नेपाली चलचित्र उद्योगमा गुणस्तरका विषयमा टिप्पणी गरिरहने निर्देशक हुन्, नवीन सुब्बा । ‘खांग्री’, ‘नुमाफुङ’जस्ता चलचित्र बनाएर उनले नेपाली सिनेमामा मौलिक कथा र कथ्यशैली भित्र्याएका छन् । नेपाली चलचित्रले आफ्नो धरातल बिर्सने गरेको नवीनले टिप्पणी गर्दै आएका छन् । नाटकबाट आएका कलाकारले सिनेमाको अभिनय बिगारे भनेर टिप्पणी गर्ने उनी एक्लो निर्देशक हुन् । ‘नुमाफुङ’पछि उनले ‘गुडबाई काठमाडौं’ निर्देशन गरे । त्यो चलचित्र स्वेदशी बजारमा प्रदर्शनमा आएको छैन । उनले निर्देशन गरेको अर्को चलचित्र ‘गाउँ आएको बाटो’ अहिले प्रदर्शनको तयारीमा छ ।
टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङलगायत प्रसिद्ध महोत्सवमा सहभागिता जनाइसकेको छ । आउँदो साता कोलम्बोमा यसको प्रिमियर गरिँदै छ । उनै निर्देशक नवीनलाई विभिन्न प्रश्न गरेका छौँ । निर्देशक नवीनसँग बाह्रखरीकर्मी नरेश फुयाँलले गरेको कुराकानीको सम्पादित अंश :
दशकअघि बनाएको भन्दा अहिलेको चलचित्र पहिला रिलिज गर्न लाग्नुभयो, किन ?
तपाईंले संकेत गरेको सिनेमा ‘गुडबाई काठमाडौं’ नै होला । त्यसमा केही केही लजिस्टिक समस्या थियो । टेक्निकल समस्याका कारण हामीले रिलिज गर्न सकेनौँ । ‘गाउँ आएको बाटो’को वितरणमा बाँसुरी फिल्म्स आयो । घरेलु दर्शकमा पनि जान सकिन्छ भन्ने स्ट्रेन्थ बलियो भएकाले पनि हामी यो चलचित्र लिएर आउन लागेका हौँ । अर्को कुरा, यो चलचित्र सामुदायिक लगानीमा बनेकाले समुदाय नै रिलिजका लागि अग्रसर भयो । त्यसैले पनि यो चलचित्र रिलिज गर्न सहज भयो ।
‘गुडबाई काठमाडौं’ अपेक्षित राम्रो नहुनु रिलिज रोकिनुको मुख्य कारण हो भन्ने टिप्पणी छ नि ?
त्यस्तो होइन । ‘गुडबाई काठमाडौं’मा मैले एक्सपेरिमेन्ट पनि गरेको थिएँ । तीनवटा कथा छन् । ती तीनवटा कथा एकार्कासँग इन्टरलिंक छैन । टाइम र स्पेस मात्रै उनीहरूले आपसमा सेयर गर्छन् । त्यसैले यो चलचित्र लिमिटेड अडियन्समा मात्रै रिलिज गर्ने भन्ने तयारी छ । त्यसैले यो सिनेमा (गाउँ आएको बाटो)जस्तो लार्ज स्केलमा लगानी हुँदैन ।
तपाईं देशभन्दा विदेशका धेरै चलचित्र हेर्ने र त्यसबाट प्रभावित मेकर, पब्लिसिटीको तरिका त अरूको भन्दा खासै फरक देखिएन नि ?
हामी योपटक धेरै एक्सपेरिमेन्ट गर्ने पक्षमा छैनौँ । केही नयाँ कुरा आउँछ, तर धेरै होइन । त्यति धेरै फरक खासै गर्ने पक्षमा छैनौँ । चलचित्रसँग सम्बन्धित केही कुरा हुन्छ । योपटक परम्परागत प्रचारशैलीमा जाने हो ।
नयाँ ‘आइडिया’ भएन कि ‘रिस्क’ मोल्न चाहनु भएन ?
यहाँ बजेटको कुरा पनि आउँछ । हामीसँग नयाँ योजना नै नभएको होइन, योजना थिए र छन् पनि । तर, खर्चालु आइडिया भए । त्यसैले योजना हुँदाहुँदै पनि गर्न नचाहेकै हो । केही नयाँ तरिकाले पब्लिसिटी भने हुन्छ । केही दिनबाटै गर्दै छौँ ।
नवीन सुब्बा नेपाली सिनेमामा यो भएन/त्यो भएन भनेर आलोचना गरिरहने, चलचित्र यस्तो हुनुपर्छ भनेर पढाउँदै/सिकाउँदै हिँड्ने मेकर, ‘गाउँ आएको बाटो’ कमजोरीबाट मुक्त होला नि !
यो चलचित्र जसरी ग्लोबल्ली गयो र स्वीकार्य भयो, त्यहाँ भएको मूल्यांकनले यो चलचित्रले नेपाली सिनेमालाई एक स्तर माथि उठाउँछ नै । यति भनिरहँदा यसको लिमिटेसन नभएको भने होइन । हामीले धेरै कुरा गर्न सक्थ्यौँ, तर गर्न सकेनौँ । यद्यपि, सिनेमाको भाषा निर्माणमा काम भएको छ । हाम्रो खोज ग्लोबल अडियन्स र लोकल अडियन्सलाई जोड्ने चलचित्रको भाषा खोजौँ भन्ने हो । यो रूपमा हामी सजिलै भन्न सक्छौँ कि यति काम ‘गाउँ आएको बाटो’मा भएको छ । तर, लिमिटेसन नभएको अवस्थामा योभन्दा धेरै काम गर्न सकिन्थ्यो ।
केको सीमितता (अभाव) थियो ?
मुख्य कुरा त बजेट नै हो नि ! चलचित्रलाई चाहिने बजेट छैन । चलचित्रलाई चाहिने टेक्नोलोजी र जनशक्ति छैन । यसले स्वाभाविक रूपमा सीमितता लिएर आउँछ । यसको उदाहरणका रूपमा नयाँ जनशक्ति निर्माण गरेर उपयोग गरेका छौँ । यसको आर्ट डिरेक्टर, कस्ट्युम डिरेक्टर, प्रप्स डिपार्टमेन्टको हेड हामीले आफैँ ट्रेन्ड गरेका हौँ । सिनेमेटोग्राफर नै हामीले सुरुमा बाहिरबाट ल्याएका थियौँ । तर, क्रिएटिभ डिफरेन्सेस भएपछि हामीले अर्को सिनेमेटोग्राफर हायर गर्यौँ ।
यसअर्थमा हाम्रो यो टिमले नेपाली चलचित्र उद्योगलाई केही दक्ष जनशक्ति दिएका छौँ । यसअघि पनि हामीले नै नेपाली चलचित्रमा कास्टिङ डिरेक्टर हायर गर्ने र वर्कसप गर्ने परम्पराको सुरुआत गरेका हौँ ।
यो चलचित्रमा पनि हामीले डाइलग डिरेक्टर राखेका छौँ । यो चलचित्रमा हामीले टेक्स्ट एनलाइसिसलाई उपयोग गरेका छौँ । टेक्स्ट एनलाइसिसको जुन मेथोर्ड छ, यो सिनेमामा पहिलोपटक प्रयोग भएको छ ।
टेक्स्ट एनलाइसिस मेथोड भनेको के हो ?
यो बुझाउन अलि कठिन होला । अभिनय गर्दा इन्टरेक्टिभ र अर्को एक्टरेक्टिभ हुन्छ । एक्टरेक्टिभ भनेको भने ऊ कसरी हिँड्छ, कस्तो देखिन्छ, कस्तो हाउभाउ हुन्छ भन्ने हो । इन्टरेक्टिभ भनेको उसको मनोविज्ञान, मानसिकता हो । उसको विश्वास, पद्धति र दृष्टिकोण भने टेक्स्ट अर्थात् स्क्रिप्टले निर्धारण गर्छ । हाम्रोमा स्क्रिप्टभित्र होइन, स्क्रिप्टबाहिर रहेर अभिनय गर्ने चलन छ । अब्जरभेसन गर्न जाने, चरित्र निर्माण गर्ने भन्ने छ, तर हुनुपर्ने स्क्रिप्टभित्रबाट हो । स्क्रिप्टभित्र डटहरू हुन्छन् र त्यही डटको कनेक्सनबाट चरित्र निर्माण गर्ने हो । डटको कनेक्सनबाट त्यसको आर्ट खोज्ने हो, कलर डिजाइन गर्ने हो । निर्देशकलाई मैले यो बुझेँ, यो पाएँ, त्यसैले यो गरेँ भनेर कलाकारले भनेर हुँदैन । यो कुरा दयाहाङ राईले पहिलोपटक प्रयोग गर्नुभएको छ । दयाहाङले यो सिनेमामा मेरो फरक अनुभव छ भनेर भन्नुको कारण पनि यही नै हो । मेरो अभिनय सिफ्ट छ भनेर भन्नुको कारण पनि यही नै हो । उहाँको अभिनय अब्बल नै त होइन, तर सिफ्ट छ । हाम्रो काममा पनि सिफ्ट छ । मेरो काममा पनि सिफ्ट छ । हामीले जुन मेथोड यसमा प्रयोग गरेका छौँ, त्यसले काम राम्रो भएको छ ।
वर्ल्ड सिनेमा हेरेर टिप्पणी गर्न र आफैँ सेटमा पुगेर बनाउन कुन कठिन ?
भएन भन्ने कुरालाई आफैँ जवाफ दिने प्रयास कति गरियो भन्ने पक्ष महत्त्वपूण हो । मैले कस्ट्युम डिजाइनर छैन भनेको थिएँ, नौ महिना लगाएर आफैँ कस्ट्युम डिजाइनर तयार गरेँ । आर्ट डिपार्टमेन्टमा पनि हामीले त्यो काम गर्यौँ । मेकअपमा भने हामी आफैँले ट्रेन्ड गर्न सकेनौँ । तपाईंले डिटेलमा हेर्नुभयो भने सडक आउनुअगाडि र पछाडिको आर्टमा फरक पाउनुहुनेछ । त्यो ट्रान्सफर्मेसन सडकले ल्याउने ट्रान्फर्मेसन हो । उनीहरूको जीनव पद्धति र रहनसहनमा आएको परिवर्तनमा पनि हामीले काम गरेका छौँ । कलरमा आएको परिवर्तनमा पनि हामीले काम गरेका छौँ । सडक आउनुभन्दा अगाडिको रुचि र सडक आइसकेपछिको रुचिको लेयरमा पनि हाम्रो आर्ट डिपार्टले काम गरेको छ ।
आर्टको कुरा गर्दा राईहरूका म्युजिकको कति प्रभाव छ, लुगामा राईहरूको म्युजिकको कति प्रभाव छ, मुन्धुममा नै कति प्रभाव परेको छ भनेर लेयर छुट्टिने गरी काम भएको छ । यो पनि उनीहरूले टेक्स्ट एनलाइसिसभित्र बसेर काम गरेका छन् ।
रकम कम हुँदा पनि गर्न सकिने अथवा पैसा नहुँदा गर्न सक्ने काम मैले गरेको छु । बजेट पर्याप्त भएको भए मैले चाहेजस्तै इकुप्मेन्ट प्रयोग गर्थेँ होला । मैले चाहेजस्तै जनशक्ति हायर गर्थेँ होला । तर, मैले जे कुरामा आलोचना गरिरहेको हुन्छु, त्यो गल्ती म आफू नदोहोर्याऊँ भनेर काम गरेको छु । मैले आलोचना गर्नुको कारण त्यसमा मैले आफैँले आफूलाई तिखारिराखौँ भन्ने पनि त हो । आलोचना गर्ने तर त्यही कमजोरी आफैँले गर्ने सुविधा मलाई छैन ।
तपाईंले स–सानो डिटेलिङको कुरा गर्नुभयो, त्यो दर्शकले झट्ट हेर्दा नोटिस गर्छन् ?
यो त अनुभूत गर्ने कुरा हो । चलचित्र हेर्दा बुझ्ने त कथा मात्रै हो । त्यो कथा बुझ्नलाई कति प्रयोग निर्देशकले गरेको छ भन्ने कुरा हो । यो निर्देशकले यहाँ यति प्रयोग गरेछ भनेर दर्शकले हेर्दैनन् । त्यसरी हेरियो भने सिनेमाको कथाबाट बाहिर निस्किन्छ । जस्तै, कथाको इमोसनभन्दा ल्यान्डस्केप खिचेछ भनेर कसैले भन्छ भने पनि त्यहाँ क्यारेक्टर त हुन्छ । कसैले क्यारेक्टर नदेखेर ल्यान्डस्केप देख्न थाल्यो भने त्यहाँ समस्या हुन्छ । त्यसैले त्यो ल्यान्डस्केप, आर्ट, प्रप्सले कथा बुझाइको अनुभूतिलाई तीक्ष्ण बनाइदिने हो । त्यो काम दर्शकले बुझ्नैपर्छ भन्ने छैन । त्यो काम नबुझ्दा पनि दर्शकको इमोसनमा प्रभाव ल्याइरहेको हुन्छ ।
दुई दशक अरूलाई ‘गाली’ गर्नुभयो, अब गाली सुन्ने पालो तपाईंको हो, कि आत्मविश्वास छ तालीको ?
यसमा के समस्या भयो र ! सबै स्वतन्त्र हुनुहुन्छ । मेरो आलोचना गर्नु हुँदैन, म आलोचनाभन्दा माथि छु भन्ने होइन । मबाट गल्ती नै नहुने भन्ने होइन । आलोचना र गल्तीको भागीदार म पनि हुनुपर्छ । मैले भनेजस्तो काम गर्न सकिनँ भने टिप्पणी, आलोचना त स्वाभाविक रूपमा आउँछ नै । म यसलाई स्वाभाविक रूपमा लिन्छु ।
तर, ग्लोबल्ली नै यति धेरै एक्सेप्ट गरिएको चलचित्र हो– गाउँ आएको बाटो । अर्को हप्ता कोलम्बोमा प्रदर्शन हुँदै छ । अहिलेसम्म २२ वटा फेस्टिभलमा गइसक्यो । अझै जाँदै छ भने त्यत्तिकै फेस्टिभलमा गएको होइन होला । आलोचना गर्ने, समीक्षा गर्नेहरूले र बुझ्न चाहनेहरूले किन यति धेरै प्रतिष्ठित फेस्टिभलमा गयो भनेरचाहिँ हेर्नुपर्छ होला ।
आलोचना गर्नकै लागि गर्ने हो भने त गर्न सकिहालिन्छ । म जे पनि आलोचना गर्न सक्छु नि ! तर, सत्यतथ्यभित्र बसेर आलोचना गर्नुपर्छ । त्यस्तो आलोचना सबैले स्वीकार गर्नुपर्छ ।
कुरा रह्यो डरको, मलाई कुनै डर छैन । मलाई लागेको काम गरेको हुँ । हिजो पनि मलाई लागेको कुरा बोलेको हो, अहिले पनि बोलिरहेको छु । स्वस्थ आलोचनाले व्यक्तिलाई झन् तिखार्छ । हामीले बारम्बार कराएर, टिप्पणी गरेर, यो वा त्यो भएन, यसो गर्नुपर्यो भनेर यो चलचित्र उद्योग यहाँसम्म आइपुगेको हो ।
चलचित्रको विकास केलाई मान्ने त्यो भने बुझाइअनुसार होला । कसैले सिनेमालाई धेरै चल्नु भन्लान्, कसैले राम्रो समीक्षा आउनुलाई विकास भन्छन् होला । कसैले धेरै संख्यामा बन्नुलाई विकास भन्लान् । तर, अन्ततः चलचित्र कला हो । कला कति अब्बल छ, कला कति मान्छेको मन छुने गरी भएको छ त्यसले मुख्य रूपमा अर्थ राख्छ भन्ने लाग्छ ।
इन्टरनेसनल फिल्म फेस्टिभलमा रुचाइएका चलचित्र नेपाली दर्शकले त्यति मन पराएको विगत छैन । त्यो डर कत्तिको छ ?
यो भाष्य कसरी निर्माण भइरहेको छ भन्ने हो । नेपालबाट फेस्टिभलमा कति नै सिनेमा गएका छन् र ? कुन चलचित्र चलेन ? ‘द रेड सुटकेस’ हो ? हो भने सात/आठवटा चलचित्र फेस्टिभलमा जाँदा एउटा चलचित्र चलेन भन्दैमा इन्टरनेसनल फेस्टिभलमा गएका चलचित्र चलेनन् भनेर भन्न मिल्छ ? ‘नुमाफुङ’ चलेकै हो । ‘कालो पोथी’ चल्यो । ‘सेतो सूर्य’ र ‘ऐना झ्यालको पुतली’ पनि ठिकठाक चलेकै हो ।
घरेलु बजारकै लागि भनेर बनाइएका ९५ प्रतिशत चलचित्र चलेका छैनन् । तर, त्यहाँ त प्रश्न उठ्दैन, किन यता मात्रै प्रश्न उठ्छ ? यो प्रश्न आउँदा कतै मलाई व्यक्तिगत रूपमा आक्रमण त भइरहेको छैन भन्ने पनि लाग्छ । अथवा, ठूला फेस्टिभलमा गएका सिनेमाले यहाँ रेकर्ड ब्रेकिङ कलेक्सन गर्नैपर्छ भन्ने हो भने त्यसलाई हामी सद्भावकै रूपमा लिन्छौँ ।
फेस्टिभलमा गएका सिनेमाले रेकर्ड ब्रेक कलेक्सन नगरेको सत्य नै हो, यसको भेद के हो ?
मेरो सिनेमा दर्शकले बुझेनन् अथवा बुझ्दैनन् भन्ने पक्षमा म छैन । कोही मेकरले पनि यो भन्न मिल्दैन । अरूले नबुझ्ने चलचित्र किन बनाउनु ? आफ्नै लागि मात्रै बनाएको हो भने आफैँले हेरेर बसे भयो त ! किन हलमा लगाउनु ? किन बुझेनन् भनेर गुनासो गर्नु ?
‘द रेड सुटकेस’ धेरै चलेन होला, यसको पनि कारण छ । दर्शक सेक्टराइज छ । ‘बोक्सीको घर’ र ‘महाजात्रा’ एउटै दर्शकले हेरेको सिनेमा होइन । फरक–फरक दर्शकले हेरेका चलचित्र हुन् यी । ‘द रेड सुटकेस’ वाइडर रिलिजमा नगएर स्पेसिफिक रिलिजमा गएको भए यो फिल्म राम्रै चल्थ्यो ।
स्पेसिफिक रिलिजमा ह्युज कलेसक्न त हुँदैन नि !
किन हुँदैन ? हलिउडमा सिनेमाअनुसारको रिलिज हुन्छ । ‘वान्स अपन अ टाइम इन हलिउड’ नै स्पेसिफिक रिलिज भएको चलचित्र हो । हलिउडमा यस्ता चलचित्रको छुट्टै वितरण प्रणाली छ । उनीहरूले राम्रो कलेक्सन गरिरहेका छन् ।
हामीले योपटक किन वाइडर रिलिज गर्न लागेका हौँ भने यो सिनेमा आमदर्शकले मन पराउनुहुन्छ भनेर हो । ‘गुडबाई काठमाडौं’ मैले वाइडर रिलिज किन गरिनँ भने स्पेसिफिक रिलिज गर्दै छु, मलाई यो सिनेमा सबै दर्शकका लागि हो भन्ने लागेन । सर्टेन दर्शकका लागि मात्रै हो भन्ने मेरो निष्कर्ष हो । सबै दर्शकका लागि एकैखालको चलचित्र मन पर्छ भन्ने छैन । मेरै चलचित्र ‘गाउँ आएको बाटो’ लभस्टोरी सिनेमा मन पराउने दर्शकलाई होइन होला ।
हरेक चलचित्रका आ–आफ्नै दर्शक छ । ‘मनसरा’ अहिले पनि पूर्वमा हाउसफुल चलिरहेको छ । त्यो पछि आएका चलचित्र निस्किसक्दा पनि ‘मनसरा’ त चलिरहेको छ । यसको अर्थ सिनेमाका दर्शक विषयानुसार आउँछन् । सबै चलचित्रले सबै दर्शकलाई तान्नुपर्छ भन्ने छैन । त्यो सम्भव पनि छैन । ठूलो लभटोरी सिनेमा सिनेफिलहरूले मन पराउँछन् भन्ने छैन । तर, ती पनि त दर्शक हुन् ।
‘गाउँ आएको बाटो’ सडक गाउँमा पुगेपछि परम्परागत र नयाँ सपनाबीचको द्वन्द्व हो कि बाबुले छोरालाई गर्ने प्रेमको कथा ?
सडकले बाउछोराको सम्बन्धमा पार्ने प्रभावको कथा हो । सडकले सपनाहरू लिएर आउँछन् । सडकले सपना मात्रै होइन, दुःख पनि लिएर आउँछन् । त्योसँग बाउले गर्ने संघर्षको कथा हो । सडकले छोराका सपनाहरू बढाइदिन्छ, बाउको पनि सपना हुन्छ । त्यो सपना प्राप्त गर्न बाउले गर्ने संघर्षको कथा हो ।
यो सिनेमाको टिजरमा दयाहाङको ओठ, मुख सुकेको अवस्थाको स्वर सुनिएको छ, कत्तिको कठिन थियो त्यो अभिनय निकाल्दाको क्षण ?
दयाहाङले मलाई यो चलचित्रका लागि समय दिएकै हो । उहाँको मैले आलोचना पनि गरिरहेको थिएँ । तर, उहाँको क्षमतामा मलाई विश्वास थियो । ‘दलन’मा काम गर्दा नै उहाँको डेडिकेसन र क्षमतामाथि मलाई विश्वास थियो । यसपटक हामीले मजाले काम गर्यौँ । भाषा निर्माणमा मात्रै दयाहाङले एक महिना खर्चिनुभएको छ । तर, यही समय उहाँले अरू काम पनि गर्नुभएको छ ।
हातमा रफनेस बनाउन १५ दिन त उहाँले डोको मात्रै बुनेर बस्नुभयो । यी कुरामा हामीले बहस गर्यौँ । कति एक्टर स–सना कुरामा बहस गर्नुहुन्छ भन्ने हो । म हाम्रो चरित्रमा हातमा रफनेस हुनुपर्छ भन्थेँ । दया ४०औँ वर्ष काम गरेको हात यति निपुर्ण भइसकेको हुन्छ, चोयाले काट्दै काट्दैन भन्ने तर्क गर्नुहुन्थ्यो । यसरी डिभेट गरेर कतिले काम गर्नुहुन्छ ? तर, यसमा दयाहाङले मिहिनेत गर्नुभयो ।
गुनासो गरेजस्तो मात्रै हुन्छ, हाम्रो चलचित्रमा हात काटेको दृश्य देखाउनुपर्यो भने त्यो तहको मेकअप हुन्छ ? हुँदैन । दक्ष जनशक्तिको अभावमा हामी काम गरिरहेका छौँ । त्यसभित्रबाट काम निकाल्ने हो । दयाहाङमा सेन्सिबिलिटी र तीक्ष्णताचाहिँ गज्जबको रहेको छ । हामीले उहाँको रिपिटेसन हेर्दा कपडा मिलाउने पनि एउटा थियो । ननएक्टरसँगको सिन थियो, दयाहाङले लुगा तान्न थाल्नुभयो । मैले उहाँलाई ‘दया, के गरेको ?’ भनेँ, उहाँले ‘सरी दाइ, मैले थाहा पाएँ’ भन्नुभयो । ननएक्टरसँग र्यापो नमिलेपछि अनायासै हात लुगा मिलाउन पुग्दा रहेछन् । तर, ‘के गरेको ?’ भन्नेबित्तिकै उहाँले थाहा पाउनुभयो । यसरी काम गर्दा पनि उहाँमा चिढचिढाहटपन देखिनँ । यो तहमा काम गर्न सकिने रहेछ भन्ने हो ।