पोखरा । ‘मनमा राग पराग भए पो नयाँ वर्ष मनाउनु,
भाइरलको प्रकोपले ग्रसित छु, कस्तो खुशी जनाउनु,
अर्को वर्ष बाँचिएछ भने तीनदिन अघि माया साटौँला,
त्यतिबेला यशस्वी कटेजलाई कटेज जस्तै बनाउनु ।’
० ० ०
सायद उनले सोचेका थिएनन् होला, यो अन्तिम गजल हुनेछ । नयाँ सालको पहिलो दिनमा गजल लेख्दै उनले भनेका थिए, ‘अर्को वर्ष तीन अगाडि नै भेटौँला ।’
तर, यो गजल लेखेको चार दिनपछि उनी कहिल्यै नभेटिने गरि गए । मणिपाल शिक्षण अस्पतालले मंगलबार दिउँसो उनको शरीरमा प्राण नरहेको घोषणा ग¥यो । गजलमा लेखिएझैँ उनी अब माया साट्न हामीसामु रहेनन् । रहे त मात्र उनका ती सुकीर्तिहरू । र, कृतिहरू ।
उनी अर्थात् लोकप्रिय गजलकार, कथाकार, गीतकार प्रकट पगेनी शिव । मंगलबार उनको निधन भएको छ । बिरामी भएर अस्पताल भर्ना भएको थाहा पाउनासाथ उनको स्वास्थ्यलाभका लागि सामाजिक सञ्जालमा खर्चिएका शब्ददेखि उनको निधनले विक्षिप्त हुँदासम्मको पोस्टहरूले नै पुष्टि गर्छ उनको लोकप्रियता ।
उनका दौँतरी तथा समकालीन साहित्यकार तीर्थ श्रेष्ठ भन्छन्, “हामीले असमयमा प्रकटलाई गुमायौँ, दुइचार वर्ष अझै बाँचिदिए हुन्थ्यो भन्ने मनमा थियो ।”
२०३३ सालमा पोखरा झरेदेखि नै हो, तीर्थ श्रेष्ठ र प्रकटको भेट भएको । कास्कीको रुपा गाउँपालिका ५ बाट पोखरा पृथ्वीनारायण क्याम्पस पढ्न आउँदा उनी प्रकट भइसकेका थिएनन्, शिवराज पगेनी मात्र थिए । जसै पोखरा झरे, उनी प्रकट हुन थाले । उनको दौँतरी समूहमा साहित्यकार सरुभक्त श्रेष्ठ, विजय बजिमय, विक्रम गुरुङ, उषा शेरचन पनि थपिए ।
देउराली उकाली कास्कीका शिवले २०३३ सालमा पहिलोपटक स्थानीय ‘हिमदूत’ पत्रिकामा विडम्बना नामको कथा छपाएका थिए । त्यसपछि नै उनको साहित्ययात्राले गति लियो । बाटो फेरियो, उनी गीतकार बने । कथाकार बने । गजलकार बने र सबैभन्दा महत्त्वपूर्ण त उनी सबैको प्रिय बने । हँसिलो अनुहार र रसिक गजलले उनी स्मरणीय बने ।
साहित्यकार सरुभक्तले नै उनलाई ‘गृहस्थी कवि’को उपनाम दिएका थिए । तत्कालीन समयमा उनले ग्रामीण परिवेश, गृहस्थीका बारेमा कविता लेख्थे । सरुभक्तले एउटा नाटकमा खेल्न प्रस्ताव गरे, प्रकटले अस्वीकार गर्ने कुरै भएन । त्यसपछि सरुझक्त श्रेष्ठ, विश्व शाक्यलगायतको निर्देशनमा १४ नाटकमा अभिनय गरे । तीर्थ स्मरण गर्छन्, “त्यो नाटकमा म व्यवस्थापक थिएँ ।”
त्यतिबेला नाटक डाँफेकला मन्दिर, सोरठी हल महेन्द्रपुललगायत ठाउँमा देखाइन्थ्यो । २०५२ सालमा प्रकट जागिरे जीवनमा प्रवेश गरे । उनी लुम्ले कृषि केन्द्रमा जागिरे भए ।
५० कै दशकमा हो, उनी गीतबाट गजलतर्फ मोडिएको । त्यतिबेला प्रकटको भेट दीपक समीपसँग भयो । गजल विधालाई साहित्यको विधा नमान्ने त्यो समयमा दीपकसँगै प्रकट पनि गजलतर्फ लागेका थिए ।
पोखरामा गजलको माहोल सुरु भयो । विस्तारै गजल साहित्यको महत्वपूर्ण विधाका रूपमा स्थापित भयो । पछिल्लो समय उनलाई प्रणयपरक गजलले स्थापित गर्यो ।
उनका गजल यति लोकप्रिय छन्, श्रद्धासुमन व्यक्त गर्नेहरूले तीनै गजलका शेरहरूमार्फत् प्रकटलाई स्मरण गरिरहेका छन् ।
‘तप्प–तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ’
जबजब भ्यालेन्टाइन विक आउँछ, यो गजलसँगै पोखराले उनै प्रकटलाई सम्झन्छ । प्रणयपरक गजलमार्फत् ठूलो ख्याति कमाए । केही आलोचना खेपे । दुई दशकअघि काठमाडौंको गुरुकुलमा भएको ‘प्रणयमा प्रकट दाइ’ देखि सुरु भएको गजल वाचनयात्रा गत फेब्रुअरी १४ मा पोखराको ओल्ड हाउस क्याफेमा तीन घण्टा गुञ्जिएपछि अस्ताएको छ । तर, हँसिलो अनुहारसँगै उनले आलोचनालाई पनि सहजै लिन्थे ।
‘तिम्रो हातले भरी गिलास...’, ‘हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो...’, ‘उठ्यो रिमै फेवातालमा छाल साँझपख...’, ‘किन अहिले हतारिन्छ्यौ बसौला नि भरे राति...’ प्रकटका सर्वाधिक रुचाइएका गजल हुन् यी ।
उनका गजलमा झल्किएको माया प्रेमका प्रसंगले धेरै मनमा काउकुती लाग्छ । कतिलाई आफ्नो अपनत्व दिलाउँछ । उनकै गजल सुनेर, पढेर गजल लेखन, वाचन र श्रवण गर्न खोज्नेहरू समेत बढ्दै छन् ।
जुनको चिठी जुनालाई २०६०, यो मन कतै अल्झिएको छ २०६४, प्रणयवेदका रिचाहरू २०६६ उनका प्रकाशित कृति हुन् । ३०० भन्दा बढी आँशु पीडा रोधनका गजल लेखे पनि झण्डै ९० वटाको हाराहारीका प्रणय गजलले उनलाई स्थापित गरायो ।
पछिल्लो समय उनी कहिले काठमाडौं त कहिले जन्मगाउँ बस्थे । श्रृंगारिक रसका गजल लेख्ने र वाचनमा उनी व्यस्त बन्थे । यसपछि नै तीर्थलगायतसँगको भेटघाट पातलिएको थियो । जब उनीहरू त्यो बाटो हिँड्थे पंगेनीको घरको बाटो काटेर कहिल्यै जाँदैनथे । उनको पछिल्लो प्रकाशित कृति अक्षरभरि अक्षता कवितासंग्रह पनि तीर्थले नै विमोचन गरेका थिए ।
० ० ०
‘इमानदार बनियो, त्यसैमा गर्व छ । बेइमानी गरिएन, न चाड छ, न पर्व छ ।’ नाम, ख्याति कमाए पनि उनले दाम भने कमाउन सकेनन् । मणिपाल शिक्षण अस्पतालमा उपचाररत रहँदा उनी जोडिएको पोखरेली युवा सांस्कृतिक परिवारले आर्थिक सहयोग संकलन गर्नुपर्यो ।
प्रकट भन्ने गर्थे, ‘साहित्यले नाम दियो, दाम दिएन । जहाँ पुग्नुपर्ने थियो, त्यहाँ पुगिएन ।’
नेत्र स्मृति पुरस्कार, प्रतिविम्ब नाट्य सम्मान, वीरेन्द्र ऐश्वर्य सेवा पदक, रेडियो नेपालबाट पनि उत्कृष्ट गीतकारबाट पुरस्कृत भए ।
सामाजिक सञ्जालमा उनी सक्रिय नै थिए । माथि उल्लेखित गजल नै उनको अन्तिम गजल बन्न पुग्यो । गाउँबाट सहर झरेर, फेरि गाउँमा नै पुगेका प्रकट पछिल्लो समय यशस्वी कटेजमा जीवन बिताइरहेका थिए । उनलाई भेट्न जानेलाई यशस्वी कटेजमा स्वागत गर्थे । पर्यटकलाई राख्न मिल्नेगरि बनाइएको कटेजले पूर्णता पाइसकेको थिएन ।
उनले नाम चाहिँ ‘यशस्वी’ राखेका थिए । शब्दकोषले भन्छ, ‘यशस्वी’ भनेको ठूलो यश प्राप्त गरेको, कीर्तिमान कायम गरेको, प्रसिद्धी पाएको ।
हो, राम्रो काम गर्नेले पाउने, इज्जत, सुकीर्ति, ख्याति, प्रशंसा, तारिफ उनले पाए । यशस्वी कटेजले पूर्णता पाएन, तर प्रकट यशस्वी बनिसके ।
प्रकट नेपाली कलाको लागि जिए, रंगकर्मको लागि जिए, सुकीर्ति कमाए र अस्ताए । उनी स्मरणीय बने ।