site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पुजार सार्की’को ट्रेलरमा आकर्षण, ‘फर्की फर्की’मा स्टारडमको प्रभाव 

काठमाडौं । एकैदिन रिलिजको तयारी गरिएका नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ दुवैको बलियो सम्भावना देखिएको छ । ‘पुजार सार्की’को ट्रेलरले सम्भावना देखाएको हो । ‘फर्की फर्की’मा स्टारडम देखिएको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजपछि सिनेमाप्रति दर्शकको अपेक्षा बढाएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्रत्रय प्रदीप खड्का, आर्यन सिक्देल र पल शाह चरित्र अभिनयमा देखिएका छन् । उनीहरूमार्फत निर्देशकले जातीय विभेदको कथा भन्ने प्रयास गरेको ट्रेलरमा देखिएको छ । कथित उचनिच, प्रेम र द्वन्द्व (सामाजिक क्रान्ति) समेटिएको ट्रेलर अपेक्षा जगाउन सफल छ ।

यता, एक वर्षभन्दा धेरै समय कुनै चलचित्रमा काम नगरेका अनमोल केसीको स्टारडम चलचित्र ‘फर्की फर्की’को ट्रेलरमा देखिएको छ । लामो समय सिनेमाका पब्लिसिटी कन्टेनमा खासै आकर्षण नदेखिएको क्रमलाई यसले भंग गरेको छ । ‘फर्की फर्की’को ट्रेलरले २४ घण्टामा १० लाख भ्युज पाएको थियो । तीन हप्तामा ३० लाखभन्दा धेरैले ट्रेलर हेरेको देखिएको छ ।

‘फर्की फर्की’को ट्रेलरमा प्रोडक्सन भ्यालु उच्च देखिएको छ । सामाजिक सञ्जालमा यसको प्रशंसा समेत भइरहेको छ । प्रोडक्सन भ्यालु र अनमोलको ‘क्रेज’का कारण पनि यो सिनेमाले सम्भावना देखाएको छ ।

‘फर्की फर्की’मा अनमोलसँगै जसिता गुरुङ, रभी काफ्ले, समृद्धि अर्याललगायत कलाकार मुख्य भूमिकामा छन् । सुयोग गुरुङ निर्देशित चलचित्रको निर्माता रोहित अधिकारी हुन् ।

प्रदीप, आर्यन र पलसँगै अञ्जना बराइली, परीषा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’ दिनेश राउतले निर्देशन गरेका छन् । सुवास भुसाल यो सिनेमाका निर्माता हुन् ।

कन्टेनले आकर्षण गरेका सबै चलचित्र राम्रा हुन्छन् र दर्शकले मन पराउँछन् भन्ने छैन । यसअघिका उदाहरणले पनि यो पुष्टि गरिसकेको छ । पछिल्लो समय पब्लिसिटी कन्टेन पोस्टर तथा ट्रेलरमा मिहिनेत गर्ने र चरित्र निर्माणमा ध्यान दिने गरिए पनि चलचित्र अपेक्षित हुने गरेका छैनन् ।

‘अगस्त्य च्याप्टर–१’ मा सौगात मल्लको चरित्रमा मिहिनेत देखिएको थियो । तर, सौगातको चरित्रमा मिहिनेत गरिएजस्तो समग्र सिनेमा थिएन । ‘डिग्री माइला’को ट्रेलरले धेरैलाई लोभ्याए पनि चलचित्रले त्यही अनुपातमा दर्शक हलमा तान्न सकेन । दिनेश राउतकै चलचित्र ‘प्रकाश’मा प्रदीप खड्काले आफूलाई भर्सटाइल अभिनेताका रूपमा प्रमाणित गरे । तर, हाइपअनुसार ठूलो संख्यामा सिनेमा हेर्न दर्शक हलमा पुगेनन् ।

तर, पब्लिसिटी कन्टेन गीत, पोस्टर र ट्रेलरमा खासै आकर्षण नदेखिएको ‘महाजात्रा’ले लोभलाग्दो बक्सअफिस कलेक्सन गर्‍यो । गीतबाहेक पब्लिसिटी कन्टेनमा खासै आकर्षण नदेखिएको र राम्रो हाइप बनाउन नसकेको ‘बोक्सीको घर’ले समेत अनपेक्षित बक्सअफिस कलेक्सन गर्‍यो । त्यसैले ट्रेलर वा पोस्टरभन्दा पनि समग्र चलचित्र कस्तो छ, त्यसले व्यापार निर्धारण गर्ने विगतका सिनेमाले पुष्टि गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro