site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद पौडेलको प्रश्न– मानव तस्करलाई अनुकूल हुने गरी रुसमा श्रम स्वीकृति किन दिएको ? 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले श्रम मन्त्रालयले रुसमा श्रम स्वीकृति किन दिएको भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले मानव तस्करलाई अनुकूल हुने गरी किन श्रम स्वीकृति दिइयो भन्दै प्रश्न गरे ।

रुसी सेनामा भर्ती भएका मानिसको यकिन तथ्यांक समेत नराख्ने सरकारले किन नागरिकलाई फेरि त्यहीँ पठाउन स्वीकृति दिएको भन्दै उनले आपत्ति जनाए । उनले भने, “यति बेला श्रम मन्त्रालये श्रम स्वीकृति किन दियो ? मानव तस्करलाई अनुकूल हुने गरी किन दियो ? यसभित्र गम्भीर स्वार्थ लुकेको देखेका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांसद पौडेलले पञ्चशीलको कूटनीति अपनाउने देशले कुनै मुलुकको सेनामा भर्ती हुन पठाउन मिल्छ भन्दै थप प्रश्न गरे । “१८ घण्टा काम गर्दा पनि ४० हजार बढी कमाउन सक्दैन । पैसा कमाइन्छ भन्ने झुटो हो । त्यसैले उनीहरू सेनामा भर्ती हुन जान्छन्,” उनले भने ।

रुसी सेनामा कति नेपाली भर्ना भएका छन्, अवस्था के छ, आफन्त कुन पीडामा छन् भन्ने सरकार बेखर भएको र खोजी गर्ने चेस्टा समेत नगरेको उनले आरोप लगाए । उनले जिम्मेवार परराष्ट्रमन्त्री नै विदेश भ्रमणमा गएर के सन्देश दिन खोजेको भन्दै प्रश्न गरे ।

“कम्तीमा पनि ७०० नेपाली छन्, ४० जना मरेका छन् । लास आउन नसकेर कुसको प्रतीक बनाएर किरिया गरिएको छ । ११७ घाइते छन् । ३०० बेपत्ता छन् । थुप्रै देश फर्किन फाराम भरेर बसेका छन्,” उनले भने, “सरकार उद्धार गर्न परै जाओस्, यकिन तथ्यांक पत्ता लगाउन कोसिस छैन । युक्रेनमा पनि बन्दी बनेको सार्वजनिक गरिएको छ । नेपालको परराष्ट्र मन्त्रालय र यसको संयन्त्रले के गरेको छ ?”

सांसद पौडेलले आफूले नसक्ने भए रेडक्रस, संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेर भए पनि त्यहाँ रहेका नागरिकलाई स्वदेश फर्काउन पहल गरिनुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा उनले राजनीतिक रङ पनि छिर्न दिन्न भन्दै शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका मन्त्रीले कहाँ परिवर्तन गरिसकेको भन्दै प्रश्न गरे । कर्मचारीलाई पन्छाएर करारमा भर्ती गर्ने विषय बाहिर आएको भन्दै उनले यी विषयमा सदनमा जानकारी गराउन माग गरे ।

उनले काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादन गरी इन्धनका रूपमा प्रयोग थालेकामा प्रशंसा गरे । यसले इन्धन खपतमा कमी आउने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्