्रहरी जवानहरूले मेरो सम्पूर्ण विवरण सोध्दै नोट गरी भित्र पठाइ दिए ।
म पहिले सहप्रवक्ता युवराज बस्नेतको कोठामा पुगेँ । उहाँ आफ्नै काममा व्यस्त हुनुहुँदो रहेछ । मैले आफ्नो कुरा सुनाएँ । उहाँले आफूलाई त्यसबारे थाहा नभएको र सम्बन्धित शाखामा जानू भनी कर्मचारीको नाम दिनुभयो । म करिब १ मिनेटमै ‘सर, काममा हुँनुहुँदो रहेछ म पछि भेट्छु’ भन्दै निस्किएँ ।
त्यसपछि त्यो शाखामा पुगेँ । त्यहाँ चारैवटा कुर्सी खाली थिए । कार्यकक्षमा कोही पनि भेटिएनन् । आफू त्यसअघि नपुगेको शाखा भएकाले म त्यहाँ हेरेर मात्र निस्किएँ ।
सधैँ पुग्ने प्रशासन शाखामा पुगेँ । यसअघि त्यस शाखामा कार्यरत अधिकृत कर्मचारी चिन्ने भएकाले देखिएर निस्किन्छु भनेरमात्र त्यो शाखामा पुगेको थिएँ । भित्र दुईजना हुनुहुँदो रहेछ । खाजा खाने समय रहेछ । म्याडमलाई मैले पहिले चिनेको थिएँ । उहाँसँग बोल्दै सधैँझैँ म भित्र पसेँ । सर भने नयाँ हुनुहुँदो रहेछ ।
उहाँसँग पनि चिनजान गरेँ । यसअघि यस शाखामा कार्यरत सरुवा भएका रहेछन् ।
खाजा खाने समय भएकाले म्याडमले खाजा र चिया खाने भनी सोध्नुभयो सधैझैँ । मैले भनेँ, ‘नखाउँ, अफिस पुग्नु छ ।’
करिब १० मिनेट त्यहाँ बसेपछि म बिदा मागेर बाहिर निस्किएँ । मलाई युवराज सरले पठाउनु भएको शाखामा पुनः हेरेँ कोही पनि देखिएनन् । एक जना सरलाई नाम लिँदै सोधेँ– “सर आज आउनु भएको छैन ?”
उहाँ बाहिर जानु भएको छ भन्ने कुरा थाहा पाएँ । त्यसपछि आफ्नो काम नहुने भएपछि त्यहाँ बस्न आवश्यक नठानी म बाहिरिँदै गर्दा प्रवक्ता उत्तरकुमार सरलाई पुनः फोन गरे । उहाँको फोन ‘अफ’ थियो ।
त्यसपछि म बाहिर निस्किन लाग्दैथिएँ । मूल ढोकामा बसेका प्रहरी जवानले भने “तपाईं कहाँ गएर आउनु भएको ? तपाईंको कम्प्लेन छ ।”
म अचम्ममा परेँ । छक्क परेँ । अनि मैले ती प्रहरी जवानलाई सोधेँ, “किन ? कसले गर्यो कम्प्लेन ? मैले के गरेँ र ?’”
म पहिले प्रवेश गर्दा तीनजना प्रहरी जवान थिए । तर, पछि पाँचजना प्रहरी थिए । एक जना असई पनि थिए ।
मेरो प्रश्नपछि प्रहरी जवानले भने, “तपाईं जताततै शाखामा छिर्नु भएछ । जुन कामका लागि तपाइँ आउनु भएको हो, त्यही काम गरेर फर्कनु भएको भए भइहाल्थ्यो, हामीलाई भनाइ ख्वाउनुभयो ।”
हुन त, म जे कामले अर्थ मन्त्रालय गएको थिएँ, त्यही कामका लागि नै ती शाखामा पुगेको हुँ । कोही नभेटेपछि फर्किएको थिएँ । अरु बेला राजस्व महाशाखादेखि वित्त व्यवस्थापन, आर्थिक नीति विश्लेषण, बजेट सबै शाखा घुम्थे । तर, बजेटको समय भएकाले आफ्नो कामभन्दा फाल्तु शाखामा जानु उचित नहुने निष्कर्षसहित मन्त्रालय भित्रिएको करिब २० मिनेटमै बाहिरिएको थिएँ ।
हुन त, ती जवानले आफ्नो ड्युटी गरेका हुन् । उनलाई पनि ‘माथि’को आदेश हुन्छ ।
तर, एउटा पत्रकारलाई कार्यालयमा प्रवेश गर्न किन दिइस् भनेर प्रहरी जवानलाई हपार्ने गर्ने को होला ? यो प्रश्न मेरो दिमागमा छिर्यो ।
सर्वसाधारणका हितभन्दा पनि ठूला व्यापार पोस्दै लाभ लिन कोरिने यस्ता बजेटमा मामुली पत्रकार मैले के गर्न सक्थेँ होला ? करका दर हेरफेर गर्ने गिरोह प्रवेश गरेको नदेख्ने कर्मचारीले म सामान्य पत्रकार त्यो पनि सूचना पुष्टि गर्न पुग्दा किन यति धेरै निगरानी ?
ती प्रहरी जवानलाई मैले केही नभनी मनमा केही कुरा सोच्दै ढोका बाहिर निस्कदै सोचेँ, “यी कर्मचारीहरूले किन यस्तो गरेका होलान् ? म त सधैं जाने गरेको र चिनिराखेकै हो । कर्मचारीहरू किन यसरी जासुसी लागेका होलान् । म अचम्ममा परेँ ।”
त्यहीबेला मोबाइलको भाइब्रेसन बज्यो । दयानिधि दाइले फोन गर्नुभएको रहेछ । मैले उहाँको फोन उठाएँ । उहाँले पहिलो वाक्यमै सोध्नु भयो, “कहाँ तपाईं ?”
मैले आफू बाहिर निस्किएको बताएँ ।
उहाँले आफूलाई मन्त्रीको फोन आएको जानकारी गराउनुभयो ।
म बाहिरिएलगत्तै प्रशासनबाट मन्त्री पुनलाई कम्प्लेन गरेको जानकारी पाएँ ।
फोन कटेपछि म पुनः अचम्ममा परेँ । म त त्यसरी बजेट लेख्ने शाखामा त पुगेको थिइनँ त ? किन यसरी निगरानी गरिन्छ होला ? यी प्रश्न मेरो मनमा फेरि उब्जिए । मन्त्री कार्यकक्ष बाहिरपट्टी कार्यकर्ता र व्यापारीको भिड नदेख्नेहरूले पत्रकारको निगरानी किन गरेका होलान् ? अचम्म लाग्यो ।
प्रश्नकै बीच सधैं भेटिरहने सरलाई भेटेर जानुपर्यो भन्ने सोचेँ । मन्त्रालयको अगाडिपट्टी रहेको टहराको वित्तीय संघीयता समन्वय महाशाखामा हुनु भएको एक जना सरलाई फोन गरेँ ।
उहाँलाई भेट्न मिल्छ भनेर सोधें । उहाँले जवाफ दिनुभयो, “मिल्छ, आउनुस् ।”
म उहाँको कार्यकक्षमा पुगेँ । कार्यकक्षमा ४/५ जना सरहरू हुनु हुँदोरहेछ । सरहरूलाई नमस्कार गर्दै म बसेको मात्र के थिएँ । दुई जना प्रहरीले ढोका खोल्दै सोधे, “तपाईँ किन यहाँ आउनु भएको ?”
अर्थमन्त्रालयका ती अधिकारीले प्रहरीसँग भने, ‘हैन, उहाँ त पत्रकार हुनुहुन्छ, भन्नुभयो ।”
तर, प्रहरीले मानेनन् । उनीहरूले नै तपाईंलाई कहीँ जान नदिनुस् भनिएको छ भनी सुनाए । त्यसपछि उहाँहरूबाट बिदा माग्दै प्रहरी असई र जवानसँग बाहिर निस्किएँ ।
मलाई मनमा कस्तो–कस्तो लागि रह्यो । आजसम्म कहीँ पनि त्यस्तो व्यवहार अनुभव गरेको थिइनँ । अर्थ मन्त्रालयले बजेट लेख्दैछ । त्यो सबैलाई थाहा छ । के कुरा बाहिर ल्याउने, के नल्याउने भन्ने पत्रकारको पनि धर्म हुन्छ ।
तैपनि पनि बजेट कुन कोठामा कसरी लेखिँदैछ भन्दै कसले हेर्न जान्छ र ? तैपनि किन यति निगरानीमा राखियो होला ? मनमा प्रश्न गुन्जिरहेको छ । यस प्रश्नको उत्तर मन्त्री पुनले एकदिन पक्कै दिनुहोला !