
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा सागर ढकालले नेपाल ‘ए’ लाई दोस्रो र आरिफ सेखले तेस्रो सफलता दिलाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको आयरल्यान्ड वुल्भ्सका केड कार्माइकललाई सागरले ९.६ ओभरमा एलबीडब्लूको धरापमा पारे । लगत्तै अर्को ओभरको अन्तिम बलमा आरिफले पेटर मुरलाई बोल्ड गरे ।
जारी खेलको ११ ओभरको समाप्त हुँदा वुल्भ्सले तीन विकेट गुमाएर ९६ रन बनाएको छ ।
यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पुनः नयाँ तालिका निकालेको हो ।
नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिका अनुसार नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।
एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।