site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहितको शतकप्रेरित नेपाल चार विकेटले विजयी 

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले वेस्ट इन्डिज ‘ए’सँगको पहिलो ट्वान्टी–२० खेलमा चार विकेटको जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

कप्तान रोहितले ११२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । ८२–३ को अवस्थाबाट रोहितले चौथो विकेटका निम्ति दीपेन्द्रसिंह ऐरीसँग ६४ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । दीपेन्द्रले १८ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे ।

१२–१ को अवस्थामा ब्याटिङका लागि आएका रोहित आउट हुँदा नेपालको स्कोर १९२ रन थियो ।

ओपनर कुशल भुर्तेल र कुशल मल्लले समान १६ रन थपे । विवेक यादवले सात र अर्का ओपनर अनिल साहले पाँच रन बनाए । नेपालको जितसम्म अविजित रहेका गुल्सन झाले नौ र प्रतिश जिसीले पाँच रनको योगदान गरे ।

वेस्ट इन्डिजका म्याथ्यु फोर्डे र ओबेड म्याकोयीले समान दुई विकेट लिए । किमो पाउलले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले कप्तान रोस्टन चेजको अर्धशतकमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का कप्तान चेजले ४५ बलमा नौ चौका र दुई छक्कासहित ७४ रन बनाए । चेजले १४६–४ को स्थितीबाट एडिम एलिनेसँग तेस्रो विकेटका निम्ति ५७ रनको साझेदारी गरेका थिए ।

ओपनर एलिक अथानाजेले २५ बलमा पाँच चौका र तीन छक्कासहित ४७ रन थपे । केसी कार्टीले ३८, कडिम एलेयनेले १४ र एन्ड्रे फ्लेचेरले १३ रन बनाए ।

नेपालका कमलसिंह ऐरी, कप्तान पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।

वेस्ट इन्डिज ‘ए’विरुद्ध शनिबार नेपाली टिममा अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीले मौका पाएका थिए । मुख्य प्रशिक्षक मोन्टी देसाईले आसिफ शेख, सोमपाल कामी र करण केसीका स्थानमा यी तीन खेलाडीलाई मौका दिएका हुन् ।

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । अब यी दुई टिमबीचको दोस्रो खेल भोलि (आइतबार) हुनेछ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल आउँदो शनिबार हुने तय छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro