site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युतीय लाइसेन्स प्रणाली : १६ महिनामै हस्तान्तरण हुनुपर्ने, १२ पटक थपियो म्याद
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवस्था विभागले सञ्चालनमा राखेको विद्युतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा गम्भीर कमजोरी रहेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालयकै पहलमा गरिएको ‘टेक्निकल अडिट’ले विभागसँग रहेको मद्रास सेक्युरिटी प्रिन्टर्सको प्रणाली असुरक्षित रहेको पाइएको हो । विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टमको प्राविधिक परीक्षण सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठको संयोजकत्वमा भएको हो ।

परीक्षण गर्नेमा प्रधानमन्त्री कार्यालयका सहसचिव विपीन आचार्य, सूचना प्रविधि निर्देशक मनिष भट्टराई र प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझी लगायत थिए । गत भदौ दोस्रो सातादेखि सुरु भएको अडिट रिपोर्ट गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो । अडिटमार्फत चार वटा छुट्टै रिपोर्ट बनेका छन् । जसमा पहिलो एप्लिकेसन अर्थात् समग्र प्रणालीको विश्लेषण गरिएको छ । विभागको यो प्रणाली २०७२ सालमा बनेको र त्यतिबेला नै म्याद नाघिसकेको प्रविधि प्रयोग भएको पाइएको रिपोर्टको निष्कर्ष छ ।

दोस्रोमा डाटाबेसको रिपोर्ट छ । प्रणालीको डाटाबेसमा प्रयोगकर्तालाई खुला पहुँच दिएको पाइएको छ । “डाटाबेसमा युजरलाई पहुँच दिएको पाइएको छ । यस्तो हुँदा युजरले जे पनि गर्नसक्छन् । यो भनेको मान्छेको हातखुट्टा हैन मस्तिष्क नै कन्ट्रोल गरे जस्तो हो,” अडिटमा संलग्न एक अधिकारीले भने ।

तेस्रो रिपोर्ट ‘लग एनालिसिस’को छ । त्यो भनेको कुने कसले कहाँबाट पहुँच पाएर, सिस्टममा ‘लगइन’ गरेर कसले के गर्याे भन्ने पूरै नभएपनि धेरैजसो कुरा रिपोर्टमा छ । र चौथो भीएपीटी रिपोर्ट रहेको छ । यसले प्रणाली कतिको जोखिमपूर्ण अथवा कमजोर छ भन्ने कुरा देखाएको छ ।

१२ पटक म्याद थप
मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)सँग १६ महिनामा हस्तान्तरण गरिसक्ने गरी सम्झौता भएपनि हालसम्म १२ पटक म्याद नै थप भइसकेको छ । ड्राइभिङ लाइसेन्स प्रणालीको सफ्टवेयरमात्रै नभएर हार्डवयर र अन्य विभिन्न सम्झौता विभागले एमएसपीसँग गरेको छ ।

लाइसेन्स प्रणालीको सोर्स कोड समेत एमएसपीले उपलब्ध गराएको छ । “एक पटक सोर्स कोड भनेर दिएको रहेछ । तर, त्यो डिप्लोय गरेर हेर्दा पूरा हुन सकेन । उसलाई प्रतिक्रिया माग्दा जवाफ दिएको छैन,” अडिटमा संलग्न अधिकारीले भने ।टेक्निकल अडिट रिपोर्टले निश्चित अवधिमा प्रणालीमा हेरफेर भएर फर्जी लाइसेन्स वितरण भएको निष्कर्ष समेत निकालेको छ । यो निष्कर्ष यातायात व्यवस्था विभागले दुई महिनाअघि सार्वजनिक गरेको एक लाखभन्दा बढी नक्कली लाइसेन्स बिक्री प्रकरणको प्रतिवेदनसँग मिलेको छ । 

 

समग्रमा एमएसपीसँग भएको सम्झौताबाट प्रणालीले भनेअनुसार काम नगरेको र सुरक्षा स्थिति पनि निकै गम्भीर रहेको रिपोर्टको निष्कर्ष छ । “यो प्रणाली सोचेभन्दा बढी जोखिमपूर्ण भेटिएको छ । रिपोर्टमा भएका कुराहरु अनुसन्धानतर्फ मोडिएका छन्, त्यसैले भन्न मिल्ने अवस्था छैन । लाइसेन्स प्रिन्टिङतिर पनि समस्या छ । छाप्न बाँकी लाइसेन्स १६ लाख पुगिसकेको छ,” उनले भने ।

प्रधानमन्त्रीका आईटी विज्ञ रायमाझीले केन्द्र सरकारले मात्रै खर्बमा लगानी गरिसकेको बताए । “मर्मत–सम्भार र सेवा शुःल्क भनेर वार्षिक अर्बबढी बाहिरिने गरेको देखिएको छ । यी धेरै काम नेपालकै कम्पनी र सरकार आफैँले गर्न सक्ने हुँदा हुँदै पनि ठूलो बेथिति फैलिएको देखियो,” विभिन्न सरकारी निकायका सूचना प्रविधि प्रणालीको प्राविधिक परीक्षणमा संलग्न रायमाझीले भने ।

उनले सानो कामका लागि समेत विदेशी भेन्डर खोज्ने गरिएको भन्दै सरकारले नीति तथा कार्यक्रममा ‘मेक इन नेपाल, मेड इन नेपाल’को अवधारणाअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले नेपाली नागरिकको महत्त्वपूर्ण तथ्यांक कहाँ छ के छ भनेर डाटा सुरक्षाबारे नसोचिएको बताएका छन् । “लाइसेन्स, पासपोर्ट, राष्ट्रिय परिचयपत्र लगायतका महत्त्वपूर्ण प्रणाली सरकार आफैँले बनाउनुपर्छ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro