काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रवि लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यसंयन्त्रले दिएको तथ्यप्रमाण प्रस्तुत गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले प्रधानमन्त्रीले फैसला नगरेको बताए । “प्रधानमन्त्रीज्यूले फैसला गर्नुभएको होइन । राज्यका संयन्त्रले दिएका तथ्यप्रमाणका आधारमा सम्मानित सदनमा उहाँले प्रस्तुत गर्नुभएको हो,” उनले भने, “ तपाईंहरुलाई त्यो कुरा चित्त नबुझ्न सक्छ तपाईंहरूप्रति सम्मान नै छ ।”
नेपाली कांग्रेसले प्रधानमन्त्रीले सदनमा उभिएर फैसला सुनाएको आरोप लगाउँदै आएको छ । सापकोटाले अमुक रूपमा कोही व्यक्ति विशेषलाई खुल्याउनेतिर नलाग्न आग्रह गरे ।
सदनमा रचनात्मक शैलीमा प्रस्तुत हुन उनको आग्रह छ । कानुन निर्माण गर्ने अधिवेशन भएकाले सदनलाई सुचारु गर्नुपर्ने उनको धारणा छ ।