
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारीको रकम अनिमियताबारे छानबिनका निम्ति संसदीय समिति बनाउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले संसदीय छानबिन समिति बनाएर निष्पक्ष अनुसन्धान नगरिए गृहमन्त्री रवि लामिछानेमाथि जिन्दगीभर ठगीको आरोप लागिरहने बताए ।
“यो आरोपले तपाईंलाई कहिल्यै छोड्ने छैन, जिन्दगीभर लखेट्नेछ । त्यसकार समिति बनाएर अनुसन्धान तपाईंकै हितमा हुन्छ,” उनले भने ।
उनले सहकारीबाट गोर्खा मिडियामा ल्याइएको पैसा कसको हो भनी प्रश्न गरे । “कसैले दान दिएको पैसा होइन । तपाईंले अमेरिकाबाट कमाएको पैसा होइन होला । त्यो गरिबहरूले छाक काटेर, ठेला चलाएर, तकारी बेचेर कमाएको पैसा हो,” उनले भने ।
ठगीको आरोप लागेका व्यक्ति गृहमन्त्री बनेकाले छानबिन प्रभावित भएको उनको भनाइ छ ।
अनुसन्धान अलपत्र परेको, रोकिएकाले विश्वासको संकट उत्पन्न भएको सांसद यादवले बताए । ‘जनताको न्याय टुहुरो भएकाले’ निष्पक्ष छानबिनका निम्ति संसदीय छानिबन समिति बनाउनुपर्नेमा उनले जोड दिए ।