site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
...अनि चल्यो भन्सार विभागका महानिर्देशक भट्टराई र सांसद शाहीबीच सवाल–जवाफ

काठमाडौं । आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करको विषयमा प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार छलफल राख्यो । सो छलफलमा राजस्व–सचिव दिनेशकुमार घिमिरे, भन्सार विभागका महानिर्देशक महेश भट्टराई, आन्तरिक राजस्व विभागका उप–महानिर्देशक तीर्थराज चिलुवाल र व्यवसायीहरूको उपस्थिति थियो । यी व्यवसायीबाहेक ग्याबियन वायर टेक प्रा.लि.का प्रबन्ध निर्देशक सम्राट सिंह पनि सहभागी थिए । उनी जीआई वायर संघको प्रतिनिधिको रूपमा सहभागी थिए । 

सुनचाँदीमा लगाइएको करको विषयमा छलफल राखेर सभापति चालिसेले जीआई वायर व्यवसायीलाई पनि सुटुक्क  छलफलमा बोलाए । चालिसेले ती व्यवसायीलाई असम्बन्धित छलफलमा बोलाउनु मात्र हैन कर्मचारीको सातो उड्नेगरी थर्काउन र गाली गर्न पनि दिए । किनभने बिहान ११ बजेबाट प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफल थियो । तर, सोमबार बिहान ९ बजेदेखि दुई घण्टाको समय राखेर सुनचाँदी व्यवसायीका कुरामा अर्काे विषय घुसाउनु नै असान्दभिक थियो । 

यति मात्र हैन चालिसेले भन्सार विभागका महानिर्देशक भट्टराईलाई बोल्न समय दिएर बीचमा सांसद र व्यवसायीलाई बोल्न दिए । यो माहोलले महानिर्देशक भट्टराईको कुरा टुंग्याउन दिएन । महानिर्देशक भट्टराईले बोल्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) र व्यवसायी सिंहले उल्टै प्रतिप्रश्न गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभापति चालिसेले महानिर्देशकलाई कुरा सक्न नदिई सांसद शाही र व्यवसायी सिंहलाई बोल्न दिए । महानिर्देशक भट्टराईलाई बीचमै रोकेर कुरा सक्न नदिँदा सवाल–जवाफ चलेको थियो । 

व्यवसायीले भन्सारमा गर्ने लविङको विषयमा भट्टराई बोलिरहेका थिए । उनले भन्सारका दर कसरी निर्धारण गरियो भनेर पनि स्पष्ट पारिरहेका थिए । तर, यत्तिकैमा सांसद शाहीले रोके र प्रश्न गरे । 

शाही : सभापतिज्यू, म एउटा प्रश्न सोध्न चाहन्छु, महानिर्देशकज्यूलाई । तपाईंलाई म एउटा कुरा सोधिरहेको छु । तपाईं ‘र म्याटरियल’को कुरा गर्नुहुन्छ । ‘र म्याटरियल’ भनेको फिनिसिङ गुड बन्नलाई आउने चिज हो । सामान्य कुरा है । तपाईंलाई मैले के सोधे भने स्टिलको घनमा हाल्ने रड जुन फिनिसिङ आउँछन्, तीनमा कति प्रतिशत भन्सारदर छ अहिले भन्नुस् त ?

भट्टराई : रडमा ?

शाही : डाइरेक्ट्ली जुन फिनिसिङ गुड्स ल्याउँछौँ, त्यसमा कति प्रतिशत भन्सार लाग्छ ? पूरै फिनिसिङ भएको के । 

(व्यवसायीले पछाडिबाट सहयोग गरेपछि) पूरै फिनिसिङ भएको टीएमटीमा भनेको के कति छ एक पटक हेर्दिनुन ? 

शाहीको पछाडिबाट व्यवसायीले भने (३० प्रतिशत होला कम्तीमा पनि) 

एकछिन एकछिन टीएमटीमा पनि अनि नेपालमा बन्नेलाई पनि भनेको ।

भट्टराई : स्पामका डन्डीमा ३० प्रतिशत भन्सार महसुल छ । ४५ सय रुपैयाँ प्रतिमेट्रिकटन अन्तशुल्क छ । र, १३ प्रतिशत भ्याट छ ।

शाही : जस्तो त्यो बनाउनका लागि नेपालमा आइरनहरू ल्याउँछौँ नि त्यसको जम्मा कति हुन्छ ? 

भट्टराई : इस्पञ्ज आइरनमा एक प्रतिशत भन्सार लाग्छ । १३ प्रतिशत भ्याट लाग्छ । 

शाही : जुन टीएमटी नेपालमा बनाउन ‘र म्याटरियल’ ल्याउँछौँ नि त्यो ‘र म्याटरियल’मा भन्सारदर बढी छ कि फिनिसिङमा बढी छ ? 

भट्टराई : ‘र म्याटरियल’मा कम छ, फिनिसिङमा बढी छ । 

शाही : अनि, ६ र १० को कन्सेप्ट के ? 

भट्टराई : मैले फेरि भने उहाँहरूले भनेको जीआई वायरमा भन्सार महसुल लाग्छ । ६ प्रतिशत भनेको साफ्टा सुविधाअन्तर्गतको विशेष प्रोभिजन हो । केही–केही आइटममा ०६२ सालदेखि नै हामीले साफ्टा प्रोभिजन लिँदै आएका छौँ । एउटा चिजलाई त्यसैसँग कम्प्यारिजन गरेर हेर्नुपर्ने हुन्छ । नर्मल स्ट्यान्डर रेट कति हो भन्नेर हेर्नुपर्छ । स्ट्यान्डर रेट जीआई वायरमा ३० प्रतिशत हो । 

शाही : जीआई वायरमा ३० प्रतिशत सबै जोडेर ? 

भट्टराई : ३० प्रतिशत भन्सार हो । १३ प्रतिशत भ्याट त छँदैछ । 

शाही : स्पञ्ज आइरन ल्याउँदा भन्सार सुल्क कति छ ? 

भट्टराई : स्पञ्ज आइरनमा एक प्रतिशत छ । 

शाही : एक प्रतिशतभन्दा बढी छैन ? जम्मा एक प्रतिशत मात्र ? 

भट्टराई : हैन–हैन स्पञ्जमा एक प्रतिशत छ । बिलेडमा पाँच प्रतिशत छ । ‘र म्याटरियल’मा हो क्या । एउटाका लागि ‘र म्याटरियल’ भए पनि अर्काेका लागि फिनिसिङ प्रोडक्ट हुन सक्छ । (उनले चिनीको उदाहरण दिँदै भने– चिनी पनि कुनै उद्योगका लागि ‘र म्याटरियल’ हुन्छ भने कुनैका लागि फिनिसिङ गुड्सका रूपमा परिभाषित छ ।)

उहाँहरूले ल्याउने चिजलाई १० प्रतिशत छ । उहाँहरूले बनाउने चिजलाई बाहिरबाट ल्याउँदा ३० प्रतिशत छ । (जीआई वायरका प्रतिनिधिलाई देखाउँदै महानिर्देशक भट्टराईले भने) 

यत्तिकैमा जीआई वायरका प्रतिनिधि सिंहले महानिर्देशक भट्टराईलाई प्रश्न सोध्न तम्सिए । सभापति चालिसेले पनि उनलाई संक्षिप्त भनाइ राख्न समय दिए । सिंहले पनि आक्रोशित भएर एउटै सामानमा फरक–फरक भन्सारदर लगाइएको भन्दै आक्रोश पोखे । “जिंक भन्ने कमोडिटीज् तपाईंलाई थाहा छ ? उद्योगका लागि जिंक कति प्रतिशत आयात हुन्छ डीजीसाप ?” उनले प्रश्न सोध्दै आक्रोशित भए, “जिंक कच्चापदार्थ हो कि तयारी वस्तु हो डीजीसाप ?” 

यत्तिकैमा भन्सार विभागका महानिर्देशक भट्टराईले जिंक कच्चा पदार्थ भएको जिकिर गरे । तर, सिंहले यो कच्चा पदार्थ नभएर तयारी वस्तु भएको बताए । 

महानिर्देशक भट्टराईले ठाउँअनुसार कच्चा पदार्थ हुने बताए । उनले चिनी कर्चा पदार्थ हो वा फिनिसिङ वस्तु हो भनेर उल्टै प्रश्न गरे ।

सिंहका अनुसार, उद्योगमा प्रयोग हुने जिंकमा शून्य प्रतिशत भन्सारदर लाग्दै आएको छ । “उद्योगमा प्रयोग हुने जिंकमा शून्य प्रतिशत भन्सार लगाउनु भएको छ,” सिंहले भने, “यहाँ वायर रडलाई १० प्रतिशत लगाउनु भएको छ ।”

एउटा उद्योगलाई पोस्नका लागि अहिलेको २०/२५ वटा उद्योग मास्ने गलत नीति सरकारले दिएको सिंहको भनाइ छ ।  

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्