काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे पार्टीको सबै जिम्मेवारीबाट अलग भएकी छन् । आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेकी हुन् ।
राष्ट्रियसभाकाे उपाध्यक्ष पदमा रहँदा संसदीय मर्यादा र परम्परालाई सम्मान गर्नुपर्ने भएकाले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको उनको भनाइ छ ।
घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुन र राष्ट्रियसभा नियमावलीले निर्देशित कामहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन् ।
घिमिरे गत चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी राष्ट्रियसभा सदस्य पदमा नेकपा (एमाले)को तर्फबाट निर्वाचित भएकी थिइन् ।