site stats
बाह्रखरी :: Baahrakhari
कला
शिथिल सांगीतिक क्षेत्र : चर्चामा एलिना, लयमा समीक्षा, आम्दानीका लागि स्टेजकै भर

यो वर्ष नेपाली सांगीतिक उद्योगमा कति गीत सार्वजनिक भए ? यो प्रश्नको जवाफ कसैसँग छैन । यो वर्ष मात्रै होइन यसअघिका कुन वर्षमा कति गीत रेकर्ड भए, कति सार्वजनिक भए र हालसम्म कति नेपाली गीत रेकर्ड भए त्यो कसैलाई थाहा छैन । कारण यसको तथ्यांक कोहीसँग छैन । तथ्यांक राख्ने आधिकारिक संस्था छैन । 

चलचित्र, आधुनिक, लोक, लोकदोहोरी, पप, र्‍याप गीत गरेर थुप्रै गीत रेकर्ड हुन्छन् । मात्रै यसको आंकडा नराखिएको हो । यो वर्ष पनि गीत रेकर्डिङको शिलसिला रोकिएन । यद्यपि, विगतका वर्षहरूको तुलनामा यो वर्ष सुस्तायो सांगीतिक क्षेत्र । करिब ९० प्रतिशतसम्म रेकर्डिङ घट्यो । त्यति नै संख्यामा म्युजिक भिडियो निर्माणको क्रम ओर्लियो । 

हरेक दिन दर्जनौँ नयाँ भिडियो अपलोड हुने युट्युब च्यानलमा  दैनिक एकाधमात्रै भिडियो रिलिज भए । वर्षका अन्त्यतिर रेकर्डिङ थोरै बढे पनि लयमा फर्किएन ।  

यसको मुख्य कारण युट्युबाट आउने रेभिन्यु घट्नु नै रह्यो । युट्युबले रेभिन्यु घटाउँदा लगानीकर्ताको पैसा डुब्दा गीत रेकर्डिङ र म्युजिक भिडियो निर्माणको क्रम घट्यो । लगानी नउठ्नेक्रम बढेपछि यो क्षेत्रमा लगानी गरिरहेकाहरू पछि हट्दा वर्ष २०८० मा सांगीतिक क्षेत्र नै शिथिल बन्न पुग्यो । 

प्रायः वर्षभरिको हिसाब गर्ने हो भने धेरै गीत लोकप्रिय हुन्छन् । कति चलनचल्तीको शब्दमा ‘भाइरल’ हुन्छन् । तर यो वर्ष न धेरै गीत लोकप्रिय नै भए न ‘भाइरल’ नै । यो वर्ष सांगीतिक क्षेत्र शान्त रह्यो । 

Global Ime bank

वर्षको अन्त्यतिर एलिना चौहानको स्वरमा रहेको गीत ‘कट्टा हान्दिन्छु...’ आयो । यो गीत भने चर्चित भयो । अडियो र भिडियो दुवैको चर्चा पाएको यो गीत आफैँमा विवादरहीत भने बन्न सकेन । चोरीको आरोप लाग्यो । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्राचारको कार्यालयमा चोरीको आरोप लगाउँदै निवेदन नै पर्‍यो । तर एलिना तथा यसका सर्जकले चोरी नगरेको दाबी गरे । 

वर्षको अन्त्यतिर भूपू पाण्डेको गीत ‘पिरैपिरै’ले चर्चा पायो । लोकलय मिसिएको गीत धेरैले मन पराए । पहिलोपटक यति धेरै भूपू सञ्चारमाध्यममा छाए । 

गोविन्द मधुर आचार्यको ‘म मरेको छैन...’ बोलको गीतले पनि आधुनिक संगीतप्रेमीको ध्यान खिच्यो । यो गीत जनजनको जिव्रोमा त पुगेन तर आधुनिक संगीत रुचाउनेका लागि भने उपहार थियो । 

यो वर्ष ‘अरेली काँडैले...’ चर्चा पाएको अर्को गीत हो । तिज गीत भनेर सार्वजनिक गरिएको यो गीत शब्द, संगीत र स्वरभन्दा पनि भिडियोका कारण ‘हिट’ भएको हो । शान्तीश्री परियारले गाएको गीतको भिडियोमा अञ्जली अधिकारी र प्रकाश सपूत छन् । 

यो वर्ष पनि चर्चा कमाउनेमा सबैभन्दा अगाडि प्रकाश सपूत नै रहे । ‘सकम्बरी’, ‘दमाईं महाराज’, ‘मुटु कटक्कै’ उनले यो वर्ष सार्वजनिक गरेका गीत हुन् । यी मध्ये ‘सकम्बरी’ले जति चर्चा पायो त्यति ‘दमाईं महाराज’ र ‘मुटु कटक्कै’ले चर्चा पाएनन् । तर तुलनात्मक रूपमा यो वर्ष सिर्जना कै कारण सबैभन्दा अगाडि प्रकाश नै रहे । 

गीत धेरै रेकर्ड भएनन् । म्युजिक भिडियो धेरै बनेनन् । आम्दानी घट्यो । त्यसैले कलाकारका लागि आकर्षणको केन्द्र स्टेज कार्यक्रम नै रह्यो । आम्दानीको मुख्य स्रोत पनि यही नै बन्यो । 

स्टेजमा यो वर्ष अहिलेका रेकर्डिङमा व्यस्त एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, अस्मिता अधिकारी र शान्तीश्री परियार तथा प्रिती आले यो वर्ष स्टेजमा सबैभन्दा धेरै बोलाइने कलाकारको रूपमा दरिए । 

३१ दिनको महिनामा ३२ वटासम्म कार्यक्रम गरेकी एलिना यो वर्ष चर्चाको केन्द्रमा रहिरहिन् । कहिले ब्रेकअप, कहिले स्टेजमा टेक्निसियनसँगको सवालजवाफ त कहिले विवाहको खबरले उनी यो वर्ष सबैभन्दा धेरै चर्चामा रहिन् । 

पुरानै लयमा समीक्षा
यही वर्ष हो, समीक्षाले आफूलाई सांगीतिक क्षेत्रमा पुरानै लयमा फर्काएको । व्यक्तिगत सम्बन्धका कारण केही समय सांगीतिक क्षेत्रबाट ओझेल परेकी समीक्षाले वर्ष ०८० मा आफ्नो लोभलाग्दो क्रेज फर्काइन् । रेकर्डिङ र स्टेज कार्यक्रमबाट टाढिएकी उनले आफूलाई कमब्याक गराउन सफल भइन् । 

वर्ष २०८० ले उनलाई पुरानै लयमा फर्कायो । रेकर्डिङ र स्टेज कार्यक्रममा समीक्षा पहिलाजस्तै व्यस्त हुन थालिन् । सामाजिक सञ्जालमा गाली गर्नेहरू तारिफ गर्न थाले । हातका औंलामा गन्न सकिने व्यस्त र डिमान्डेड कलाकारमध्ये समीक्षाले आफूलाई पुरानै स्थानमा फर्काउन सफल भइन् । 

एलिना, रचना, समीक्षा, अस्मिता, शान्तीश्री, प्रतीसँगै प्रकाश सपूत, प्रमोद खरेल, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, रामजी खाँण, बद्री पंगेनी, खुमन अधिकारी, राजेशपायल राई, मेलिना राई, शिव परियार, राजनराज शिवाकोटी, कालीप्रसाद बास्कोटालगायत कलाकार यो वर्ष स्टेजमा व्यस्त रहे । 

पछिल्ला केही वर्षयता अक्सर तुलनात्मक रूपमा नेपालमा सिनेमाका गीत ‘हिट’ भएको देखिन्छ । तर यो वर्ष ५३ चलचित्र रिलिज हुँदा सिनेमाका गीत पनि ‘हिट’ हुन सकेनन् । केही गीत राम्रै्र भए पनि ती मौसमी गीतजस्ता मात्रै बने । 

सधैँ चहलपहल रहने लोकदोहोरीमा पनि यो वर्ष त्यस्ता दोहोरी आएनन्, जो सर्वप्रिय हुन् । लाइभ लोकदोहोरीको संख्या पनि यो वर्ष घट्यो । लोकदोहोरीका कलाकार मिलेर पालैपालो आ–आफ्नो युट्युब च्यानलमा अपलोड गर्ने संख्या ओरालो लाग्यो । यसको कारण पनि युट्युबले रोयल्टी घटाउनु नै हो । 

वर्षको अन्तिममा राजेशपायल राई पक्राउको खबरले सांगीतिक बजार तात्यो । मदिरा पिएर राति २ बजे होहल्ला गर्दै हिँडेका राजेशपायलसहितका तीन कलाकारलाई प्रहरीले सम्झाउन खोजेको तर उल्टै प्रहरीलाई सरुवा गरिदिने धम्की दिएपछि उनी पक्राउ परेका थिए । यो खबरले धेरैको ध्यान खिचेको थियो । 

सर्जक डराएको वर्ष
यो वर्ष काब्यतात्मक गीत नआएको स्वयं सर्जक नै स्वीकार्छन् । “लगानी डुब्ने भयले काब्यात्मक गीत यो वर्ष आएनन् । आधुनिक तथा मेलोडियस गीतमा लगानी गर्न नै सर्जकहरू डराइरहेको अवस्था छ,” गायक भूपू पाण्डे भन्छन्, “म आफैँ नै भीडले रुचाउने गीत गर्न बाध्य भइरहेको छु । लगानी कतैबाट नउठ्ने भएपछि सबै स्टेज फोकस गीत गर्न धेरै विवश भइरहेको अवस्था छ ।” 

केही मेलोडियस गीत आए पनि ती नोटिस हुन नसकेको उनी बताउँछन् । भीडले रुचाउने गीत युट्युबमै करोड/करोड भ्युज जाने तर आधुनिक गीत लाख पुग्न पनि कठिन हुने अवस्थामा धेरै सर्जक यो वर्ष काब्यात्मक गीतमा लगानी गर्न नै डराएको उनको निष्कर्ष छ । यो वर्ष लगानी डुब्ने त्रासमा अमर हुनेभन्दा पनि तत्काल हराउने गीत नै धेरै आए । 

जो बिदा भए
यो वर्ष नेपाली सांगीतिक उद्योगले केही त्यस्ता संगीतकर्मीलाई गुमायो, जसले आफ्नो समयमा सिंगो नेपाली सांगीतिक क्षेत्रलाई बोकेर हिँडेका थिए । भजन शिरोमणि भक्तराज आचार्यलाई नेपाली संगीतप्रेमीले यही वर्ष गुमाए । जसको अन्त्यष्टिमा बहालवाल प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्म श्रद्धान्जली दिन पुगे । 

नेपाली सुगम संगीतका अर्का नक्षेत्र योगेश वैद्यको पनि यही वर्ष निधन भयो । दर्जनौँ कालजयी गीत दिएका उनले पनि वर्ष २०८० मा नै बिधा लिए । 

रक गायक तथा अभिनेता रोविन तामाङले पनि यही वर्ष बिदा लिए । नेपाली स्रोतामा रक गीत सुन्ने बानी बसाउने श्रेय पाएका र दर्जनौं चलचित्रमा एन्टागोनिष्टको भूमिका निर्वाह गरेका उनका लागि पनि यही वर्ष जिन्दगीको अन्तिम साल बन्यो ।  

लोक लय र आधुनिक गीतमा आफूलाई अब्बल सावित गर्दै नेपाली संगीतप्रेमीको मनमस्तिकमा बस्न सफल दिलमाया खातीले पनि २०८० मा यो संसारलाई बिदाइको हात हल्लाइन् ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu