site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अराजक गतिविधिमा रमाउँदै बालेन ! संघीय सरकारसँग किन खोज्दैछन् जोरी ?

काठमाडौं । काठमाडौंको न्यूरोडका स्थानीय सोमबार आन्दोलित बने । काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)को नेतृत्वमा महानगरले न्यूरोडमा फुटपाथ विस्तार गर्न लागेपछि स्थानीय विरोधमा उत्रेका थिए । 

सडकको आकार घटाइ फुटपाथ बढाउन लागेपछि सोमबार स्थानीयले न्यूरोड गेटबाट एक अर्काको हात समाइ विरोधमा उत्रिएका थिए । उनीहरूले ‘मानव साङ्लो’ बनाएर महानगरको योजनाविरुद्ध आफूहरू एकजूट रहेको सन्देश दिएका थिए ।

पछिल्ला दिन काठमाडौं महानगरका प्रमुख बालेनका ‘उत्तेजक’ गतिविधि बढेका छन् । 

Dabur Nepal
NIC Asia

यही जेठ १२ गते उनले सडक विभाग र सडक डिभिजन काठमाडौंको गेट अगाडि महानगरका कर्मचारीलाई फोहोर (धुलो माटो) थुपार्न लगाएका थिए ।

बालेनका आदेश पालना गर्दै महानगरका कर्मचारीले सडक विभाग र सडक डिभिजन काठमाडौंको गेट अगाडि जेठ १२ गते बेलुकी करिब ५ बजे ट्रिपरबाटै फोहोर खसालेका थिए ।

उनी यत्तिमै रोकिएनन् । उनले फोहोर खसाल्दै गरेको भिडियो जेठ १२ गते बेलुकी ५ः४४ बजे सामाजिक सञ्जालमा फेसबुकमा पोष्टसमेत गरे । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई सम्बोधन गरी भिडियो पोष्ट गरेका थिए ।
 
“तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड बिस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ । काठमाडौंमा हुने आधा भन्दा बढी प्रदुषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ,” भौतिक पूर्वाधार मन्त्रीलाई सम्बोधन गर्दै बालेनले लेखेका थिए । 

Newsroad-1716815695.jpg
 

बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रीलाई उपहारस्वरुप धुलो ट्रकमा पठाइरहने धम्की समेत दिए । 

उनले फेसबुकमा लेखेका थिए, “यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु, माया सम्झेर स्वीकार्नु होला ।”

बालेनले पोष्ट गरेको केही घण्टामै सडक विभाग र सडक डिभिजन काठमाडौंको गेट अगाडि फोहोर खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । 

उनले भिडियो पोष्ट गरेको दुई दिन नबित्दै त्यहाँ ४५ हजारले कमेन्ट गरेका छन् भने २४ हजारभन्दा बढीले सेयर गरेका छन् । उनका प्रशंसकले बालेनलाई स्याबासी दिइरहेका छन् भने अन्यले कानुनको पालना गर्न उनलाई सुझाव दिएका छन् ।

बालेनको भिडियो र पोष्ट भाइरल बनेपछि सडक विभाग विज्ञप्ति जारी गर्न बाध्य भयो र बालेनको क्रियाकलापप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बतायो । विभागले महानगर प्रमुखले उठान गरेको कलंकी बसुन्धरा सडक खण्डको अवस्थाबारेमा महानगर र सडक विभागबीच पटक पटक संवाद, सहयोग र सहकार्य भएको स्पष्ट पार्यो । 

उक्त खण्डको मुख्य लेनलाई ८ लेनमा चिनियाँ सरकारको अनुदान सहयोगबाट विस्तार गर्नेगरी सन् २०२४ मार्च २० मा नै चिनियाँ पक्षबाट ‘एक्सचेन्ज अफ नोट’ प्राप्त भइसकेको विभागले जनायो । 
“उक्त खण्डको सर्भिस ट्रयाक खन्न नेपाल सरकारको स्रोतबाट सडक विभागले ठेक्का व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाएको छ,” सडक विभागले विज्ञप्तिमार्फत भन्यो ।

मुख्य लेन र सर्भिस लेनबीचको भागमा भागमा अनधिकृत व्यक्तिहरूबाट फोहोर फाल्ने प्रवृत्तिबारे सडक विभाग र महानगरबीच छलफल भएको साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पटकपटक छलफल भएको जानकारी समेत विभागले दियो ।

“उक्त स्थानमा अनधिकृत रुपमा फोहोर फाल्न नदिने तथा फोहर व्यवस्थापन गर्ने मुख्यजिम्मेवारी समेत महानगरकै रहेको भएता पनि यसमा दुवै पक्षबाट आ–आफ्नो तर्फबाट सकारात्मक सहयोगी भूमिका खेलिरहेको व्यहोरा जानकारी गराउन चाहन्छौँ,” विभागले भनेको छ ।

विभागले काठमाडौंका मेयर बालेनले सडक विभागले सडक डिभिजन काठमाडौंको गेटअगाडि फोहोर थुपार्ने र त्यसलाई फेसबुकमा राख्ने कार्यलाई ‘अमर्यादित र सार्वजनिक हित प्रतिकूल हुने क्रियाकलाप’ बतायो । 

“हामी सबैको जनप्रतिनिधिको रुपमा महानगर प्रमुखको हैसियतमा यस्ता प्रकृतिका अस्वाभाविक गतिविधिले समाजमा गलत प्रवृत्ति बढ्दै जानेतर्फ सबै सजग हुनुपर्ने अनुरोध गर्न चाहन्छौँ,” विभागले अरुलाई पनि बालेनको जस्तो क्रियाकलाप नगर्न भनेको थियो ।

balenshaha-1716815695.jpg
 

महानगरभित्रका विद्यमान सडक संजालमध्ये १४८ किलोमिटर सडक मात्र विभागबाट कार्यान्वयन÷मर्मत सम्भार हुँदै आइरहेको भनाई विभागको थियो । 

अत्यन्तै महत्वपूर्ण चक्रपथ निर्माण एवं विस्तार लगायत सडकहरू व्यवस्थित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्पष्ट निर्देशन भई सोही अनुरुप कार्य हुने गरी काम भइरहेको र यसको नतिजा आगामी आर्थिक वर्षबाट नै क्रमशः देखिदै जाने दाबी समेत विभागले गर्‍यो ।

सडक डिभिजन काठमाडौंले सडक विभागभन्दा पनि एक कदम अघि बढेर काठमाडौंका मेयरलाई चेतावनी दियो । सडक डिभिजनले त बालेनले यस्ता क्रियाकलाप दोहो¥याए प्रतिकार गर्नेसम्मको चेतावनी दियो ।

“सडक डिभिजन काठमाडौंको कार्य क्षेत्रभित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौं बाध्य हुने बेहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,” सडक डिभिजनले जेठ १२ गते विज्ञप्ति जारी गर्दै भन्यो । 

सडक डिभिजन काठमाडौंको मीनभवनस्थित कार्यालयको गेटमा कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको दाबी विज्ञप्तिमा गरिएको थियो ।

“काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याईं तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ,” सडक डिभिजनले भनेको थियो ।

यही जेठ ११ गते शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर तथा सडक डिभिजनका डिभिजन प्रमुखबीच महानगरभित्रका सडक सुधारका विविध विषयमा छलफल भएको थियो । 

नियमबमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने समेत समझदारी भएको थियो । यसअघि महानगरपालिकाबाट नियमबमोजिम डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति स्वीकृत गरिएको थियो ।

२०८१ जेठ १२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा सडक डिभिजनको जिम्मामा रहेको सडकमा बिना अनुमति सडक काटी सडकको ‘स्ट्यान्डर्ड’ चौडाइ घटाउने कार्यमा काठमाडौं महानगरपालिका लागेको थियो । 
काठमाडौं महानगरका प्रमुख बालेनको निर्देशनमा यो कार्य भइरहेको थियो ।

त्यसबखत बिनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनले काठमाडौं महानगरका कर्मचारीलाई रोकेको थियो ।  त्यसैको रिस बालेनले सडक विभाग र सडक डिभिजन काठमाडौंको गेटमा फोहोर फाली फेरेको आरोप छ ।

सोमबार न्यूरोड क्षेत्रका स्थानीयले समेत बालेनका सडक घटाउने र सडक पेटी बढाउनेको कार्यको विरोध गरेका छन् ।  बालेनको यस किसिमका अराजक गतिविधि पहिलो होइन ।  केही दिनअगाडि पनि बालेनले सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी सामाजिक सञ्जालमार्फत दिएका थिए ।
 
सरकारले काठमाडौंमा फोहोर बोक्ने ४ जना चालकलाई समाएको भन्दै उक्त चेतावनी दिएका थिए । 

“भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले,” बालेनले आफ्नो फेसबुक पेजमा ६ दिनअघि लेखेका थिए, “जबसम्म स–सम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालयको तथा नेताहरूको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाडिँदैन !” 

माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयअघि फोहोर बोकेका ट्रक राखिदिएपछि प्रहरीले चालकलाई फोन गरेर हटाएको थियो । काठमाडौंको फोहोर व्यवस्थित संघीय सरकारले बेवास्ता गरेको आरोप लगाउँदै महानगरले चार चारवटा फोहोर बोकेका ट्रक दुईवटा पार्टी कार्यालयअघि उभ्याइदिएको थियो ।

२०८० को भदौमा पनि बिदाका दिन पासबिना सरकारी गाडी चढेकी आफ्नी श्रीमतीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा कोटेश्वरमा रोकेपछि बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए । बालेनले सामाजिक सञ्जालमार्फत दिएको धम्कीको चौतर्फी आलोचना भएपछि उनले उक्त अभिव्यक्ति सामाजिक सञ्जालबाट हटाएका थिए ।
 
बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालय (जिप्रका)ले बालेनको नाम नलिई सबै नागरिक बराबर भएको जनाउँदै जथाभावी वक्तव्यबाजी नगर्न भनेको थियो ।

“हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ । प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिवद्ध रहेको छ,” बालेलन सिंहदरबारमा आगो लगाउने चेतावनी दिएको भोलिपल्ट काठमाडौं जिप्रकाले विज्ञप्तिमार्फत् भनेको थियो ।

उक्त अभिव्यक्तिपछि संघीय सरकारको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पक्राउ गर्नुपर्ने धारणा राखेका थिए भने कांग्रेस सभापति शेरबहादुर देउवाले भने पक्राउ गर्न नहुने धारणा राखेको जनमत पार्टीका अध्यक्ष सीके राउतले सार्वजनिक गरेका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro