कसैलाई सोध्दा पनि सजिलै उत्तर आउन मुस्किल हुन्छ । किनभने, प्रश्न सामान्यजस्तो लाग्छ— म किन लेख्छु ?
यो प्रश्नको उत्तर दिन वास्तवमा दिमाग खियाइरहनु पर्लाजस्तो लाग्दैन । तर, यसको गहिराइतिर पस्दै जाँदा ‘म किन लेख्छु ?’ ले निकै गम्भीर दार्शनिक अर्थ–अभिप्रायमा पुर्याउँछ ।
र, थाहा हुन्छ, उत्तर दिन सहज छैन । र, प्रश्न तेर्स्याएजस्तो उत्तरको झटारो हानिहाल्न त्यति सजिलो कदापि हुँदैन ।
यसैसँग जोडेर अरू प्रश्नले प्रहार गर्दा अनेक तरंग उत्पन्न हुन्छन् । जस्तो कि लेख्छु, लेख, लेखिराख, लेख्दै गर, किन लेख्ने, केका लागि र कसका निम्ति लेख्ने ? यी आदि प्रश्नको जवाफ दिनलाई पनि सजिलो हुन्छ होला भन्ठान्नु गल्ती नै हुनेछ ।
वास्तवमा कुनै पनि प्रश्नको उत्तर दिन हतारिनु र सजिलो ठान्नु हुँदैन । ‘तपार्इं किन लेख्नुहुन्छ ?’ वा ‘म किन लेख्छु ?’ को तार्किक निष्कर्ष हचुवाको भरमा निस्किँदैन । यसको उत्तर हल्का ठान्नु पनि हुँदैन ।
वर्ष दिन अवधिको फेरोलाई फर्किएर हेर्छु । गत वर्ष मैले ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार’ पाएको थिएँ । ‘पुरस्कारले सिर्जनधर्मी स्रष्टालाई प्रोत्साहित गर्छ र जिम्मेवारी बढ्छ’ भनेको थिएँ ।
नभन्दै आज एक वर्षको मूल्यांकन आफैँले गर्दा पनि निश्चय अधिक लेखियो । लेखेजति छापियो । घुम्नुसम्म घुमियो । रमाउनुसम्म रमाइयो । त्यो पुरस्कारले मेरो लेखनलाई प्रोत्साहित पनि गरिदियो । र, जिम्मेवारी बढाइदिनुका साथै लेखकीय कर्ममा समर्पित पनि गरायो ।
पुगेका गन्तव्यहरूमाथि अझै लेखिँदै छ, यात्राका पलपल आँखाको परेलीमा उतारेर । मनको मझेरीबाट बाहिर निकालेर निफननाफन गरी शब्द बुन्दै, भावना खेलाउँदै, अनुभूति पोखिँदै छ अभिव्यक्तिहरूको ।
अन्त्यमा जहाँ यौटा लेखकले केही पाउँदैन, मात्र सन्तुष्टिको मिठास । सम्पादक र पाठकको माया, सद्भाव र शुभेच्छाहरू ।
लेखन प्रत्येक लेखकका लागि श्वासप्रश्वासजस्तै हो, जुन आवश्यकता यस्तो कि त्यो काम नगरी सम्भवतः ऊ बाँच्न पनि सक्दैन । मूलतः ‘म किन लेख्छु ?’ प्रश्नको उत्तर दिन म आफैँ पनि सक्दिनँ ।
यसको सही जवाफ मसँग पनि छैन । ‘म किन लेख्छु ?’ जबकि, ‘म किन लेख्छु मलाई नै थाहा छैन’ भने पनि निरुत्तर हुन्छ ।
कुनै पनि प्रश्नमा सरल, सजिलो र सुललित संलापको सिलसिला हुँदैन । किनभने, कोही पनि लेखक कसैले ‘लेख’ भन्दैमा तुरुन्तै लेख्न सक्दैन । कसैले ‘नलेख’ भन्दैमा ऊ नलेखिरहेर बस्न सक्दैन ।
लेख्नु र नलेख्नुको दोसाँधबाट उठेर लेखकीय कर्म, धर्म र मर्महरू स्वतः नै उचाइतिर लम्किसकेका हुन्छन् ।
कुनै पनि लेखकको दिनचर्या नै लेख्नु हो । लेखनधर्म नै उसको कर्म हो । त्यसैले उसलाई ‘लेख’ भनिरहनै पर्दैन । ‘नलेख’ भनेर बन्देज लगाउन पनि सकिँदैन ।
यौटा लेखकका लागि खाना खानुजत्तिकै आवश्यकता, जुन कुरा कसैले भनिरहनै पर्दैन । निदाउनुजस्तै आवश्यकता, जुन कुरा सुत सुत भनेर भनिरहनै पर्दैन । आवश्यकताले नै हो, अभावको पूर्ति गरिदिने । यसले नै निर्माण कलाको स्मारक स्थापित गराइदिने ।
वास्तवमा मेरो लेखनले मलाई हरदम लेख्नलाई प्रेरित गरिरहन्छ । म आफैँबाट प्रेरित र प्रभावित छु । म नलेखीकन बस्न सक्दिनँ । पहिलेपहिले नपढी म बस्नै सक्दिन थिएँ । हिजोआज नलेखी बस्न सक्दिनँ ।
लेखन त मेरो श्वासप्रश्वासजस्तो छ । लेखेर मैले आफूलाई उन्मुक्त आकाशमा उडिरहेको महसुस गर्छु । नवीनतम् दृश्यहरूमा रमाउँदै लामो यात्रामा हिँडिरहेको आनन्द लिन्छु ।
हाल केही वर्षदेखि मैले निबन्ध र नियात्रामा आफूलाई केन्द्रित गरिराखेको छु । म निबन्धमा कला घोल्न रुचाउँछु । निबन्धमा कलात्मक पहिचान कायम राख्ने मेरो ध्येय रहिआएको छ ।
पाठकले कत्तिको महसुस गर्नुभएको छ, मलाई थाहा छैन । तर, मेरो निबन्ध वा नियात्राभित्र सदैव कलाकारिताका विम्ब–विधानहरूलाई नै मैले प्राथमिकतामा राखेर लेख्ने गर्छु ।
निबन्ध होस् या नियात्रा विधा, यी दुवैमा आफ्नै किसिमको अलग्ग मौलिकता लेपन भएको हुनुपर्छ । जहाँ आफू, आफ्नो परिवेश, प्रकृति र तिनमा सिलसिलाबद्ध भावना नदीजस्तै सललल बगेको होस् । आफैँ पाठक भएर पढ्दा पनि बेग्लै आनन्दले ती शब्दहरूमा रसास्वादन गर्न सकियोस् ।
बस्, यस्ता निबन्ध पढ्दा मनमस्तिष्कमा बेग्लै प्रभाव पार्न सक्छ भन्ने मलाई लाग्छ । कुनै प्रभाव पार्न नसक्ने । केही सन्देश र सोचाइको अवस्थिति निर्माण गर्न नसक्ने सिर्जना अर्थहीन हुन्छ ।
लेखेर म आफैँसँग रमाउँछु । लेखेर म आनन्दित हुन्छु । म कसैको लागि लेख्दिनँ । कसैले भनेर पनि लेख्दिनँ । किनभने, म नलेखी रहनै सक्दिनँ ।
लेखेर मैले कसैलाई चिढ्याएको छैन । कसैको खुसी खोजेको र कसैको माया चाहेको छैन । मेरो मनको सन्तुष्टि नै मेरो लेखनकर्म हो । म कसैको लयमा, कसैको प्रवाह र प्रभावमा लेख्दिनँ ।
देखेको लेख्छु । भोगेको लेख्छु । आफूले हिँडेको दृश्यमाथि लेख्छु । आफूले अनुभव गरेको अनुभूतिलाई अभिव्यक्ति दिन्छु ।
परन्तु, किन लेख्छु, केका लागि र किन लेख्छु भन्ने कुरालाई गौण राखेर हेर्दा ‘साँच्चै म किन लेख्छु ?’ म भन्न सक्दिनँ । अरू कसैले पनि भन्न सक्दैन ।
हुन त लेखेर पनि केही हुने होइन । नलेखेर पनि केही गुम्ने, गुमाउने हुँदैन । यो एक नियमित प्रक्रिया पनि हो, लेखनकर्मीका लागि ।
यौटा इमानदार लेखकले सधैँ लेखनमा आफूलाई समर्पित गरेको हुन्छ । लेखकीय मौलिकता स्थापित गर्नु सबैको लक्ष्य हुन्छ । मेरो पनि यही लक्ष्य । म आफ्नो लक्ष्यसम्म पुग्न पनि लेख्छु र लेखिरहन्छु ।
लेखनमा कसरी नवीनता ल्याउने भन्ने सधैँ उसको सोचाइमा चिन्ता हुन्छ । हेराइमा, बोलाइमा, बुझाइ र घुमाइमा सिर्जनात्मक ध्याउन्न र धुन हुन्छ ।
आफ्नो लेखकीय कर्मलाई कसरी उत्तम बनाउने, कसरी नयाँपन ल्याउने र कसरी अनुभूतिमा मिठास भरेर लेख्ने भन्ने नै मूल लक्ष्य हुन्छ ।
कसैको डर र धम्कीमा लेखक लुत्रुक्क पर्दैन । कसैको माया र घृणाले लेखकलाई कुनै असर पार्दैन ।
कसैले सोध्छन्– तपार्इंले के पुरस्कार र सम्मान पाउनुभयो ?
तर, म पुरस्कार र सम्मानको पछि लाग्ने लेखक होइन । त्यस्ता लेखकले मानसम्मानको खोजी कहिल्यै पनि गर्दैन । आशा पनि राखेर लेखेको हुँदैन उसले ।
अरूहरूजस्तो प्रशंसाको भोको, चर्चाको प्यासी र पुरस्कारका लागि मरिहत्ते गर्ने स्वभाव हुँदैन । खुरुखुरु लेख्ने, सुरुसुरु आफ्नै लेखकीय पहिचान निर्माणमा व्यस्त रहने आदत हुन्छ ।
मेरो विचारमा पुरस्कार र सम्मान भन्ने कुरा कदापि पनि विवादित हुनु हुँदैन । निष्पक्ष मूल्यांकनबाट प्रदान गरिने पुरस्कार तथा सम्मानले सम्मान गर्ने संस्थाकै शिर उचो भएको हुनुपर्छ ।
तर, हामीकहाँ नातावाद, चाकडी, नजिकका प्रिय पात्रलाई खुसी पार्न, चित्त बुझाउन, पालोको पैँचो तिर्न आदि अनेक स्वार्थ प्राप्तिका निम्ति पुरस्कार प्रदान गरिन्छ । यसमा योग्यता, क्षमता, समर्पण, साधना र लेखकीय मौलिकताको कुनै लेखाजोखा नै गरिँदैन ।
यस किसिमको परिपाटीले पुरस्कारको औचित्य र गरिमा गौरवमय हुनुको सट्टा ‘एक हातले दिने र अर्को हातले लिने’ परम्परा विकसित छ भन्दा अत्युक्ति हुँदैन भन्ने मलाई लाग्छ ।
म कसैको लागि पनि लेख्दिनँ । पाठक, समीक्षक वा प्रकाशक हेरेर लेख्नेहरू पनि होलान् । तर, म कसैको खुसीका लागि, कसैले मन पराइदेला भनेर लेख्ने गर्दिनँ ।
कसैले म पाठकका लागि लेख्छु पनि भन्लान् । तर, म भने स्वान्त सुखाय । मेरो लेखन कसैका लागि होइन ।
मेरो लेखन मेरै लागि हो भन्ने मान्यतामा छु । कसैले पढिदिऊन् भन्दिनँ म । कसैले चर्चा गरिदिऊन् पनि भन्दिनँ ।
मेरो लेखन कसैले पढिदिएर सगरमाथा आरोहणमा कीर्तिमान कायम गर्ने होइन । त्यति गरेपछि मेरो कृति विश्वसाहित्यमा छलाङ मार्न पुग्ने होइन ।
कसैले नपढिदिएर मलाई केही हुने र नहुने हुँदैन । तथापि, लेख्छु आफ्नै खुसीका लागि, आफ्नै सन्तुष्टि र समष्टिका लागि ।
यति कुरा लेखिसकेपछि ‘म किन लेख्छु ?’ को उत्तर पाइन्छ होला भन्ने मलाई लाग्छ ।