site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुख नै उत्रिए भनाभनमा,  विपक्षी दबाउन उद्धत !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा सभामुख देवराज घिमिरेले वेलमा नाराबाजी गरिरहेका कांग्रेस सांसदहरुलाई मार्सलले घेराउँदै सदनको कामकारबाही फत्ते गरे ।

त्यसपछिको अर्को बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसहितका कार्यसूचीमा रहेका विषयलाई पनि त्यसैगरी नाराबाजीकै बीचबाट अघि बढाए ।

त्यसअघि गृहमन्त्री रवि लामिछानेलाई विपक्षमा रहेका कांग्रेसले बोल्न नदिएको भन्दै पटक पटक आग्रह गर्दै आएका सभामुखले गृहमन्त्री बोलिसकेपछि भने विपक्षमा रहेका सांसदहरुलाई बोल्न पनि समय दिएनन् ।

यी दुई दिनका दृष्यले सभामुख पूर्णतः सत्तारुढ दलको औजार भएको सन्देश प्रवाहित भयो ।

संसदीय व्यवस्थामा एकजना सांसदमात्रै उभिँदा या वेल घेराउ गर्दा पनि संसदीय प्रक्रिया अघि बढाउनु उचित ठानिदैन । तर सभामुखले जबर्जस्त अघि बढ्न खोजेको उनैको कृयाकलापले स्पष्ट पारेको छ । दुई दिनको अभ्यासपछि अब सभामुखले विपक्षमा रहेका सांसदलाई आफ्ना धारणा समेत राख्न नदिने अवस्थामा पुर्‍याए ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सांसदबीच ‘भनाभन’ नै भयो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहित महामन्त्री विश्वप्रकाश शर्माले कैयौँपटक बोल्न पाउनुपर्ने माग गरे । तर सभामुखले पेलेरै अघि बढाउने प्रयास गरे ।

कांग्रेस सांसद बोल्न चाहन्थे सभामुख रोक्न । शुक्रबारको बैठकमा ‘बोल्न पाउनुपर्ने’ विषयमा सभामुख घिमिरे र कांग्रेस सांसदबीच सवाल–जवाफ भएको हो । 

विपक्षी सांसदको माइक बन्द थियो भने सभामुखले चर्को स्वरमा माइकबाट विपक्षीमाथि खनिइरहे ।

सभामुखले बैठकको कारबाही सुरु भएको जानकारी गराउनासाथ विगतमा जस्तै आज पनि कांग्रेस सांसदहरु एकसाथ उठे । उनीहरुले बोल्न समय माग गरे । सभामुखले कार्यसूचीमा शून्य, विशेष र आकस्मिक समय नरहेको जानकारी गराउँदै विपक्षलाई पेल्ने योजना अघि बढाए ।

सभामुखले नियमित कारबाही अघि बढाउँदै सहकारीको बचत अपचलनबारे गठन गर्ने भनिएको छानबिन समितिको कार्यादेश तयार पार्न गठित कार्यदलमा छलफल जारी रहेको जानकारी पाएकाले सदन सुचारु गर्ने प्रस्ताव राखे । 

त्यसपछि कांग्रेसका सांसदहरुले बोल्न हात उठाइरहे । जसमा महामन्त्री शर्मा, प्रमुख सचेतक लेखकलगायत थिए । आफ्नो सिटमा उठेका उनीहरु हात उठाउँदै बोल्न पाउनुपर्ने माग गरिरहन्थे सभामुख एकोहोरो बोल्दै अघि बढ्थे ।

सभामुखले नियमावलीअनुसार कारबाही अघि बढाउन चाहेको सुनाइरहे ।  बोल्न दिन पाउनुपर्ने कांग्रेसको मागले सदनमा निकै बेर दोहोरी नै चल्यो । सभामुख घिमिरेले आफूले बोल्न नदिएको देखाएर प्रचार गरेको भन्दै कांग्रेसप्रति आक्रोश समेत पोखे । 

यसअघिको बैठकमा कांग्रेसका सांसदहरु नाराबाजीमा थिए । सभामुखले त्यसबेला नै तल नाराबाजी गरिरहेका सांसद रामहरि खतिवडा, राप्रपा सांसद दीपक सिंहलगायतको नाम लिँदै रोष्ट्रम प्रयोग गर्न भनेका थिए ।

त्यही विषयलाई आज पनि उनले दोहोर्‍याउँदै आफूले बोल्नका लागि रोष्ट्रम पनि उपलब्ध गराएको जिकिर लिए ।

यस्तो छ सभामुख र कांग्रेस सांसदको सवाल–जवाफ (सवाल जवाफमा सभामुख माइकमा बोल्थे भनेविपक्षीतर्फका सांसदको माइक अफ गरिएको थियो)

सभामुख– माननीय सदस्यहरु हामी नियमावली अन्तर्गत नै कार्यक्रमलाई अघि बढाउन गइरहेका छौं । त्यसले गर्दा हाम्रो कार्यव्यवस्था समितिमा पनि परिस्थितिलाई सहज बनाउनका लागि अगाडि लैजाने र यो बीचमा बसेरै छलफलहरु टुंग्याउनका लागि सहयोग पुर्‍याउने कुराहरु भएको पनि माननीय सदस्यहरुलाई जानकारी गराउन चाहन्छु । 

रमेश लेखक– सभामुख महोदय, बसेर छलफल गर्ने कुरा छँदैछ । हाउसमा त बोल्न पाउनुपर्‍यो नि प्रतिपक्षले ।

विश्वप्रकाश शर्मा– सभामुख महोदय, प्रतिपक्ष बोल्नु भनेको परिस्थितिलाई असहज बनाउने भन्ने कोणबाट बुझ्नुहुँदैन । 

सभामुख– माननीय सदस्यहरु आशन ग्रहण गरौं । म नियमित कारबाहीलाई अघि लानको लागि सहयोग गरिदिनुहुन माननीय सदस्यहरुलाई अनुरोध गर्दछु । 

सांसदहरु– बोल्न पाउनुपर्‍यो भन्दै होहल्ला । 

विश्वप्रकाश शर्मा– प्रतिपक्षले जनताको कुरा राख्न चाहँदा बोल्न नदिएर कस्तो नजिर बसाउन चाहँदै हुनुहुन्छ सभामुख महोदय ? हामी समय चाहन्छौं । 

सभामुख– विषयवस्तुलाई अगाडि लैजान सहयोग गरिदिनुस् ।

रमेश लेखक– प्रतिपक्षलाई सदनमा बोल्न नदिने यो लोकतान्त्रिक अभ्यास होइन सभामुख महोदय । मेरो आग्रह छ, सदनमा बोल्न पाएन भने प्रतिपक्षले बोल्ने कहाँ हो ? 

सभामुख– (रुष्ट हुँदै) माननीय सदस्यहरु सभा नियमअन्तर्गत नै चलाउने हाम्रो कर्तव्य हो । माननीय सदस्यहरुको बोल्न पाउनपर्छ भन्ने मागलाई सभामुखले बोल्न दिएन भनेर प्रचार गर्ने कुरा होइन । बोल्ने वातावरण कसरी अगाडि लैजाने भन्ने कुरामा सत्तापक्ष पनि प्रतिपक्ष पनि त्यतिकै जवाफदेही छ । त्यतिकै जिम्मेवार छ । त्यो जिम्मेवारीका साथ लैजानका लागि म माननीयजीहरुलाई आशन ग्रहणका लागि अनुरोध गर्छु । आसन ग्रहण गरेर वातावरण बनाइदिनुस् । सभा विधिसंगत ढंगबाट बोल्ने छलफल गर्ने निष्कर्ष निकाल्ने हो भन्ने कुरा म माननीयजीहरुलाई अवगत गराउन चाहन्छु । 

रमेश लेखक– बोल्न पाएन भने बोल्न दिएन भन्नै पर्ला नि सभामुख महोदय । प्रतिपक्षले हामीले सदनमा बोल्नै पाएन भन्न नपाइने हो अब ? 

सभामुख–  माननीय सदस्यहरु हामीले यो भन्दा अगाडि यही सत्रमा पटक–पटक बोल्नका लागि आग्रह गरेको कुरालाई पनि म स्मरण गराउन चाहन्छु । तलबाट बोल्दाखेरी नपुग्दा माथि आएर बोल्नुस् भनेको कुरा पनि आग्रह गर्न चाहन्छु । कार्यसूची सम्भावित वितरण गरेको, त्यसपछि आज फाइनल कार्यसूची वितरणमा गरेकोमा आज नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि नाम टिपाउनका लागि आह्वान गरिएकोदेखि लिएर संशोधन हाल्नसम्मका लागि गरिएको छ । 

यी सबै कुरामा माननीयजीहरुको साथ सहयोगका साथ नै यो संसदलाई बहस गर्ने, छलफल गर्ने र निष्कर्षमा पुर्‍याउनका लागि नै नीति तथा कार्यक्रममा छलफल हुने भएकाले अहिले आशन ग्रहण गरेर माननीयजीहरुले समय सदूपयोग गर्ने काममा साथ गर्नुहुनेछ । आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु । 

रमेश लेखक– सम्माननीय सभाामुख महोदय विपक्षी दलले नबोल्दा अनि संसदीय अभ्यास ठीक तरिकाले अघि बढ्छ ? बढ्दैन । यसकारणले विपक्षीले सदनमा आफ्नो कुरा राख्न पाउनुपर्छ । 

सभामुख– माननीय सदस्यहरु यहाँहरुले सभा सञ्चालन गर्न सहयोग गर्नुहुनेछ । समस्या समाधानका लागि कार्यदललाई सहयोग पुर्‍याउनुहुने छ र हामीले अब पूरा गर्नुपर्ने खासगरी यो सत्रमा गर्नैैपर्ने महत्वपूर्ण जिम्मेवारीमा भूमिका निर्वाह गर्नुहुनेछ । भन्ने आशा राखेको छु । विधिसंगत ढंगबाट संसदलाई छलफलको केन्द्र बनाऔं ।  

त्यसपछि पनि कांग्रेसका सांसदहरुले बोल्न माग गरिरहे । 

सभामुखले प्रतिपक्षीको सहयोग नरहेको भन्दै कार्यसूचीबाट कार्यक्रम हटाएर बैठक जेठ १३ गतेसम्मका लागि स्थगित गरे ।  सहकारी वचत अचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गनुपर्ने माग राख्दै केही समययता सदन अवरोध गर्दै आएको छ । 

सत्तापक्षले पेलेर दुई दिन सदनको कारबाही अघि बढाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro