site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

नेपालको संविधानअनुसार २०७४ मा भएको संसदीय निर्वाचनपछि गठित प्रतिनिधि सभाका सभामुखहरूले पदको गरिमा धान्न सकेको देखिएन ।  त्यसयता सभामुख भएका तीनमध्ये  एक जना व्यक्तिगत आचरणका कारण विवादमा परे । बाँकी दुई जना पुरानो पार्टी नेतृत्वको लाचार छायामा सीमित भए । संयोग, २०७४ पछि सिद्धान्ततः संसदीय पद्धतिमा विश्वास नगर्ने कम्युनिस्टहरूमात्रै सभामुख भएका छन् । यसैले संसद्को गरिमाको रक्षा गरिएको त होइन ?

अहिले विपक्षले सहकारी ठगीमा संसदीय छानबिनको माग राखेर संसद् अवरुद्ध बनाउन नारावाजी गर्दैआएको छ । तर, सदनका एक जना सदस्यले पनि विरोध गरेमा संसद्को कामकारबाही अगाडि नबढाउने संसदीय परम्पराको उपेक्षा गर्दै सभामुख देवराध घिमिरेले भने मर्यादापालक प्रयोग गरेर संसद्को बैठक सञ्चालन गर्दैआएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यही क्रममा मंगलवार  सभामुख घिमिरेले विरोधका लागि आफ्नो स्थानबाट उठेर वेलतिर जान लागेका सांसदहरूलाई मर्यादापालक लगाएर छेक्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव प्रस्तुत गर्न दिए । त्यसरी बलजफ्ती गर्दा पनि प्रस्तावको विपक्षमा रहेका ‘हुन्न’ भन्ने नेपाल मजदुर किसान पार्टीका सांसदको अस्तित्व नै अस्वीकार गरिदिए । उनको असहमतिको आवाज संसदीय अभिलेखमा उल्लेदै भएन ।

सम्भवतः संसारमै कुनै लोकतान्त्रिक मुलुकको संसद्मा यस्तो अभ्यास भएको छैन । सभामुखलाई संविधानले नै दलको सदस्यता त्याग्न निर्देश गरेको छ । त्यसको तात्पर्य दलगत संलग्नतासमेत त्याग्नुपर्छ भन्ने नै हो । सभामुखको व्यक्तिगतरूपमा कुनै दल विशेषप्रति झुकाव भए पनि उनले कार्यकर्ताको हैसियतबाट माथि उठ्नुपर्छ ।

सभामुख घिमिरेले सुरु गरेको मर्यादापालक लगाएर संसद्को कामकारबाही अगाडि बढाउने र साना दलका सदस्यको अस्तित्व नै निषेध गर्ने अभ्यासले संसद्को गरिमा खण्डित भएको छ भने सभामुख पदकै पनि मर्यादा घटेको छ । घिमिरेले सुरु गरेको यो अभ्यास परम्परा बन्न पुग्यो भने नेपालको संसदीय लोकतन्त्र भविष्य कस्तो होला ? 

नेपालको संविधानले प्रतिनिधि सभाको सभामुख पदलाई  संसदीय पद्धतिकी जननी मानिने बेलायतको संसद्को तल्लो सदन ‘हाउस अफ् कमन्स’का ‘स्पिकर’लाई भन्दा बढी महत्त्व दिएको छ । नेपालका सभामुख प्रधान न्यायाधीशलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्को पदेन सदस्य हुन्छन् ।

सम्भवतः सभामुखको चयन दलगत भागबन्डाका आधारमा हुने र पार्टी विशेषका नेताहरूले योग्य व्यक्तिभन्दा आफूप्रति निष्ठावान् व्यक्तिलाई अगाडि सार्ने गरेकाले  सभामुख पदको गरिमा घटेको हो । संसदीय लोकतन्त्रका लागि यो शुभ सङ्केत होइन । संस्थाको साख र गरिमा त्यसको प्रतिनिधित्व गर्ने व्यक्तिको भूमिकामा भर पर्छ भन्ने हेक्का रहोस् । 
 
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्