site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आख्यानमा लेखकको कल्पना बोल्नुपर्छ 
Sarbottam CementSarbottam Cement

(आख्यानकार राजव पुडासैनी उपन्यास र कथा लेखनमा सक्रिय सर्जक हुन् । विगत चार दशकभन्दा बढी समयदेखि आख्यान साहित्यमा क्रियाशील छन्, राजव । थुप्रै उपन्यास र कथाकृति सार्वजनिक गरिसकेका छन् । हालै उनले उपन्यास ‘क्रूर पृष्ठमा जो थिए’ बजारमा ल्याएका छन् । ०२८ सालको एउटा घटनालाई उनले यो उपन्यासको कथावस्तु बनाएका छन् । प्रस्तुत छ, राजवसँग यही उपन्यासबारे गरिएको कुराकानीको सम्पादित अंश)

‘क्रूर पृष्ठमा जो थिए’ मा कस्तो क्रूरता समेटिएको छ ?
यो उपन्यासले एउटा क्रूरकाललाई नै समेटेको छ । वि.सं. २०२८ सालको एउटा पृष्ठभूमि यसमा अंकित छ । पञ्चायतकालीन समयको घटना हो यो । त्यो समयमा बारा, पर्सा, रौतहटमा हिन्दु–मुस्लिम समुदायबीच साम्प्रदायिक दंगा भएको थियो । त्यो घटना रौतहटको एउटा गाउँ भुसहाबाट सुरु भएको थियो । त्यस गाउँका एकथरीले गाई काटेर खाए भन्ने हल्ला व्यापक फैलियो ।

त्यसपछि हिन्दुहरूबाट प्रहार भयो । र, यो घटना फैलिँदै फैलिँदै गयो । अफवाहमा फैलिएको त्यो घटनामा दुवै पक्षका दुईअढाई सय मानिस मारिए भन्ने अनुमान गरिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस घटनापछिको समयमा म मेरो गाउँ बाराको बन्जरिया गएको थिएँ । त्यही साल मेरो एसएलसी पनि थियो र सेन्टर कलैयामा थियो । त्यस घटनाको हल्ला यति व्यापक थियो कि त्यसले त्रासदपूर्ण वातावरण बनाएको थियो । यो मैले आफूले नै अनुभव गरेको घटना थियो ।

जब मैले कथा र उपन्यास विधामा कलम चलाउन थालेँ, त्यसपछि यो घटना मेरो मानसपटलमा आउन थाल्यो । यो विषयमा त लेख्नुपर्छ भन्ने मलाई लाग्न थाल्यो । तर, विषय गम्भीर भएकोले तत्काल हात हालिनँ । मैले समयानुरूप कथा, कविता र उपन्यासहरू लेख्दै गएँ । तथापि, यो घटना मेरो मस्तिष्कमा पाकिरहेको नै थियो । किनभने, यस विषयमा उपन्यास लेख्छु भन्ने लागिसकेको थियो । खालि कहिले लेख्ने भन्ने टुंगो हुन सकिरहेको थिएन ।

Global Ime bank

जब मैले ‘काफ्काको काम सकियो’ (उपन्यास)को काम सकाएँ, त्यसपछि यस विषयमाथि लेख्न सुरु गरेँ । तर, २८ सालको त्यो घटना उपन्यासको एउटा आधार मात्रै हो । सांगोपांग केही पनि छैन । बस्, उपन्यासको एउटा बेस मात्रै हो । बाँकी सबै कल्पनाका कथानक छन् । एउटा झिल्कोझैँ केन्द्रविन्दु मात्रै हो, रौतहटको त्यो घटना ।

पाँच दशक पुरानो घटना, कसरी आख्यानीकरण गर्नुभयो ?
आख्यान लेख्ने भइसकेपछि त घटनाहरू दिमागमा पाकिनै रहन्छन् । कुनै पनि विषयवस्तुलाई कसरी प्रस्तुत गर्ने भन्ने काम मस्तिष्कले गरिरहेको हुन्छ । त्यसलाई कागजमा उतारिएको मात्रै हुइँदैन । रौतहटको त्यो घटना पनि त्यसैगरी मेरो मस्तिष्कमा पाकिरहेको थियो ।

यसलाई लेख्न थालेपछि त घटना, स्मृतिसँगै कल्पना, परिकल्पना, समाज, समुदायका विभिन्न आयामहरूको प्रयोग हुन थाल्यो । विशेष रूपमा यसमा मेरो स्मृतिले काम गरेको छ भन्छु म ।

तपाईंका उपन्यासहरूमा बारा जिल्ला आइरहन्छ नि !
यसको खास कारण के हो भने म त्यतै हुर्किएँ । बारा जिल्लाप्रति मेरो लगाव र प्रेम धेरै अर्थमा छ । आफू जहाँ हुर्कियो, त्यहाँका विषयवस्तु, समाज, परिवेश आउनु स्वाभाविक हो । फेरि, तराईंको भूमि म रुचाउँछु । मलाई जाडोभन्दा न्यानो मन पर्छ । गर्मी मन पराउँछु । त्यसैले काठमाडौंमा रहँदा मीन पचासको छुट्टी हुनासाथ म गाउँ गइहाल्थेँ । मंसिरदेखि फागुनसम्म आरामले बस्थेँ । उखु खायो, भैँसी चरायो, घुर ताप्यो, त्यसैगरी बित्थ्यो समय । तिनताक तराईको माहोल नै अलग्गै थियो ।

त्यसैले पनि बारा जिल्लाको सेरोफेरोका सन्दर्भ प्रायः मेरा उपन्यासमा भेटिन्छन् । ‘सोटिट’, ‘बेकारीमा उपन्यास’, ‘काफ्काको काम सकियो’ सबै उपन्यासमा कुनै न कुनै रूपमा बारा भेटिन्छ ।

खासमा तराई र काठमाडौंलाई जोड्ने प्रयास मेरो सधैँ रहन्छ । तराईमा जुन संवेदना छ, जुन पीडा छ, त्यो पहाडमा पनि छ, काँठमा पनि छ । त्यसलाई अलग हेर्नु हुन्न भन्ने मेरो सोच हो । त्यसलाई जोडनुपर्छ भनेरै मैले आफ्ना सिर्जनाहरूमा तराई र काँठ जोडेर लेख्ने गरेको हुँ । हामी कहाँ अलग छौँ र तराई र पहाड ! मैले त्यही देखाउन खोज्दै आएको छु ।

त्यसैले पनि रौतहट घटनाको त्रासले झकझकाएको हो ?
२०२८ सालमा घटेको त्यो घटनाको त्रास निकै पछिसम्म रह्यो । सम्भवतः आठदश महिनासम्मै त्यस क्षेत्रमा त्रासदी रह्यो होला । त्यसको असर अहिले पनि कहिलेकाहीँ देखिन्छ । केही समयअघि मात्रै पनि रौतहटमा कर्फ्यु लगाउनुपरेको घटना समाचारमा आएकै विषय हो ।

त्यही घटनामाथि उपन्यास लेख्नचाहिँ मस्तिष्कले कहिले अह्रायो ? 
मैले कथा, कविता लेख्न थालिसकेको थिएँ । त्यसैताका २०३७/३८ सालतिरै मैले यस विषयमा कथा लेखौँ भन्ने सोचेको हुँ । तर, यो विशद विषय थियो । यसमा सानो आकारको कथाभन्दा लामै आख्यान लेख्न सकिन्छ भन्ने लागेपछि अरू उपन्यास र कथा लेख्दै गएँ ।

मैले पहिलो उपन्यास लेख्न सुरु गर्दा पनि यो विषय दिमागमा नआएको होइन । तर, यसलाई कुन किसिमबाट लेख्ने भन्ने विषय ठम्याइसकेको थिइनँ । त्यसैले अरूअरू विषयमा लेख्न थालेँ । यो विषय थाती रहँदै गयो । ‘काफ्काको काम सकियो’ लेखिसकेपछि भने अब यसकै समय हो भन्ने लाग्यो र लेख्न थालेँ ।

कति समय लाग्यो यो उपन्यास लेख्न ?
दुईअढाई वर्षको समय लाग्यो यसलाई सिध्याउँदा । सुरुमा त छसात महिना यसको एकसरो प्रारम्भिक लेखनमै लाग्यो । त्यसपछि केही समय लेखन बन्द गरेँ र यसलाई थन्काएँ । तर, उपन्यासका विषयमा केही नयाँनयाँ थप दृश्य तथा पात्रहरूबारे सोचिरहेँ ।

यसरी पहिलो चरणको लेखनपछि पाँचछ महिनै थन्काएँ, उपन्यास । त्यसपछि फेरि निकालेर मिलाउन थालेँ । प्रकाशकको जिम्मा नलगाउन्जेलसम्म मैले उपन्यासमा काम गरिनै रहेको थिएँ । यस कृतिमा म एकदमै भिजेको छु । डुबेको छु । हुन त म हरेक उपन्यास विषयवस्तु र कथानकमा डुबेरै लेख्छु, तर यो उपन्यासमा केही विशेष नै डुबेँ ।

यसमा कुनै अनुसन्धान पनि गर्नुभयो ?
गरिनँ । किन गरिनँ भने अनुसन्धानको प्रभाव उपन्यासमा पर्ला भन्ने डर भयो । म स्मृतिमा भएकै कुराहरूलाई आधार बनाएर यो उपन्यास लेख्न बसेको थिएँ । र, त्यसरी नै उपन्यास लेखियोस् भन्ने मेरो दृष्टिकोण थियो ।

अनुसन्धान गरेर पनि उपन्यास लेख्ने चलन आएको छ नि !
यो इतिहासमा घटेको घटनामा आधारित रहेर लेखिएको उपन्यास हो । मैले यसमा लेखेको पनि छु, ‘मेरो प्रयास स्कुलमा नपढाइने इतिहास लेख्नु हो ।’ सबै इतिहास स्कुलमा पढाइन्न । यो स्कुलमा नपढाइने इतिहास हो । यसमा सामान्य जनताले पीडा भोगेको कथा छ । राजनीतिको कर्तुत छ । त्यसलाई नै मैले उजागर गरेको हुँ ।

त्यो समयमा को क्रूर थिए, को पीडित थिए भन्ने यस उपन्यासमा देखाएको छु । जो पीडित थिए, तिनमा के प्रभाव पर्यो, तिनको कार्यशैली कस्तो रह्यो भन्ने पनि यसमा देखाउन खोजेको छु । तिनको भूमिका यो घटनाप्रति के थियो, दृष्टिकोण के थियो, यी यावत् विषयहरूलाई यहाँ देखाउने प्रयास गरेको हुँ ।

यस्ता घटनाहरू धेरै भएका छन्, इतिहासमा । त्यो लेख्न जरुरी पनि छ भन्ने मलाई लागेको थियो । त्यसैले पनि लेखेँ । त्यो नलेखेको भए सायद म छट्पटाइरहने थिएँ ।

त्यस्ता घटना सिर्जना गर्ने, मुछिनेलाई उपन्यासले केही सन्देश दिन्छ ? 
यसमा सन्देश नै भनेर केही दिइएको छैन । लेखकले सन्देश दिने पनि होइन । तर, उपन्यास पढिसकेपछि स्वतः सन्देश प्रकट हुन्छ यसबाट । त्यो घटनापछि फाइदा के भयो त ? त्यतिका मानिस मरे, फाइदा कसलाई भयो ? उन्मादले के गर्छ त ? त्यसले विनाशबाहेक केही पनि गर्दैन भन्ने त उपन्यासले बताउँछ नै । वास्तवमा राजनीतिबाटै निस्किएको चक्र थियो त्यो । त्यो पनि पञ्चायतको बेलामा ।

अनुसन्धान गरेर उपन्यास लेख्ने प्रचलनलाई के भन्नुहुन्छ ?
आख्यानमा कल्पनाशीलता बढी हुन्छ । तर, अनुसन्धान गरेपछि त्यसमा आख्यान तत्त्व हुन्न । इतिहासका कुनै पात्रमाथि लेख्नुपर्यो भने त अनुसन्धान गर्नैपर्छ । त्यस विषयमा बुझ्नैपर्छ । जीवनीपरक उपन्यास लेख्दा अनुसन्धान जरुरी हुन्छ । त्यस्तो अवस्थामा पात्रहरू फेरिएका हुन्छन् । स्थिति फेरिएका हुन्छन् । त्यसको रिफ्लेक्सन इतिहासमा गरिएको हुन्छ । तर, सामाजिक घटनामाथि लेखिने आख्यानमा अनुसन्धान जरुरी हुन्न ।

अनुसन्धान गर्दा केही प्रभाव त पर्छ नै । शुद्ध आख्यानको स्वाद अनुसन्धान गरिएको आख्यानमा आउँदैन । आख्यानको स्वाद नआएपछि त्यो आख्यानजस्तो लाग्दैन । मलाई त्यस्तो लाग्छ । आख्यानमा लेखकको कल्पना नै बोल्नुपर्छ भन्ने मलाई लाग्छ ।

हो, कहिलेकाहीँ आफ्नै स्मृतिलाई जगाउन पनि केही कुरा पढ्नु वा अनुसन्धान गर्नु आवश्यक हुनसक्छ । किनभने, त्यो बिर्सिन पनि सकिन्छ ।

अब के लेख्ने तयारी गर्दै हुनुहुन्छ ?
मैले कोरोनाकालमा लेखेका केही कथाहरू छन्, त्यसको संग्रह पनि बन्न सक्छ । उपन्यासकै लागि पनि केही विषयहरू मस्तिष्कमा घुमिरहेका छन् । त्यसैले उपन्यासमाथि नै काम गर्छु होला । मेरा समग्र कथाहरूको एउटा संग्रह निकाल्ने सोच पनि छ । हेर्दै जाऊँ !

प्रस्तुति : राजेश खनाल
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement