site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाठक जागरुक नभए साहित्य अगाडि बढ्दैन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

(नेपाली आख्यानसाहित्यमा लामो समयदेखि आफ्नै उचाइ बनाएका नारायण ढकालका थुप्रै साहित्यिक कृति प्रकाशित छन् । उनका विभिन्न उपन्यास, कथा, संस्मरणलगायत पुस्तक यसअघि नै सार्वजनिक भइसकेका छन् । ढकालको अर्को कथाकृति हालसालै बजारमा ल्याइएको छ, ‘तमस’ । यसमा उनका १३ कथा समावेश छ । त्यसमध्ये एउटा कथा उपन्यासझैँ लामो छ । ‘तमस’माथि केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश)

‘तमस’का कथाहरूले काँठ कतिको छोएको छ ?
यसका केही कथाहरूमा काँठ पनि छ । त्यो हुने नै भयो, किनभने म जन्मिएको, हुर्किएको नै काँठमा हो । फेरि, मलाई थाहा भएको पनि काँठकै विषयवस्तु हो । त्यसैले तिनमा काँठको समस्या र त्यहाँका पात्रहरू हुनु स्वाभाविक हो । काँठको अन्तस्करण मलाई थाहा भएकाले कथामा त्यो हुन्छ नै ।

तर, केही कथाहरू काँठबाहिरका पनि छन् । जस्तो, यसमा रहेको सबैभन्दा लामो कथा ‘आत्महन्ता’को विषयवस्तु सहरतिर केन्द्रित छ । कताकता काँठ देखिएला, तर सहरलाई विशेष रूपमा यसमा प्रस्तुत गरिएको छ । ‘तमस’भित्र अरू कथाहरू पनि छन्, जसले अन्तको विषयवस्तु समेटेको छ । एउटा कथाले अमेरिका, क्यालिफोर्नियाको कथा पनि बोेकेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अनेक भावभूमिका कथाहरू छन् भन्दा हुन्छ ?
निश्चय नै । उपन्यास लेख्दा मैले काँठ धेरै प्रयोग गरेको छु, त्यो उपन्यासमा देखिन्छ । कथामा भने अन्त पनि जान्छु । मेरो अघिल्लो कथासंग्रह ‘इन्द्रजाल’मा तराईका कथाहरू पनि छन् । ‘बहिर्गमन’ कथासंग्रहमा पनि तराईका कथा छन् । मधेस मुभमेन्टको झलक आउने गरी त्यसमा कथा लेखिएको छ । त्यसो त हामी कथामा आन्दोलन लेख्दैनौँ । मैले कथामा मान्छेको अन्तस्करण लेख्ने हो ।

यस संग्रहको १३औँ कथा अलि लामो छ, लघुउपन्यासजस्तै !
लघुउपन्यास भनिदिँदा पनि हुन्छ । लेखकले भनिदिएपछि हुन्छ पनि होला ! नोबेला भन्ने एउटा परम्परा पनि त छ । तर, मैले लामो कथा नै लेखेको हुँ । यस्तो कथाको परम्परा पनि छ । जस्तो, टोल्सटोयका कथा लामा हुन्छन् । उनका थुप्रै लामा कथाहरू छन्, जुन विश्वचर्चित छन् । त्यसैले पनि मैले ‘आत्महन्ता’लाई कथा भनेको हुँ । कतिपयले यो तेरो उपन्यास नै हो पनि भनेका छन्, किनभने यो कथा ‘बसाइँ’भन्दा ठूलो छ ।

Royal Enfield Island Ad

लघुउपन्यास लेख्ने प्रचलन पनि त छ नि !
छ । ह्यामिङ्वेको ‘द ओल्ड म्यान एन्ड द सी’लाई उपन्यास नै भनिएको छ । यस्ता थुप्रै किताब छन् । तर, म टोल्सटोयबाटै केही सिक्छु भनेर लागेको हुँ । त्यसैले पनि लामा कथा लेख्दै आएको हुँ ।

काँठका भाषा, प्रस्तुति आञ्चलिकताभित्र पर्छ कि पर्दैन ?
विश्वसाहित्यमै आञ्चलिकताको एकखालको परम्परा छ । भारतमा ‘मैला आँचल’लाई धेरै समालोचकहरूले आञ्चलिक भनेका छन् । आञ्चलिकताको विशेष सुगन्ध, भाषा र त्यसका चरित्र निर्माणका कुराहरूलाई लिएर त्यसो भनिएको छ । मचाहिँ आञ्चलिक नै भनेर भन्दिनँ ।

भाषा त हामीकहाँ पनि एउटा पँधेरोबाट अर्को पँधेरो पुग्दा फरक हुन्छ । मैले काँठको जुन भाषा बुझ्छु, अलि परको गाउँको भाषा फरक हुनसक्छ । त्यसैले म आञ्चलिक नै भन्दिनँ । मेरो त परिवेश मात्रै हो ।

यस कृतिलाई तपाईंले ४० वर्षको मिहिनेत भन्नुभएको छ, के भन्न खोज्नुभएको हो ?
खासमा मैले केही नयाँ कथाहरू लेखेँ । र, किताबमा केही पुराना कथाहरू पनि समेटिए । कथाको भार हेर्ने हो भने नयाँ–पुराना गरेर आधाआधा होला । मेरा पुराना कथाहरू पनि केही थिए, त्यसलाई मर्म नभाँचिने गरी पुनर्लेखन गरेँ । त्यसैले यसमा केही पुराना कथा पर्न गए ।

यस कथासंग्रहमा २०४० सालअगाडि र त्यसवरिपरिका कथाहरू अनि पछिल्ला कथाहरू पनि समेटिएकोले समयका हिसाबकिताबले ४० वर्षको कथा भनेको हुँ ।

लामो कथा कहिले लेख्नुभएको हो ?
यो २०५० सालपछि लेखिएको कथा हो । यो कथाको विम्ब आएको त अघि नै हो । एउटा सर्जकमाथि भएको प्रहारलाई यसको कथानक बनाएको हुँ । मलाई भैरव अर्याल झलक्क सम्झनामा आउँछन् । भैरव अर्याल धेरै ठूलो मान्छे लाग्छ मलाई । साहित्यिक व्यक्तित्वका हिसाबले पनि ठूलो व्यक्तित्व ।

व्यक्तिगत कुरा गर्ने हो भने त प्रारम्भमा म उनीप्रति नकारात्मक थिएँ, किनभने मैले जे लगे पनि उनले छापेनन् । उनले गाली गरेर मात्रै पठाए । भैरव अर्यालले मलाई मद्दत गरेनन् भनेर पनि भनेँ । तर, ती मानिस धेरै प्रतिभाशाली मानिस हुन् ।

अर्यालका कविता हेर्नुस्, उत्तिकै बलियो छ । सम्पादन पनि उत्तिकै सशक्त । समालोचकका रूपमा पनि उनी अद्भुत थिए । हास्यव्यंग्यको बारेमा त केही कुरै भएन । उनको आत्महत्या मेरो दिमागमा विम्बका रूपमा थियो । तर, यो उनको कथा लेखेको भने होइन ।

उपन्यासका पाठक बढी छन् कथाको तुलनामा ?
हो, उपन्यासका पाठक बढी छन् । कथाका पाठकहरू कम हुन् कि भन्ने मलाई लाग्छ । सुरुका अवधिमा मैले कथाहरू धेरै लेखेँ । उपन्यास पछि मात्रै लेख्न थालेको हुँ । सुरुमा धेरै कारणले मलाई कथा मात्रै लेखायो होला । पछि विचार गरेँ– हैन, उपन्यास पनि लेख्नुपर्छ । त्यसैले मैले उपन्यास लेख्न थालेको हुँ ।

पछिल्लो समय पाठकहरूले बायोग्राफिकल निबन्धहरू मन पराइरहेको पाएको छु । ‘अन्तिम पात’ पुस्तकमा मेरो अल्लारे जीवनका चकचकहरू लेखेको छु । त्यो धेरैले मन पराएको पाएँ । समाजले गल्ती नगर भन्छ, तर पाठकहरूले त्यही गल्ती मन पराउँदा रहेछन् ! (हाँसो)

मेरो निबन्ध पनि पाठकहरूले रुचाइदिनुभएको छ । त्यसैले निबन्ध पनि पाठकले मन पराउनुहुन्छ भनेको हुँ ।

कथा लेखन फितलो हुँदै गएको हो ?
हामीले नयाँ धारा नै सिर्जना गर्नुपर्छ भन्ने मलाई लाग्छ । जस्तो, गुरुप्रसाद मैनाली फरक र अदभुत तरिकाले आउनुभयो, कथासाहित्यमा । पछि बीपी कोइराला झन् अदभुत र फरक शैलीबाट साहित्यमा आउनुभयो । पछिपछि रमेश विकल, पारिजातहरू आफ्नै तरिकाबाट साहित्यमा देखा पर्नुभयो । तर, पछिल्लो समयमा मैले कथाकारहरूमा चुरोमा पुग्ने गरी मिहिनेत गरिएको देखिनँ । म अरूलाई भन्दिनँ, मेरै पनि चुरोमा पुग्ने मिहिनेत पुगेन कि !

वास्तवमा, हामीले कथा लेख्न अलि नजानेर त्यस्तो भएको हो कि ! कथामा मनोरञ्जनको कुरा हुन्छ । त्यहाँ अन्तस्करणको सन्देश पनि हुन्छ । यसरी हेर्दा के देखिन्छ भने हामी कथा लेखनमा गम्भीर भइरहेका छैनौँ । यो समस्या उपन्यासमा पनि छ । यस हिसाबले कथा र उपन्यास दुवैमा गम्भीरताको खाँचो देखिन्छ ।

किन त्यस्तो भएको होला ?
कुनैकुनै समय त्यस्तो हुन्छ, कुनै समय संसारै सतही पारामा दौडिन्छ । त्यो किन दौडिन्छ भने त्यसको पछिल्तिर पनि समाजका केही विशेषताहरूले काम गरिरहेको हुन्छ । पछिल्लो समय तपाईंको संवाद अरूतिर, जस्तो–  टेलिभिजन, सिनेमा, अनलाइनतिर हुन थाल्यो । आज तपाईंको संवाद मोबाइलसँग हुन थालेको छ ।

विज्ञानको यस किसिमको विकासले नै मानिसलाई गम्भीर र एकाग्रतामा जान अप्ठेरो परेको होला । तर, यस्तो परिस्थितिमा पनि हामी लेखकहरूले यो चुनौतीसँग जुध्नैपर्छ । हामी कसरी फरक हुनसक्छौँ भन्ने विषयमा लेखकले सोच्नैपर्छ । यस हिसाबले अहिलेका लेखकले फरक हुन निकै चुनौतीको सामना गर्नुपर्छ ।

‘तमस’बारे अरू केही ?
मेरा पाठकहरू जागरुक समालोचक बनून् । पाठकले हामीलाई र विश्वसाहित्यलाई पनि पढून् । र, हामी कहाँ छौँ भन्ने कुरा हामीलाई देखाऊन्, किनभने पाठक जागरुक भएनन् भने साहित्य अगाडि बढ्दैन ।

प्रस्तुति : राजेश खनाल
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro