site stats
बाह्रखरी :: Baahrakhari
विदेश
तीन महिनामा रुसी सेनामा एक लाख करार सैनिक भर्ती, नेपाली कति छन् ?
फाइल तस्बिर ।

काठमाडौं । रुसको रक्षा मन्त्रालयले सन् २०२४ सुरु भएयताको तीन महिनामा आफ्नो सेनामा एक लाख करार सैनिक भर्ती गरेको बताएको छ । सन् २०२४ को जनवरी, फेब्रुअरी र मार्चमा उनीहरूलाई करारमा भर्ती गरिएको रुसको विदेश मन्त्रालयले बुधबार जनाएको हो । 

रुसले पछिल्लो तीन महिनामा भर्ती हुने करार सैनिकको संख्या सार्वजनिक गरे पनि त्यसमा नेपालीलगायत विदेशी नागरिकको संख्या कति छ भन्ने खुलाएको छैन । पछिल्लो १० दिनमा मात्र लगभग १६ हजारले सैन्य सम्झौतामा हस्ताक्षर गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । 

युक्रेनसँग लड्नको लागि एक लाखले करार सम्झौता गरेको रक्षा मन्त्रालयले जनाएको छ । “पछिल्लो डेढ हप्तामा विशेष सैन्य अपरेसनमा सहभागी हुने उदेश्यले रुसी रक्षा मन्त्रालयसँग सम्झौता गर्न इच्छुक व्यक्तिहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ,” रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्ला दिनमा रुसी सेनामा भर्ती हुनेहरूले केही दिनअघि क्रोकस सिटी हलमा भएको आतंकवादी आक्रमणमा मारिएकाहरूको बदला लिन उत्प्रेरित भएर भर्ती हुन आएको बताएको मन्त्रालयले जनाएको छ । 

रुसका वरिष्ठ अधिकारीहरूले मार्च २२ मा भएको आतंकवादी आक्रमणमा युक्रेन र पश्चिमी गठबन्धन जिम्मेवार रहेको अभिव्यक्ति दिँदै आएका छन् । उक्त घटनामा १४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । उक्त घटनाको इस्लामिक स्टेट सम्बद्ध आईएसआईएस–केले जिम्मेवारी लिएको थियो । युक्रेन र पश्चिमी देशले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।

रुसले सन् २०२३ को सुरुदेखि नै सशस्त्र बलमा भर्तीको लागि विशेष अभियान अघि बढाएको थियो । सन् २०२३ मा चार लाख सैनिक भर्ना गर्न खोजेको थियो । सन् २०२४ मा पनि रुसले उक्त संख्यामा नै सैनिक भर्ना गर्न चाहेको बताइएको छ । 

रुसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले गत अक्टोबरमा तीन लाख पाँच हजार पुरुषले सैन्य सम्झौतामा हस्ताक्षर गरेको र ८० हजार स्वयंसेवक लडाकुको रूपमा भर्ना भएको बताएका थिए ।

रुसी रक्षामन्त्री सर्गेई शोइगुले गत वर्ष रुसी सेनाले सन् २०२४ मा सात लाख ४५ हजार करार सैनिक भर्ती गर्ने योजना बनाएको घोषणा गरेका थिए । रक्षा मन्त्रालयले पछिल्ला महिनाहरूमा सेनामा करारको रूपमा भर्ती हुनेको संख्या सार्वजनिक गरे पनि त्यसमा विदेशको संख्या कति छ केही खुलाएको छैन । करारमा नेपाली, भारतीय, श्रीलंकनलगायत भर्ती भएका छन् । 

रुसी सेनामा कति नेपाली भर्ती भएका छन् त्यो खुलाएको छैन । नेपालले बारम्बार सेनामा भर्ती भएकाको विवरण मागेको तर, रुसले बेवास्ता गर्दै आएको छ । नेपालले विभिन्न माध्यममार्फत रुसी सेनामा भर्ती भएका नेपालीको विवरण पठाउन, उनीहरूलाई तत्काल फिर्ता पठाउन, मृत्यु भएकाको शव पठाउन, मृत्यु भएका र घाइते भएकाको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन रुसलाई आग्रह गर्दै आएको छ । नेपालको आग्रहको जवाफ रुसले दिएको छैन । 

रुसले हालसम्म युक्रेनसँगको युद्धमा १९ नेपाली मारिएको औपचारिक जानकारी दिएको छ । थप १५ नेपाली मारिएको आशंकामा सम्बन्धित परिवारसँग ‘डीएनए’ रिपोर्ट माग गरेको छ । 

रुसी सेनामा भर्ती भएका साढे दुई सयभन्दा बढीका आफन्तले परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा उनीहरूलाई फिर्ता ल्याइदिन भन्दै निवेदन दिएका छन् । सेनामा भर्ती भएका आफन्तलाई फिर्ता ल्याउन विभाग जाने र नगई अनुरोध गर्नेको संख्या ६ सयभन्दा माथि छ । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्