‘मिडिया, महिला र म’ प्रकाशित भएको छ/आठ महिना बित्न लाग्यो । तुरुन्तै पढेको हो, तापनि आफूलाई लागेका कुरा लेख्न ढिला भयो ।
किताबको नाम हेर्नेलाई लाग्छ, मलाई पनि त्यस्तै लागेको थियो– एक पत्रकारले पत्रकारिताको सिलसिलामा भोगेका कुरा लेखिन् होला । निश्चय नै हो, पेसागत कामका सिलसिलामा देखेका, भोगेका, लेखेका कुरा समेटेकी छन् लेखिका अमृता लम्सालले ।
तर, पढ्दै जाँदा थाहा लाग्छ– त्यति मात्रै होइन । त्योभन्दा निकै फराकिलो रहेछ यस किताबको परिधि ।
विलुप्त इतिहासमाथि विहङ्गमदृष्टि
अमृता लम्सालले यो किताब लेख्नुको अभिप्राय प्रस्ट्याएकी छन् । ऐलेसम्मको इतिहास लेखन प्रायः पुरुषहरूले गरे । आफ्नो अस्तित्वको नै गणना नभएका बेला महिलाले इतिहास लेख्न सम्भव थिएन ।
पुरुषले लेख्दा उनीहरूले आफ्ना दृष्टिकोणलाई प्राथमिकतामा राखेर लेख्ने नै भए । त्यसैले ऐलेसम्मको इतिहास लेखन एकांगी रह्यो भन्ने उनको भनाइ छ ।
विदेशी बादशाहलाई छोरी सुम्पेर आफ्नो राज्य सुरक्षित बनाउने राजाको अभिप्राय गौरवसाथ लिइयो, भृकुटीको अनुभव र अनुभूति बुझ्ने चेष्टा त परै जाओस्, उल्टो उनको निरीहताले निम्त्याएको समर्पण र बाध्यता पो बढाइचढाइ गरियो ।
इतिहासले बताउँछ, सतीप्रथाजस्तो घोर निन्दनीय अपराधका घटनालाई धर्म र इज्जतको लेप लगाएर त्यसैअनुसार समाजलाई अभ्यस्त गराइयो । यदि, महिलाले पनि पुरुषले जस्तै शिक्षा पाएका भए, उनीहरूले लेख्ने अवसर पाएका भए ऐलेको भन्दा अर्कै हुने थियो इतिहास ।
कम से कम एकतर्फी हुने थिएन, एकांगी हुने थिएन भन्ने उनको जिकिर छ । अब महिलाले आफ्नो इतिहास आफैँ लेख्नुपर्छ भन्दै नेपाली महिलालाई हौस्याउने चेष्टा गरेकी मात्र होइन, छोटो–मोटो रूपमा इतिहास लेखनी आफैँ थालेकी छन् भन्दा हुन्छ ।
संस्कृति नामको विकृत माखेसाङ्लोमा बिलाएका महिला
त्यो समाजको इतिहास लेखन कसरी तटस्थ होओस् जुन समाजका हरेक मूल्य–मान्यता, स्त्रीद्वेषी मात्र छन् । धार्मिक भनिने ग्रन्थहरू, लोकोक्ति, उखान, टुक्का कतै पनि महिलाको यथार्थ चित्रण छैन । कि महिलालाई यथार्थभन्दा बढ्ता उचालिएको छ कि पछारिएको छ ।
यस्तो प्रवृत्ति देखेर उनलाई दिक्क लाग्छ । स्त्रीद्वेषी संस्कार र विभेदको संस्कृतिमा हुर्केका मानिसको विश्लेषण क्षमतामा नै ह्रास आउँछ भन्ने उनको ठम्याइ छ ।
व्यक्तिव्यक्तिमा संस्कार र संस्कृतिको यति गहन छाप हुन्छ कि अधिकांश बेला शिक्षित र परिवर्तन चाहने हामी नै पनि विभेदकारी भाषाको प्रयोग गरिरहेका हुन्छौँ । यस्ता उद्गार महिला उत्थानका लागि घातक छन् र यिनमा परिवर्तन चाहनु चेतनशील मानिसको कर्तव्य पनि हो ।
हाम्रो समाजमा विद्यमान संस्कार र संस्कृतिको जब्बर रूप आफ्नै उत्पीडनका प्रसंगमा देखाएकी छन् कतै, कतै अरूका भोगाइलाई समेटेकी छन् ।
नमुनाका लागि, सहरको शिक्षित र सम्पन्न परिवारमा जन्मिएर पनि आफूले चाहेजति अध्ययन गर्न नपाउनु, झन्डै बालविवाह भन्न सुहाउने बन्धनमा बाँधिन बाध्य भएका कुराको प्रसंग ल्याउँदै दूरदराजमा रहेका महिलाहरूको अवस्था अझै पनि दयनीय रहेको देखेर के आश्चर्य मान्नु भन्दै यसमा आमूल परिवर्तनको खाँचो औँल्याएकी छन् ।
पत्रकारिता क्षेत्रमा महिलाको पहुँच
समग्रमा महिलाको इतिहास नै विलुप्तप्रायः रहेको अवस्थामा सञ्चार क्षेत्रको मात्र विशेष के अपेक्षा गर्नु भन्दा भन्दै पनि नेपाली महिलाको पत्रकारिताको इतिहास खोतल्ने प्रयास गरेकी छन् अमृताले ।
छोटै समयमा पनि यसले गरेका केही उल्लेखनीय उपलब्धि देखाउने जमर्को पनि भएको छ किताबमा । पञ्चायतकालभरि महिलाका समाचार भनेका दरबारका रानी, मुमामहारानीका जन्मोत्सवका शुभकामना र उनीहरूले गरेका केही उद्घाटन आदिको प्रशंसामा सीमित थिए ।
आममहिलाका समाचार त आज पनि सन्तोषजनक छैनन्, तथापि चारपाँच दशक पहिलेजस्तो घोर निराशाबाट भने केही उम्किएको अवस्था छ । यस्तै कुराहरू अमृताले उजागर गरेकी छन् किताबमा ।
पत्रकारिता क्षेत्रभित्र पसेर आममहिलाको विलुप्त इतिहास प्रकाशन गर्ने र उनीहरूको विद्यमान अवस्था सुधार्ने प्रयासमा उनी अग्रपंतिमा देखापरेकी छन् ।
सञ्चारजगत्मा महिलाको सहभागिता नियाल्ने कोसिसाका साथ यस क्षेत्रमा आफ्नो योजनाबिनाको प्रवेशको घतलाग्दो प्रसंगको चर्चा गरेकी छन् । बहिनीले लिन लागेको पत्रकारिताको प्रशिक्षणमा साथ दिँदा उनी पनि प्रशिक्षित हुन पुगेकी अमृताको पत्रिकामा लेखनकार्यको सुरुआत पनि संयोगकै घटना थियो ।
तथापि, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने कहावत सार्थक भएको छ उनका हकमा । उपाय नखोजेको भए तीन हजारभन्दा बढ्ता लेख कसरी तयार गर्न सक्थिन् र ? माओवादी द्वन्द्वका समयमा र अघिपछि पनि गाउँगाउँ डुलेर रिपोर्टिङ गर्नेदेखि चौथो विश्व महिला सम्मेलमा समेत आफ्ना विचार प्रस्तुत गर्न कसरी सम्भव हुन्थ्यो र ?
घरदेखि पेसागत क्षेत्रमा भोगेका विभेदपूर्ण र अनेक घटनाको मिहिन तरिकाले विश्लेषण गर्न भ्याएकी छन् । त्यसैले त उनी आफू र आफ्ना कर्मप्रति गर्व गर्छिन् ।
एकजनालाई उत्तर दिने क्रममा भन्छिन्, ‘म निराश हुने जात की परिनँ... कोही कसैको टेको, दयामायाको पात्रबिनै उभिएँ । कतै राजनीतिक नियुक्ति नलिएर, कुनै दलको लेखनदास नबनेर, कुनै दातृसंस्थाको बफादार नबनेर लेखिरहेँ, बोलिरहेँ..., आज यी पंक्ति लेख्दै गर्दा म क्यान्सरसँग जुधिरहेकी छु, तर म थाकेकी छैन । अल्मलिएकी छैन ।’ (पृ. ८१–८२) ।
महिलावादबारे निजी दृष्टिकोण
मैले अघि नै भनेकी छु, किताबले सञ्चारजगत्को कुरामा मात्र बोलेको छैन । यहाँसम्म कि महिलावादका ठेली पढेको छैन भन्ने अमृतामा महिलावादको बृहत् ज्ञान छ ।
हाम्रा व्यवहारका स–साना कुरामा चिन्ता र चासो छ, हरेक उद्गार र चलनचल्तीका सम्बन्धमा गहिरो चिन्तन छ । अनि, हरेक वाद–प्रतिवादप्रति गहन विश्लेषण छ ।
पाइलापाइलामा प्रश्न गरिएको छ, परम्पराका नाममा हरेक विकृतिलाई खुरुखुरु स्वीकारिएको छैन ।
‘महिलावादी हुँ’ भन्न समेत हिच्किचाउने महिला स्वयंबाट आममहिलाको दुःख, पीडा, मर्म, खुबी कसरी हुने ? महिलासँग नै गुनासो छ उनको ।
उनी पत्रकार मात्र होइनन्, एक अथक अभियन्ता पनि हुन् । पत्रकारले त स्थलमा देखेका कुरा लेखेर पार पाउँछ, उनी भने लेखेर मात्र आफ्नो दायित्व सकिएको मान्न तयार छैनन् ।
अनेक घटनामा आफैँ अग्रसर भएर महिलाका पक्षमा जुट्नु, अरूका गालीगलौज पचाउनु, भौतिक आक्रमणको पनि परवाह नगरी निरन्तर पीडितको पक्षमा अघि बढिरहन दृढ संकल्पित अभियन्ताबाहेक जोकोहीले सक्दैन ।
महिलाको संघर्षबाट प्राप्त कतिपय अधिकार संविधानका पाना र कानुनका धारा, उपधारामा सीमित छन् । जब्बर संस्कृतिको छायामा परेका छन् महिलाका कतिपय अधिकारका कुराहरू ।
महोत्तरीका महिलालाई भोट हाल्नबाट वञ्चित गरिएको एक घटनामा उनी जसरी लागि परेकी छन् त्यसले उनको जुझारूपनको उत्तम नमुना प्रस्तुत गर्दछ (पृ. ८८) ।
संविधानप्रदत्त अधिकार भईकन पनि महिलालाई भोट हाल्न नदिने परिवारजन र गाउँलेसँग उनी राजनैतिक कार्यकर्ताभन्दा खरो रूपमा भिडेकी छन् । यस्ता सवालमा मौन रहने राजनैतिक दलका नेता–कार्यकर्तासँग पनि उत्तिकै आक्रोश छ उनको ।
महिलाले मत दिन नपाएको कुरामा कुनै दलको पनि चासो नहुनु भनेको सम्पूर्ण समाजको एकांगी मनस्थितिको द्योतक हो भन्छिन् उनी । कुरा सही हो ।
किताबमा विशेष गरी मिडियामा कहिलेकहिले के कस्ता सवाल प्रमुख मुद्दा बनेर आए भन्ने कुरा प्रचुर मात्रामा उठाएकी छन् लेखिकाले । भलै, धिमा गतिमा नै सही, लैंगिक समानतातर्फका उपलब्धिहरू पनि उत्तिकै समेटिएका छन् ।
सीमान्तकृतहरूका मुद्दा अनि महिलाविरुद्ध हुने गरेका सबै प्रकारका भेदभाव उन्मूलनका लागि नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयन कसरी भए/कसरी भएनन् भन्ने विवेचना गर्न पनि भ्याएकी छन् ।
महिलाका मुद्दा महिलाकै मात्र हो भनेर महिलालाई जिम्मा लगाउने संसद्प्रति उनी आक्रोश पोख्छिन् । आफू संसद्बाहिर हुँदा महिलाका अनेक सवाल उठाउने र संसद्मा प्रतिनिधित्व गरेका बेला चुप बस्ने महिला सांसदप्रति पनि उसैगरी नै रोष पोख्छिन् उनी ।
बेइजिङमा सम्पन्न चौथो विश्व सम्मेलनमा आफैँ प्रतिनिधि समेत बनेकी अमृताले नेपाली महिलाका मुद्दा के कसरी प्रस्तुत भए, त्यहाँ अनुमोदित विषयहरूमा नेपालले के कसरी कार्यान्वयन गरेको छ भन्ने कुरा पनि प्रकाश पारेकी छन् किताबमा ।
नेपाली महिला आन्दोलनको इतिहासमा सर्वाधिक महत्त्व राख्ने पैत्रिक सम्पत्तिमा छोरासरह छोरीको अधिकार स्थापित गर्ने कुरा, आमाको नाममा नागरिकता पाउनुपर्ने मुद्दा, राजनीतिमा महिला प्रतिनिधित्व वृद्धिका लागि आरक्षणको व्यवस्था, महिला आयोगको आवश्यकताजस्ता सवालहरू र थुप्रै अरू पनि सानाठूला मुद्दामा महिलाको सक्रियता तथा सरकारमा भएकाहरू र पार्टीका नेताहरूको प्रतिक्रिया के कसरी अगाडि बढेका थिए भन्ने कुराहरू तिथिमिति समेत सविस्तार वर्णन गरकी छन् ।
त्यसैले यो किताब महिला आन्दोलन र उपलब्धिको इतिहासको एक प्रामाणिक दस्तावेज हो भन्न हिच्किचाउनु पर्दैन ।
यो किताब पत्रकारिता गर्नेले त पढ्नुपर्छ नै, त्यसका अतिरिक्त लैंगिक समानताका पक्षपातीहरू, नारीवादीहरू र नेपाली महिला आन्दोलनको इतिहासमा चासो राख्नेहरूका लागि विशेष महत्त्वको छ ।
किताबमा कतैकतै अतिरञ्जित कुराहरू पनि देखिन्छन् । तर, त्यसमा लेखिका स्वयं नभई स्रोत उपलब्ध गराउने संस्था र लेखहरू नै अन्योलमा परेको देखिन्छ ।
अन्त्यमा, लेखिकाको अघिल्लो पुस्तक ‘हजुरआमाका कथा’मा अघिल्लो पुस्ता बोलेको छ । महिला अधिकारको मधुरो किरण देखापरेको तर महिला स्वयंले अधिकारका लागि संघर्षमा जुट्न नसकेको अवस्थाको चित्रण छ ।
यस किताबमा महिला अधिकारको क्षेत्रमा भएगरेका संघर्षहरू, उपलब्धिहरूको चर्चा छ । विगतको संघर्षको कथा मात्र नभएर युवाप्रतिको अपेक्षा र आउँदो समयप्रतिको आशा पनि छ ।
दुवै किताब सँगसँगै पढ्दा पाठकले नेपाली समाजको प्रक्रियागत र क्रमिक विकासको स्वाद पाउँछन् ।
क्यान्सरजस्तो घातक रोगको सामना गर्दै नेपाली समाजलाई यति गहन किताब दिने अमृता साँच्ची नै साहसकी प्रतिमूर्ति नै लाग्छ । उनलाई लेख्न उत्साहित गर्ने प्रकाशक अर्चना थापा पनि प्रशंसाकी पात्र मान्नुपर्छ ।