site stats
बाह्रखरी :: Baahrakhari
देश
मलेसियामा एमएमटुएच सेवा लिएर बसेका हुनाले जीबी राईलाई नेपाल ल्याउन कठिन छ !

काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोलले) रेड नोटिस जारी गर्दा पनि ओखलढुंगाका गितेन्द्र बाबु राई (जीबी) पक्राउ परेका छैनन् ।  पोखरास्थित सूर्यदर्शन सहकारीको रकम ठगीका मूख्य आरोपी जीबी मलेसियामा रहेको पुष्टि हुँदा पनि कानुनी दायरा बाहिर बस्न सफल भएका हुन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) बशन्त बहादुर कुवँरले मलेसिया सरकारको असहयोगका कारण जीबीलाई पक्राउ गर्न नसकिएको बताउँदै आएका छन् ।

एक हप्ताअघि संसद्को राज्य व्यवस्था तथा सुुशासन समितिको बैठकमा जीबी राईबारे उठेको प्रश्नको जवाफ दिँदै आईजीपी कुँवरले भनेका थिए, “ठगीको मूख्य जड नै जीबी हो । त्यसमा हामी संवेदनशील नै छौँ । तर, मलेसिया सरकारसँग सुपुर्दगी सन्धि नहुँदा मलेसिया प्रहरी पक्राउ गर्न बाध्य भएन । त्यसमा पनि जघन्य अपराध नभई आर्थिक अपराध हुँदा जीबीले कानुनी सहुलियत पाए ।”

सुपुर्दगी नहुदा पनि सरकारको तर्फबाट जीबीलाई पक्राउका लागि कूटनीतिक पत्राचार गर्दा पनि मलेसिया सरकारले चासो नदिएको आईजीपी कुँवरको गुनासो थियो । सरकारको तर्फबाट प्रयास सफल नभए पनि जीबीलाई आफ्नै व्यक्तिगत पहलबाटसमेत नेपाल ल्याउने बारे आफूले पहल थालेको उनले बताएका थिए ।

सुपुर्दगी सन्धि वा पारस्पारिक कानुनी सहायता भनेको दुई देशबीच अपराधीलाई औपचारिक रुपमा ल्याउने वा पठाउने माध्यम हो । जुन नेपालले हालसम्म कुनै देशसँग गरेको छैन ।

Global Ime bank

जीबीराई बाहेक भने नेपाल प्रहरीले मलेसियाबाट नै इन्टरपोलको सहयोगमा दुईजना अरोपीलाई पक्राउ गरेर नेपाल ल्याइसकेको छ । उनीहरुको हकमा भने मलेसिया प्रहरीले न सुपुर्दगी सन्धिको आवश्यकता ठान्यो न त कूटनीतिक पत्र नै माग्यो ।

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका म्याग्दीका २७ वर्षीय प्रकाश विकलाई नौ महिना अघिमात्रै साउन १६ गते मलेसियाबाट नेपाल ल्याएको थियो ।  उनीविरूद्ध प्रेम सम्बन्धमा रहेका बखत खिचिएका गोप्य भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेर युवतीको चरित्र हत्या गरेको उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरी पछि प्रहरीको साइबर ब्यूरोले नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंमार्फत् इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गर्न पत्राचार गरेको थियो । बिकविरुद्ध २०७८ माघमा रेड नोटिस जारी भएको थियो ।

बिकबाहेक प्रहरीले गैंडा तस्करीका मूख्य नाइके चितवनका राजकुमार प्रजालाई मलेसियाबाट पक्राउ गरेको थियो ।  २०७१ फागुनमा उनलाई इन्टरपोलकै सहयोगमा नेपाल ल्याइएको हो ।  प्रहरीबाट जोगिन भक्तराज गिरीको नाममा पासपोर्ट बनाएका प्रजा रोजगारीका लागि मलेसिया पुगेको प्रहरीको अनुसन्धानले खुलाएको थियो ।

उनीमाथि २० भन्दा बढी एक सिंङ्गे गैंडा मारेको आरोप थियो । उनी हालसम्म पनि जेल जीवन भोगिरहेका छन् । चितवन जिल्ला अदालतले उनलाई २० वर्ष कैद सजाय तोकेको थियो ।

जीबीलाई यसकारण नेपाल फर्काउन चाहँदैन मलेसिया ?

आईजीपी कुवँरले भनेजस्तै दुई देश बीचको सुपुर्दगीकै कारण जीबीलाई मलेसिया प्रहरीले पक्राउ गरेर नेपाल नर्फकाएको भन्ने आंशिक सत्यमात्रै हो ।  मूल कारण त्यो होइन । जुन कुरा बिक र प्रजा पक्राउले पुष्टि नै गरेको छ । जीबीलाई पक्राउ नगर्नुको कारण जीबी मलेसिया सरकारका लागि विदेशी लगानीकर्ता हुन् ।

देशभरका दर्जन सहकारी सञ्चालन गरेर जीबी राईले अर्बौँ रकम मलेसिया पुर्‍याएको प्रहरीको अनुसन्धानले देखाएको छ ।  उनले सन् २०१९ मै मलेसियामा अपार्टमेन्ट खरिद गरेको खुलेको छ । 

जीबी निकट एक व्यवसायीले दिएको जानकारीअनुसार २६ लाख रिङ्गिट अर्थात् हालको नेपाली सात करोड २३ लाख ५८ हजार रुपैयाँ बराबरको अपार्टमेन्ट खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यद्यपी प्रहरीले यो विषयलाई अति गोप्य राखेको जनाएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित देशापन्डनमा उनको अपार्टमेन्ट रहेको पाइएको छ । अपार्टमेन्टबाहेक जीबीले मलेसियाकै अर्को सहर साइबरजयामा एक सपिङ मार्टसमेत सञ्चालन गरेर बसेका छन् ।

सूर्यदर्शन सहकारीको मात्रै जीबीले एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको खुलेको छ ।  यो बाहेक जीबीलाई मलेसिया प्रहरीले पक्राउ नगर्नुको मूख्य कारण भने उनी मलेसियाको नागरिकसरह नै बसेको कारण मुख्य भएको जीबीनिकट एक व्यवसायीले बाह्रखरीलाई बताए ।

उनले भने, “अन्य मुलुकका नागरिकलाई मलेसियन नागरिक हुने व्यवस्था नरहे पनि मलेसिया सरकारले ‘मेक मलेसिया माई सेकेन्ड होम’ (एमएमटुएच) भिसा अन्तर्गत केही रकम मलेसिया सरकारलाई तिरेपछि त्यहीँको नागरिकसरह बस्न सकिन्छ । जीबीले पनि त्यही गरेका हुन् ।”

जुन सेवा मलेसिया सरकारले मलेसियामा लगानी गर्ने र रकम तिर्नेका लागि व्यवस्था गरेको छ । सहकारीको विवाद आउनु पहिला नै जीबीले मलेसियामा सबै कारोबार गर्ने गरेको उनको दाबी छ ।

प्रहरीलेसमेत जीबी राईलाई पक्राउ गर्न मलेसिया सरकार तयार नहुनुलाई त्यही कारण मानेको छ । 

प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले भने जीबी राईलाई नेपाल ल्याउन प्रहरीले विभिन्न प्रयास जारी राखेको बताए । राई बाहेक सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राई विरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

सहकारी ठगी प्रकरणका १९ जना आरोपीबाहेक पाँचजना भने पुर्पक्षका लागि थुनामा छन् । अन्य फरार छन् । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत जोडिएपछि उनीसमेत विवादित हुनपुगेका छन् ।

बुधबार संसद बैठकको सुरुवात मै बोलेका सांसद तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नै गठन गनुपर्ने माग राखेका थिए । सहकारी पीडितले लामिछाने गृहमन्त्री हुनुपूर्व नै उनको नाममा पोखरा प्रहरीमा उजुरी दिएका थिए ।

तर, प्रहरीले भने रकम हिनामिना प्रकरणमा उनको नाम बाहेक तीनपुस्ते नखुल्दा उजुरीमाथि अनुसन्धान गर्न नमिल्ने बताउँदै आएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu