site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
जेठ १० : अनमोल भर्सेस प्रदीप, स्वाभाविक कि अस्वाभाविक ?

काठमाडौं । एउटै मितिमा बक्स अफिसमा अपेक्षा गरिएका दुईवटा चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ रिलिज हुँदै छन् । ‘फर्की फर्की’मा अनमोल केसी मुख्य भूमिकामा छन् । ‘पुजार सार्की’ मल्टी स्टारर सिनेमा हो । यसमा प्रदीप खड्का, आर्यन सिक्देल र पल शाह छन् ।

‘फर्की फर्की’लाई सुयोग गुरुङ र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । यी दुवै चलचित्र जेठ १० गते रिलिज हुँदै छन् । धेरैले ‘फर्की फर्की’ र ‘पुजार सार्की’को भिडन्तलाई नेपाली बक्स अफिसमा अनमोल र प्रदीपको प्रतिस्पर्धाका रूपमा हेरेका छन् ।

अनमोल र प्रदीपलाई नेपाली सिनेमा उद्योगमा एकअर्काको प्रतिस्पर्धीका रूपमा हेरिन्छ । त्यसैले पनि उनीहरूका सिनेमा एकैदिन आउनुलाई धेरैले प्रतिस्पर्धा भन्ने गरेका छन् । तर, अनमोल र प्रदीप दुवैले सिनेमाको रिलिज डेटका विषयमा आफ्नो हात नहुने बताइसकेका छन् । 

Dabur Nepal
NIC Asia

व्यवहारिकरूपमा पनि रिलिज डेट तय हुनुमा कलाकारको भूमिका हुँदैन । यसमा निर्माता र वितरकको भूमिका हुन्छ । सेयरमा नबसेको हकमा निर्देशकको पनि प्रदर्शन मितिमा खासै भूमिका हुन्न । सामान्य सुझाव दिनुबाहेक निर्देशकले चाहँदैमा रिलिज डेट तय हुँदैन, निर्माताभन्दा निर्देशक नै हाबी भएको प्रोजेक्ट रहेको अवस्थामा भने बेग्लै कुरा हो ।

जेठ १० कै सन्दर्भमा पनि ‘पुजार सार्की’ यो मितिमा आउनुमा आफ्नो भूमिका नरहेको दिनेश राउतले यसअघि नै बाह्रखरीसँग बताइसकेका छन् ।

जे होस्, युवा पुस्ताका दर्शकमाझ राम्रो क्रेज रहेका भनिएका अनमोल र प्रदीपका सिनेमा एकैदिन रिलिज हुँदै छन् । एकैदिन दुई ठूला सिनेमा आउँदा यसको असर बक्स अफिसमा पर्छ कि पर्दैन भन्ने प्रश्नमा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारीले यसअघि नै बाह्रखरीसँग भनेका थिए, "अरूलाई त असर नगर्ला, निर्मातालाई त केही न केही मात्रामा असर गर्छ ।"

दुई/तीनवटा सिनेमा एकैदिन रिलिज अनौठो नभए पनि व्यापारमा भने केही असर गर्ने उनले बताएका थिए । "दुई/तीनवटा सिनेमा एकैदिन रिलिज हुने अनौठो भएन । तर, सिनेमाको व्यापारमा त असर गर्छ," रोहितले भनेका थिए ।  

उनले सिनेमा एउटै मितिमा आएभन्दा पनि किन ल्याइयो भन्ने विषयले अर्थ राख्ने बताउँदै आएका छन् ।

नेपाली चलचित्र उद्योगमा एउटाको सिनेमा रिलिज गर्ने तय गरेको मितिमा अर्को ल्याएर जुधाउनु समस्या नै हो । सिनेमा त जुध्छ नै; पोस्टर, टिजर र ट्रेलरसमेत एकैदिन रिलिज गरिन्छ । यो कहीँ कतै संयोग भए पनि धेरैको हकमा भने ‘नियत’ नै हो । यसले नेपाली चलचित्र उद्योगमा एकता नरहेको पुष्टि गर्छ ।  

किन चलचित्र जुधाइन्छ ? त्यो मेकरअनुसार फरक–फकर कारण होला । तर, दुईवटा चलचित्र एकै दिन रिलिज हुँदा पनि अहिले निर्मातालाई त्यति धेरै ठूलो असर पर्दैन । कारण, अहिले मल्टिप्लेक्सको संख्या उच्च छ । मल्टिप्लेक्सको संख्या उच्च भएकाले दुईवटा ठूला सिनेमा रिलिज हुँदा पनि बक्स अफिस कलेक्सनमा त्यति धेरै असर गर्दैन । त्यसमा पनि सिनेमा रिलिज भएको हप्तादेखि नउत्रिँदासम्म प्रदर्शक (सिनेमा हल) र निर्माताले बराबरी अर्थात् ५०/५० प्रतिशत सेयर बाँडफाँट हुने भएकाले पहिलो हप्ता नचलेर त्यसपछिका हप्तामा चल्दा पनि निर्मातालाई असर गर्दैन ।

दोस्रो हप्तादेखि निर्माताको सेयर घट्दै जाने र प्रदर्शकको सेयर बढ्दा भने सिनेमा प्रदर्शनमा जुध्दा असर गर्थ्यो । निश्चल बस्नेतको निर्देशन रहेको चलचित्र ‘दिमाग खराब’देखि प्रदर्शक र वितरकले सिनेमा प्रर्दशन अवधिभर ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने सहमति गरेका थिए । यो निर्णयसँगै निर्मातालाई ठूलो राहत मिलेको छ ।

चलचित्र विकास बोर्डका अनुसार अहिले प्रदर्शनरत सिनेमा ‘महाजात्रा’ १२८ वटा स्क्रिनमा एकैपटक चलेको बक्स अफिसमा रिपोर्ट आएको थियो । बक्स अफिसको तथ्यांकअनुसार ‘बोक्सीको घर’ ११३ वटा हलमा चलेको छ । यी सिनेमा सँगै अन्य चलचित्र पनि रिलिज भएकाले स्क्रिन संख्या अझै धेरै छ ।

बोर्डका अनुसार शो पाएर क्यान्सिल भएका र बक्सफिसको सर्भरमा नजोडिएका स्क्रिनको तथ्यांक पनि आउँदैन । यसबाहेक सिंगल थिएटरको संख्या र स्क्रिन अलग्गै छ । यो तथ्यांकले पनि कम्तीमा दुईटासम्म सिनेमा एकैदिन रिलिज हुँदा शो संख्या अपुग नहुने देखाउँछ । 

बोर्डको तथ्यांकअनुसार हाल नेपालमा १६६ वटा सिनेमा हल छन् । हालसम्म लाइसेन्स लिएका, सञ्चालनमा आएर बन्द भइसकेका र चलिरहेका गरी नेपालमा ४४७ वटा सिनेमा हलले लाइसेन्स लिएको तथ्यांक छ । तर, कति स्क्रिन छन् भन्ने यकिन तथ्यांक बोर्डसँग पनि छैन ।  

एकैदिन ठूला ब्यानरका दुईवटा नेपाली सिनेमा रिलिज हुँदा असर नगरे पनि सोही दिन बलिउड र हलिउडका सिनेमा आएमा भने प्रभाव पर्छ । बलिउड र हलिउडका ठूलो हाइप भएका सिनेमासँग नेपाली चलचित्रले प्रतिस्पर्धा गर्नुपरेमा भने शो पर्याप्त निस्किँदैन । जसको प्रभाव नेपाली निर्माताले भोग्नुपर्छ । 

तर, बलिउड र हलिउडका चलचित्रको रिलिज क्यालेन्डर हेरेर मात्रै नेपाली निर्माताले रिलिज डेट लिने गरेका छन् । पछिल्लो समय साउथ इन्डियन सिनेमाले समेत नेपाली चलचित्रको रिलिज डेट प्रभावित पार्ने गरेका छन् । 

०७९ फागुन १९ गते चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ एकैदिन रिलिज भएका थिए । ‘बक्स अफिस’मा यी दुवै चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गर्दै धेरैले एकैदिन नआउन सुझाव दिएका थिए । तर, यी दुवै चलचित्र एकैदिन प्रदर्शनमा आए । धेरैले अनमोलले अथवा दीपकराज गिरीको समूहको स्टारडमले काम गर्छ भनेर हेरेका थिए । सामाजिक सञ्जालका प्रयोगकर्ता दीपक र अनमोलको पक्षमा गरी दुई खेमामा विभाजित भएका थिए । तर, हल र स्क्रिन संख्या उच्च भएकाले हलले दुवै चलचित्रलाई राम्रो शो उपलब्ध गराएका थिए ।

पहिलो दिनदेखि नै ‘छड्के–२’ले राम्रो व्यापार गरेन भने ‘छक्का पञ्जा–४’ले आकर्षक कमाइ गरेको थियो । शो दिँदा पनि दर्शक नआएर ‘छड्के–२’को शो क्यान्सिल गर्नुपरेको थियो । यस्तो अवस्थामा दुवै चलचित्रमा शो हाउसफुल भएर दर्शक सिट नपाएर फर्किनुपरेको अवस्थामा भने निर्माताले घाटा बेहोर्नुपर्छ । दोस्रो वा तेस्रो हप्तादेखि निर्माताको सेयर घट्दा पनि निर्मातालाई घाटा हुन्छ । तर, अहिले यी दुवै अवस्था छैन । 

दुई वा सोभन्दा बढी चलचित्र एकैदिन रिलिज हुनु आफैँमा अस्वाभाविक होइन । कुनै विधान वा ऐनमा सिनेमा जुधाउन नहुने उल्लेख पनि छैन । 

प्रतिस्पर्धा खुला बजारको सौन्दर्य पनि हो । स्वस्थ प्रतिस्पर्धाले गुणस्तरीय सामग्री उत्पादन, वितरण र उपभोगलाई प्रश्रय दिन्छ । त्यसैले स्वस्थ प्रतिस्पर्धालाई अस्वाभाविकरूपमा लिन हुँदैन । सिनेमा पनि कलाको व्यवसाय भएकाले यसमा प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन । प्रतिस्पर्धी बजारमा जसले गुणस्तरीय सामान उत्पादन गर्छ, त्यही नै बजारमा टिक्छ । त्यसैले सिनेमाको गुणस्तर बढाउन पनि प्रतिस्पर्धा स्वाभाविकमात्रै होइन, आवश्यकता पनि हो ।

सम्बन्धित समाचार

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro