कलाका माने धेरै छन् । तर यहाँ कला भनेको ‘शिल्प’ हो । जुनसुकै शिल्पकारीलाई हामी कला भन्न सक्छौँ । कला अनन्त छन् । हाम्रा प्राचीन आप्त आचार्यहरूले चौसट्ठी कला मानेका छन् । बिछौना लाउनु, बुकुवा लाउनु त कला भयो भयो; जुवा खेल्नु, बट्टाई, कुखुरा, भेडा पालेर लडाउनु पनि कला रे !
पश्चात्य विद्वानहरूले संगीत, साहित्य, चित्रकारी, मूर्तिनिर्माण, वास्तुविद्या यी पाँचलाई ललितकला र बाँकी अरू शिल्पलाई औद्योगिक कला ठानेका छन् । तर पुरातन आचार्यहरूले भने सम्पूर्ण कलालाई निचोरेर आएको सार संगीत, साहित्य, चित्रकारी केवल यी तीनलाई मात्र ललितकला मानेका छन् ।
त्यो कला उच्चतर ठहरिन्छ जसमा वाह्यकरणभन्दा अन्तःकरणको कार्य अधिकतर हुन्छ । हुन त दाह्री खौरनु पनि कला हो । जो यस कलामा निपुण छ उ दाह्री काट्छ, जो अनिपुण छ उ गाला काट्छ । किन्तु यसमा अन्तःकरणको भन्दा बाह्यकै प्राधान्य छ । अतः यो कला उच्च कला होइन । प्रत्युत काव्यरचनातर्फ विचार गरौँ, यसमा वाह्यकरणको भन्दा अन्तःकरणकै विशेषता छ । यसकारण काव्य–रचना गर्ने काम दाह्री खौरने जस्तो जो कोहीको हातबाट र केही दिनको अभ्यासबाट, तालीमीबाट हुन असंभव छ ।
यस प्रबन्धमा मेरो उद्देश्य कलाको परिभाषा गर्नु होइन, “कला केको निंति ?” यही कुराको विमर्श र निरूपण गर्न हो । अनेकौँ पाश्चात्य विद्वानहरू “कला, कलाको निंति” भन्दछन् हो, पाश्चात्य देशमा कला, कलाको निंति होला, परन्तु हाम्रो देशमा कला कलाको निंति भन्ने शक्ति अपरिपक्व विचारको तथा हास्यास्पद हुन्छ । “कला, कलाको निंति” यो के भनेको ? कला पनि कहीँ कलाको निंति हुन्छ ?
कला, कलाको निंति हुने भए, विज्ञान पनि विज्ञानको निंति तर विज्ञान, विज्ञानको निंति होइन । विज्ञान त ज्ञानोपार्जन, प्रकृतिको रहस्योद्घाटन, मनुष्य या प्राणीमात्रको निंति विशेषतः मानवजातिकै आराम औ कल्याणको निंति ।
कला, कलाको निंति हो भने घण्टाघर घण्टाघरको निंति, लाइब्रेरी, लाइब्रेरीको निंति, कलेज, कलेजको निंति । तर त्यस्तो होइन, घण्टाघर चार भंज्याङभित्रका वासिन्दाको निंति । लाइब्रेरी पाठक तथा अनुसंधाताको निंति । कलेज, एस.एल.सी. पास गरेका छात्र छात्राको निंति ।
“कला कलाको निंति” यो के भनेको ? अन्न अन्नको निंति कि अन्न मनुष्यको निंति ? जल, जलको निंति कि जल, प्राणीको निंति ? पति पतिको निंति, पत्नी पत्नीको निंति हुने हो भने संसारमा विवाहको प्रथा याने दंपती भएर बस्ने प्रथा किन ?
तर होइन पति, पत्नीको निंति, पत्नी, पतिको निंति, सन्तान सन्तानको निंति होइन, ती मातापिताका निंति अनि समाजका निंति देशको निंति । यो टेबिल, टेबिलको निंति होइन; मेरो निंति, यो मेच, मेचको निंति होइन; मेरो निंति । यो कलम, कलमको निंति होइन, मेरो निंति । यो मैले लेखेको प्रबन्ध प्रबन्धको निंति होइन, विद्यार्थीको निंति, विद्वान्को निंति । “कला, कलाको निंति हो” भनेर हाहामा दगुड्ने काँचा ठेट्नाको निंति ।
हाम्रो पनि मस्तिष्क छ, ईश्वरले हामीलाइ पनि बुद्धि दिएका छन्; तर्क दिएका छन् । किन हाहामा दगुड्ने ? यसो विचार गरौँन यो के कुरा हो । हाम्रा शिक्षकहरूले हामीलाइ जो विषय बताए, सिकाए त्यसैलाइ वेदवाक्य नमानौँ । आफ्नो बुद्धि, तर्कबाट पनि केही काम गरौँ, शंका लागेमा तिनै शिक्षकसँग सोधौँ, चित्त नबुझेमा अझ ठूला आचार्यसँग सोधौँ विमर्श गरौँ ।
शिक्षकबाट मात्र सत्यको त्यति उद्घाटन हुँदैन जति आफ्नो तर्कबाट हुन्छ । स्कूल, कलेज, पाठशाला, महाविद्यालयमा कति शिक्षक पेटका निंति शिक्षक भएका छन्, कति रवाफ राख्नको निंति, कति आफ्नो मत या सिद्धान्त प्रचार गर्नाका निंति शिक्षक भएका छन् । त्ण्यस्ता तर्कशून्य अन्धा परम्पराप्रिय शिक्षकबाट हामीलाइ के लाभ हुन्छ ? सत्यको के बोध हुन्छ ?
कला, कालको निंति होइन । तब के कला आदर्शको निंति हो ? कला आदर्शको निंति पनि होइन । कलालाई हामीले आदर्शको निंति भन्यौँ र आदर्शको ढिस्को अगाडि राखेर कलाको निर्माण या रचना गर्यौं भने कलामा कला रहँदैन । कला त अर्ती, शिक्षा उपदेशले भरिएको पुरानो थोत्रो थैलो हुनजान्छ । आदर्श, पुराणमा रहन्छ गुरु वाक्यमा रहन्छ । कलामा पनि आदर्श रहन्छ सही तर साह्रै कम मात्रामा, गौण रूपले ।
एउटा व्यक्तिले आफ्नो सारा सर्वस्व कुनै अनाथालयलाई दियो भने त्यो व्यक्ति आदर्श ठहरिन्छ, तर कलाकार ठहरिँदैन । किनभने आदर्शमा कला रहँदैन । त्यस्तै, कलामा पनि कोरा आदर्श रहनु हुँदैन ।
समस्या उपस्थित भयो— कला, कलाको निंति पनि होइन, कला आदर्शको निंति पनि होइन भने कला केको निंति त ? एक छिन तर्क गरौँ । कला, धनोपार्जनको निंति हो कि ? –तर होइन, कलाकारलाई अनावश्यक धनको, स्वर्णराशिको केही पर्वाह हुँदैन । उसोभए कला यश–प्राप्तिको निंति हो कि ? होइन, सच्चा कलाकारलाई यस कीर्ति कुनै कुराको वास्ता रहँदैन औ रहनु पनि हुँदैन । उ त एउटा समाधिस्थ तपस्वी हो । यश, अपयशसँग उसको के प्रयोजन ।
चाहे कसैले नम्र नमस्कार गरोस् चाहे धारे हातले ताकोस् । फेरि प्रश्न उठ्यो उही ‘कला केको निंति ?’ –कला जीवनके निंति । यो पनि होइन । जीवनसँग कलाको त्यस्तो सम्बन्ध केही छैन । जीवनको सम्बन्ध त वायु, जल, आहारसँग छ जो मानव, पशु, पक्षी सबको निंति अत्यावश्यक छ ।
कला जीवनको निंति भन्ने हो भने मनुष्यको जीवनलाइ मात्र हामी जीवन भन्न सक्दैनौँ, पशु पक्षीको जीवन पनि जीवन हो कला जीवनको निंति हो र जीवनसँग उसको सम्बन्ध हुने भए कलाको सम्बन्ध पशु, पक्षीको जीवनसँग पनि हुनुपर्छ जो कुरा असम्भव र असङ्गत हुन जान्छ ।
मानवजातिमै पनि कति कृषक, कति मजदूरहरूको कलासित केही सरोकार रहँदैन । कलाविना पनि उनीहरूको जीवन मजासँग चलिरहेछ । उनीहरू हमेशा प्रसन्न छन् हृष्टपुष्ट छन् । कला, जीवनको निंति नै हो भने लौ त, मरणासन्न बिरामीलाई कलाले पुनः स्वस्थ गराओस्, कलाकारलाई अमरणशील बनाओस् अतः कला, जीवनको निंति पनि होइन ।
यसो पनि होइन उसो पनि होइन भने कला के को निंति त ? फेरि उही जटिल समस्या उपस्थित भयो । होला, कला, आनन्दको निंति, यो पनि होइन । कति मनुष्यहरूलाई यसले आनन्दको लेशसम्म पनि नदेला । जो मर्मज्ञ छन् उनीहरूलाई यसले आनन्द दिन्छ, जसको हृदय जड छ, ज्ञानशून्य छ उसलाइ यसले के आनन्द दिन्छ ?
कलाले सारालाइ आनन्द दिन सक्दैन ! उस्तादको राग, कविको महाकाव्य, चित्रकारको रंगविन्यास चित्रले घिउ बेच्न आएको, ठसठस गनाउने त्यो हेल्मुको स्यार्पालाइ के आनन्द दिन्छ ? कला आनन्दको निंति भए यसले सबैलाई आनन्द प्रदान गर्न सक्नुपर्छ ।
यसकारण, कला आनन्दको निंति पनि होइन यो त मगज नै खाने तर्क–वितर्क पो भयो उसोभए कला केको निंति त ?
– ‘कला भावुक हृदयको निंति ।’
(साहित्यकार तिवारीको ‘पन्ध्र प्रबन्ध’बाट ।)