site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यसरी बनेको थियो ‘डिग्री माइला’ बनाउने ‘चाखलाग्दो’ योजना 

काठमाडौं । रामबाबु गुरुङ, दयाहाङ राईलगायत केही साथीहरू संघर्षको चरणमा थिए । काठमाडौंमा कलेजमा अध्ययन गर्दै गर्दा उनीहरूको भेट भएको थियो । थुप्रै साथीहरूमध्ये फिल्टर हुँदै कला, साहित्यमा रुचि राख्नेहरू मात्र एक ठाउँमा पुगेका थिए । त्यसमा दयाहाङ र रामबाबु थिए । उनीहरूलाई अभिनयमा रुचि थियो ।

उनीहरूबीच सिनेमाबारे थुप्रै छलफल र बहस हुन्थ्यो । कस्तो सिनेमा बनाउने भनेर कथा, क्यारेक्टरबारे छलफल गर्थे । त्यहीक्रममा दयाहाङले आफूले गाउँमा देखेको क्यारेक्टर सम्झिए, जसले अंग्रेजीमा डिग्री गरेको थियो । देशदुनियाँ, कलासाहित्य, संस्कारसंस्कृति, भूगोल र राजनीतिबारे उसलाई थाहा थियो । अंग्रेजीमा पटट बोल्थ्यो । तर, गाउँमै बरालिएर हिँड्ने उसको दैनिकी थियो । न कुनै जागिर न जिन्दगी नै व्यवस्थित थियो ।

किन यसरी बरालिएर हिँडेको ? ऊ प्रतिप्रश्न गर्थ्यो– मेरो क्षमताअनुसारको जागिर मलाई यो सरकारले दिन सक्छ र काम गर्नु ?

दयाहाङले भोजपुरमा देखेको यो क्यारेक्टरबारे कुरा गर्दा रामबाबुलाई पनि आफ्नो गाउँमा देखेको यस्तै चरित्र याद आउँथ्यो । पढेको, देशदुनियाँ सबै जानेको तर धेरै मदिराप्रेमी । मदिरा पिएर कहाँ सुतेको छु भन्ने थाहा नपाउने, कुकुरले आफैँलाई नाघेर गएको पनि चाल नपाउने ।

“यस्तैयस्तै क्यारेक्टरबारे हामी कुरा गर्थ्यौँ । यसमा सिनेमा बनायो भने त गज्जब हुन्छ भन्थ्यौँ । हामीले यसमा सिनेमा बनाउने प्रण पनि गर्‍यौँ, तर सुरुमै यसमा सिनेमा बनाउन सकेनौँ,” रामबाबु भन्छन्, “दयाहाङ नाटकतिर लागे । तत्काल सिनेमा नबन्ने भएपछि उसले यही क्यारेक्टर टिपेर नाटक बनाए । त्यो नाटक राम्रो पनि भयो ।”

दयाहाङले निर्देशन गरेको नाटक रामबाबुले पटकपटक हेरे । उनलाई यस्तै मात्र सिनेमा बनाउन सके पनि राम्रो हुन्छ भन्ने लाग्थ्यो । तर, चलचित्रमा उनी काँचै थिए । विभिन्न कारणले जुरेन वा मिलेन । रामबाबुको यो पहिलो सिनेमा बनेन । अरू थुप्रै सिनेमा बनाएपछि बल्ल यसको पालो आयो अहिले ।

दयाहाङ यसको नाम कसरी ‘डिग्री माइला’ राखियो भन्ने प्रस्ट्याउँदै भन्छन्, “हामी अग्रज होइन, भाइ पुस्तासँग रमाउँदा रहेछौँ । अग्रजलाई सम्मान गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यो पुस्तालाई हामी फेस गर्न नसक्दा रहेछौँ । त्यसैले त्यो पुस्तासँग घुलमिल नै हुँदैनौँ । तर। भाइ पुस्तासँग गज्जबले मिल्छौँ । सहकार्य गर्छौँ ।”

त्यसैले उनलाई लाग्यो– हामी न पहिलो पुस्ताका भयौँ न नयाँ पुस्ताका ।  उनलाई आफ्नो पुस्ता बीचको भएको भन्ने लाग्यो । आफ्नो पुस्ता कतै पनि काम नलाग्ने ‘पेन्डुलम’जस्तै भएको उनले महसुस गरे ।

“न हामी अग्रज पुस्ता अर्थात् जेठो भयौँ न त पछिल्लो पुस्ता कान्छो नै भयौँ भनेर दयाले भनिरहेको मलाई अहिले पनि याद छ,” रामबाबु भन्छन्, “दया सधैँ हामी बाँचेको पुस्ता न यताको न उताको सबैभन्दा खराब समय हो भनेर भनिरहने । त्यसैले हामीले यो क्यारेक्टरको नाम डिग्री माइला राख्यौँ ।”

कसले जुरायो यो नाम ? दयालाई रामबाबुले जस्तो लाग्छ, रामबाबुलाई चाहिँ दयाले जस्तो । जे होस्, अहिले यसको सम्झना उनीहरू दुवैलाई छैन । तर, नाम त्यही बेला जुरेको हो । क्यारेक्टर दुवैले देखेका हुन् । सिनेमा बनाउने दुवैले निर्णय गरेका हुन् । र, त्यही योजनामा अहिले सँगै काम पनि गरिरहेका छन् ।

अहिले दयाहाङ त्यही ‘डिग्री माइला’ भए । रामबाबु निर्देशक । सिनेमा तयार भयो । झट्ट देख्दा नाटकमा आधारित सिनेमा भन्ने लाग्छ, तर यथार्थ अर्कै छ । सिनेमा बनाउने तयारी नै थियो । त्यहीअनुसार क्यारेक्टर र कथा पनि एउटा तहमा तयार थियो । तर, चलचित्र बनाउन ढिलो हुने भएपछि त्यसबाटै मुख्य पात्र र केही विषय झिकेर नाटक बनाइएको थियो ।

कतिपयले यसलाई नाटकमा आधारित सिनेमा भनिरहेका छन् । तर, नाटक र सिनेमाको फर्म बेग्लै हो । बनाउने र अभिनय गर्ने तरिकै फरक हुन्छ । देखाउने थिएटर नै बेग्लै । नाटक र सिनेमा गर्दाको उमेर पनि अलग । परिपक्व भएर बनाएको सिनेमा र कट्मिरो हुँदाको बखतका नाटकमा समानताभन्दा पनि भिन्नता धेरै रहेको उनीहरू बताउँछन् ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro