site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
थन्किए वीरका आईसीयू बेड र उपकरण, शल्यक्रियाको पालो एक वर्षमा पनि आउँदैन

काठमाडौं । कहिले चरम आर्थिक अभाव त कहिले राजनीतिक हस्तक्षेपको प्रभाव, मुलुककै जेठो वीर अस्पताल सधैँ बिरामी छ । दैनिक तीनहजार नागरिकको उपचार गरिरहेको वीरलाई दीर्घरोगी बनाएको छ, राज्यले ।

केही महिनाअघि सामान्य परीक्षणदेखि र बिरामीको खानासमेत कटौती गर्ने अवस्थामा पुगेको वीर यतिखेर आर्थिकरूपमा थोरै तंग्रिएको त छ तर दौडिने अवास्थामा छैन । भएका संरचना र सेवा पूर्णरूपमा सञ्चालनमा छैनन्, आईसीयू र शल्यक्रियामा ५० प्रतिशत सेवा कटौती भएको छ । इमर्जेन्सी कक्षको 'ग्रिन जोन' महिनौँदेखि बन्द छ । गम्भीर रोगको पहिचानमा प्रयोग हुने जेनेटिक ल्याब ठप्पजस्तै छ ।

साढे दुई वर्षअघि उद्घाटन भएको नयाँ सर्जिकल भवन अझै पूर्णरूपमा उपयोग भएको छैन । हरेक नयाँ बन्ने स्वास्थ्यमन्त्रीले वीरलाई स्वास्थ्य सेवाकै गौरव भन्ने गरेका छन्, तर गौरव बन्ने गरी काम भने गर्दैनन् ।

Dabur Nepal
NIC Asia

बरु भएको सेवालाई पनि अस्तव्यस्त बन्ने निर्णयहरू गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीकै भनाइमा 'पूर्व स्वास्थ्यमन्त्रीले वीरलाई ध्वस्त बनाएर गएका छन् ।'

वीर अस्पतालमा पुरानो र नयाँ सर्जिकल भवनमा गरी जम्मा ९६० बेड छन् । तीमध्ये ६०१ बेड सञ्चालनमा छन्, बाँकी ३६० वटा थन्किएका छन् । 

साठीवटा आईसीयू बेडमध्ये २७ वटा मात्रै सञ्चालनमा छन् । सत्रवटा एचडीयूमध्ये अहिले आठवटा मात्रै चलेका छन् । कोरोनाकालपछि मासिक एक हजार शल्यक्रिया हुने गरेकोमा अहिले ६५० वटा मात्रै हुने गरेका छन् ।

शल्यक्रिया कक्षका महँगा उपकरणहरू महिनौँदेखि थन्किएका छन् । पछिल्लोपटक थपिएका पाँचवटा डायलायसिस मेसिन प्रयोगविहीन छन् ।

सरकारी अस्पतालमध्येकै एकमात्र जेनेटिक ल्याबमा सामान्य परीक्षणसमेत हुँदैन । इम्युनो हिस्ट्रो केमिस्ट्री परीक्षण मेसिन थन्किँदा क्यान्सरसम्बन्धी बिरामी फर्किएर भारतसम्म पुग्ने गरेका छन् ।

इमर्जेन्सी बेड संख्या ४० बाट घटेर २९ मा झरेको छ, 'ग्रिन जोन' ६ महिनादेखि ठप्प छ । चलेका 'रेड जोन' र 'एल्लो जोन' धान्न २२ जना नर्सलाई हम्मेहम्मे पर्छ ।

अस्पतालको आईसीयू, शल्यक्रिया र इमर्जेन्सी र ल्याब सेवामा ५० प्रतिशतसम्म कटौती हुनुका मुख्य दुई कारण रहेको अस्पताल निर्देशक डा. सन्तोष पौडेल बताउँछन् । आईसीयू, ओटी र इमर्जेन्सीमा स्टाफ नर्सको अभावमा बेडहरू थन्किने अवस्था आएको उनको दाबी छ । 

वीर अस्पतालमा नेपाल सरकार, चिकित्साा शिक्षा राष्ट्रिय प्रतिष्ठान न्याम्स, र पुल दरबन्दी गरी तीन प्रकारका नर्सिङ जनशक्ति छन् । हाल अनमीदेखि एघारौँ तहसम्म गरी ५०५ जना नर्स कार्यरत छन् । तर उनीहरूमध्ये यी सेवामा खटिने स्टाफ नर्सको संख्या ४६७ मात्रै छ ।  

विस्तार गरिएको नयाँ सर्जिकल भवनबाट सेवा सञ्चालन गर्न ८३१ जना जनशक्ति दरबन्दीअन्तर्गत राख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना थियो । त्यसमा स्टाफ नर्सको दरबन्दी ५६६ छ, तर हालसम्म नियुक्त गरिएको संख्या मात्रै २१६ । अर्थात् ३६० वटा दरबन्दी अझै रिक्त छ ।

कोभिडकालमा करारमा राखिएका २२४ जना नर्सलाई तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गएको असोजमा हटाउने निर्णय गरेका थिए ।  नयाँ जनशक्ति नियुक्त नगरी ती नर्स हटाउने निर्णयले वीरको सेवामा ठूलो धक्का पुगेको निर्देशक पौडेल बताउँछन् ।

अहिले दुईजना नर्सले पाँचवटा आईसीयू बेडका बिरामी हेर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । कतिपय नर्सले मात्रै चलाउन सक्ने विभागहरू पनि बन्द रहेको उनको भनाइ छ । 

अस्पतालको चैतको तथ्यांक अनुसार आइतबार तीनहजार, अन्य दिनमा दुईहजार ८०० को हाराहारीमा बिरामी आइपुग्ने गरेका छन् । कतिपय शल्यक्रियाको पालो एक वर्षभन्दा बढी पनि कुनुपर्ने अवस्थाको पछाडि पनि नर्स अभाव नै मुख्य कारण रहेको उनको भनाइ छ । 

परीक्षण मेसिनहरू भने रिएजेन्टको अभावमा पनि थन्किएको निर्देशक पौडेल बताउँछन् । ल्याबमा प्रयोग हुने सामग्रीको अभावमा वीरमा केही महिनाअघि सामान्य रगत परीक्षणसमेत राकिएको थियो । 

यस्तै, अस्पतालले बिरामीलाई दैनिक प्रदान गर्दै आएको खानासमेत कटौती भएपछि यसको विरोध संसद्सम्मै भएको थियो । चरम आर्थिक अभावको अवस्था आएपछि मन्त्रालयले पटकपटक गरी वीरलाई खाना तथा अक्सिजन, कर्मचारी तलब, अस्पताल सञ्चालन शीर्षकमा १८ करोड रुपैयाँ पठाएको पौडेल बताउँछन् ।

तर, यो खर्च अहिले रोकिएका ल्याब परीक्षण पुनः सञ्चालन गर्न मन्त्रालयले बजेट नदिएको उनको गुनासो छ । 

नयाँ बनेका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीरको अवस्थाबारे ‘ब्रिफिङ सुन्ने समय नै नपाएको’ अस्पतालका अधिकारीहरू बताउँछन् । वीर अस्पतामा सेवा खुम्चिएको विषय पटकपटक संसद र संसदीय समितिहरूमा पनि गम्भीर ढंगले उठ्ने गरेको छ । 

वीरको यो अवस्थालाई चित्रण गर्दै आइतबारको संसद् बैठकमा स्वास्थ्य पूर्वराज्यमन्त्री तथा रास्वपा सांसद डा. तोसिमा कार्कीले भनेकी थिइन्, “यसअघिका स्वास्थ्यमन्त्रीले त वीर अस्पताललाई ध्वस्त बनाएर जानुभयो, आशा छ अहिलेका मन्त्रीको यसतर्फ ध्यान जानेछ र सुधार ल्याउनुहुनेछ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro