काठमाडौं । कुनै अनपेक्षित घटनाले किशोरवयमै निमोठे कस्तो होला ? त्यो भोग्ने स्वयंलाई बाहेक कसलाई थाहा होला र ! बाहिरी व्यक्तिले गर्ने त कल्पना मात्र न हो । करिअरको उचाइमा पुग्दै गर्दा बाटोमा अवरोध सिर्जना भयो । त्यसको कारण के थियो, त्यो आधिकारिक रूपमै बाहिर आइसक्यो । सरकारी निकायले नै सार्वजनिक गरिसके । दोषी को हो ? अदालतले नै करार गरिसक्यो । तर, अदालती तथ्यप्रमाणलाई विश्वास गर्ने हो भने जे सत्य थिएन, त्यसैका कारण समीक्षा (अधिकारी)ले बालवयमै गालीको वर्षा सहनुपर्यो ।
सामाजिक सञ्जालमा तथानाम गालीको ओइरो व्यहोरिन्, जब उनी पीडकविरुद्ध उभिइन् । सामाजिक सञ्जाल उनीविरुद्धका गालीले भरिन थाले । चाहे फोटो पोस्ट गरून् वा स्टाटस राखून्, हरकोहीले उनलाई मनपरी गाली गर्न थाले ।
विभिन्न सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भनिसकेकी छन्, उनका हरदिन आँसुमा बित्न थाले । नबितून् पनि कसरी, माया नै मायाका शब्द पाइरहेको थलो एकाएक गाली र आरोपले भरिन लागेपछि ।
समयले कोल्टो फेर्यो । विस्तारै उनी काममा फर्किन लागिन् । सामाजिक सञ्जालमा पनि उनलाई गरिने गाली कम हुन थाल्यो । उसैगरी माया पाउन थालिन् । कमेन्ट बक्स सफलताको शुभकामना र बधाईले भरिन थाले । अनि, उनले टेकिन् बलियो खुट्टा । समीक्षा पुरानै लयमा फर्किइन् । उनी दिनकै स्टुडियोमा गुन्जिन थालिन् । स्टेज कार्यक्रममा गाउन थालिन् । मेला–महोत्सवका सिजनमा हरेक दिनजसो व्यस्त हुन थालिन् ।
हरेक दिन रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराएका तस्बिर फेसबुकमा सार्वजनिक गर्न थालिन् । उनले एक दिन लेखिन्– आज सातवटा गीतको रेकर्डिङ सम्पन्न । अर्थात्, एकैदिन उनले सात गीत रेकर्ड गराइन् । सातवटासम्म गीत रेकर्ड गराएपछि दिनहुँजसो ती सार्वजनिक हुने नै भए ।
आफ्नै जीवनसँग मिल्दाजुल्दा गीत पनि पछिल्लो समय उनले गाइरहेकी छन् । यसै सन्दर्भमा केही समयअघि बाह्रखरीसँग उनले भनेकी थिइन्, “मेरो काम गीत गाउने हो । मलाई अफर आएका मध्ये राम्रो लागेका गीत गाउँछु । मेरो भोगाइसँग मिल्दोजुल्दो लागेको मात्रै हो । वास्तवमा धेरैले भोग्दै आएका समस्या गीतमा उल्लेख हुन्छन् ।”
समीक्षाको जीवन भोगाइलाई हेरेर राजेन्द्र थापाले त गीत नै लेखे, ‘यस्तो नहोस् कसैलाई...’ आफूले समीक्षालाई हेरेर यो लेखेको गीतकार राजेन्द्रले बताएका थिए । बाह्रखरीसँग राजेन्द्रले भनेका थिए, “हो, मैले यो गीत समीक्षाकै लागि लेखेको हो । उसैका लागि संगीत गराएको हो । म्युजिक नेपाललाई उसैका लागि रिक्वेस्ट गरेको हुँ ।”
जब कोही कलाकार करिअरको पिकमा हुन्छ र अनपेक्षित आरोप वा त्यस्तै कुनै मुद्दाको उल्झनमा पर्छ, त्यसबाट पुनः पहिलाकै अवस्थामा फर्कन कठिन हुन्छ । त्यो विगतले पनि देखाएको छ । कुलतमा फसेर होस् वा पारिवारिक उल्झन वा यौन मामिला परेर, त्यस्ता कलाकार कमै मात्र पुरानै लयमा फर्किएका छन् ।
तर, समीक्षाले आफूलाई पवेलियनबाट चाँडै मैदानमा फर्काइन् । मैदानमा फर्किइनन् मात्र, सानदार पुनरागमन पनि गरिन् । उस्तै लोकप्रियता हासिल गरिन् ।
अलिकति अगाडि फर्कंदा समीक्षासँग अमिलो अनुभव सँगालिएको छ । गीत रेकर्ड गराइसके पनि गाली खाइन्छ भनेर अर्कैलाई गाउन लगाएको तितो अनुभव उनको सम्झनाको तरेलीबाट ओझेल परेको छैन । आफूले गाएर छोडेको गीत अर्कैको स्वरमा आउँदा उनले मुटु चुँडिएको अनुभूति गरिन् । बलेको आगो ताप्ने समाजको प्रवृत्ति उनले पनि भोगिन् ।
समीक्षा परिबन्दमा परिन् । समाजले उल्टै उनलाई लखेट्यो । समस्यालाई पार लगाइन्, समाजले पनि उनको हाइ हाइ गर्न थाल्यो । अहिले स्टेज उनकै भएको छ । रेकर्डिङ स्टुडियोमा उनकै पाइला बाक्लिन थालेका छन् ।
चलचित्रका होस् वा लोकगीत, आधुनिक होस् अथवा दोहोरी समीक्षाको गला मजाले चल्छ । त्यसैले समीक्षा पहिला जति व्यस्त थिइन्, अहिले त्यति नै लोकप्रिय र डिमान्डेड छिन् ।
कुनै समय समीक्षाले जिन्दगीदेखि नै हरेस खाइसकेकी थिइन् । अनावश्यक आरोप र लाञ्छनाको भारीले दिक्क लागेको उनले ‘द प्रकाश सुवेदी शो’मा बताएकी थिइन् । उनै समीक्षाले ‘न्युज २४’ को ‘ई–टक’मा अर्को जिन्दगीमा छोरी भएर जन्मिन नपरोस् भनेर कामना गर्ने गरेको बताएकी थिइन् ।
कुन रगतपसिनाले घरको तलो थपिन्, तर समाजले उनलाई पीडकबाट अदालतले भराएको १० लाख रुपैयाँ क्षतिपूर्तिले समीक्षाका बाउआमाले घरको तलो थपे भन्ने लाञ्छना लगायो । उनकै शब्दमा– न त्यो क्षतिपूर्ति लिएकी छन् न त उनलाई त्यसको आवश्यकता नै छ । यस्तो आरोप लगाउने समाज देखेकी उनलाई अर्को जुनीमा छोरी भएर जन्मिन नपरोस् भन्ने लागेको हो ।
समीक्षाकै शब्दमा– उनी औसतमा दैनिक तीन/चार गीत गाउँछिन् । यसरी दिनमा तीनका हिसाबले महिनामा ९० गीत रेकर्ड गराउँछिन् । एउटाको १५ हजार मात्र लिँदा पनि यसै आकर्षक कमाइ हुन्छ । उनी देश–विदेशका मेला–महोत्सवमा पनि जान्छिन् । त्यस्ता कार्यक्रममा कलाकारले ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछन् । त्यसैले बुझ्दै नबुझ्ने मान्छेका प्रतिक्रिया र आरोपले उनलाई दिक्क बनायो ।
समाजले उनलाई ठुँगिरह्यो । समीक्षाले सहिरहिन् । सामाजिक सञ्जालमार्फत नै किन नहोस्, आफ्नो आवाज दबाइनन् । बोलिरहिन् । सहँदा सहँदै समीक्षाकै शब्दमा– उनी लडाकु बनिन् । गाउँबाट आएको र आफ्नो ठूलो सपना नरहेको भन्ने उनी पखेटा नै काटिदिन समाज हमेसा कुरेर बसेको बताउँछिन् ।
गाउँबाट आएको आफ्नो विगत भुलेकी छैनन् । मात्र फणा फिँजाएर उड्न चाहेको बताउँदै समीक्षा भन्छिन्– सपना देख्नु र त्यसलाई भेट्टाउन खोज्नु गल्ती हो र ?
‘यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला । बिहान–बेलुकीको घरधन्दा, गाईवस्तु र छोराछोरी । मेरो परिवारको धेरै ठूला सपनाहरू थिएनन् । छैनन् पनि । साँघुरो सपनाहरूबाट फैलिन चाहनु मेरो के गल्ती थियो र ? म त पखेटा फिँजाएर उड्न चाहन्थेँ । तर, बतास बनी कतै उडाएर लैजान खोज्ने धेरै भेटिए,’ समीक्षाले फेसबुकमा लेखेकी छन्, ‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक–पटक पार्यो । धेरैपटक मार्यो । तर पनि उठेँ । हिम्मत हारिनँ । हार्ने पनि छैन । आजभोलि त मलाई म लडाकुजस्तै लाग्छ ।’
अन्याय जति सह्यो, त्यति नै हेपिनुपर्ने उनले अनुभव गरिन् । त्यसैले अन्यायका विरुद्ध लड्ने तागत सम्पूर्ण महिलामा आफैँबाट आओस् भन्ने उनी कामना गर्छिन् । सुझाव दिन्छिन् ।
गायिका एलिना चौहान उमेरले समीक्षाकी दिदी हुन् । त्यसैले उनी समकालीन नै भए पनि दिदी भन्छिन् । केही समयअघि पर्वतको एउटा स्टेज कार्यक्रममा साउन्डका विषयमा एलिना विवादमा परिन् । साउन्ड सिस्टम व्यवसायीको संघले एलिनाका कार्यक्रम बहिष्कार गर्ने निर्णय गर्यो । अनि, समीक्षाले एलिनालाई ‘वी स्ट्रङ एलिना चौहान दि’ भन्दै लेखिन्– गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला । जस्तोसुकै परिस्थितिमा पनि होस नगुमाई हामी सबै अघि बढ्नुपर्छ । प्राविधिक र कलाकार नङ र मासुजस्तै हौँ । एउटालाई काटे अर्कोलाई दुख्छ । हामी सबै संगीतकर्ममा छौँ । दुवै पक्षले आत्मालोचना गरेर अघि बढ्नु नै महानता हो ।
घाउमा खाटा त बस्दै छ, निको पनि होला । तर, ठूलो घाउ – खत त बसिरहन्छ नि ! त्यसैले समय बित्दै गए पनि समीक्षालाई विभिन्न घटनाले पीडाबोध हुन्छ । आफ्नो विचार राखिरहन्छिन् । गोरखाकी सालिन पोखरेलको मृत्यु शंकास्पद रहेको भन्दै केही समय समाचार प्रकाशित भए । बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले दाबी गरे । घटनाले समीक्षालाई बोल्न बाध्य बनायो । उनी बोलिन्– बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्–
१. माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन्, तर जीवनभर मार्छन् ।
२. जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन् न प्रमाण छाड्छन् । यी दुवै फाँसीका लायक छन् ।चितवनकी बहिनी सालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्छु ।
पीडाको आहालबाट पौडिएर बाहिर निस्कँदै स्रोतादर्शकबाट गुमेको साख फर्काएकी समीक्षा लडाकु त हुन् नै, स्ट्रङ लेडी पनि हुन् । उनले हार्न होइन, जित्न मात्र जानेकी छन् ।