site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन भाले गैँडा स्थानान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले गैँडा पूर्वी भेगमा स्थानान्तरण गरिएको छ । पश्चिममा गैँडाको संख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई गैँडालाई पूर्व ल्याइएको छ । अन्दाजी आठ र १७ वर्षका गैँडालाई नियन्त्रणमा लिएर पूर्वी चितवनको खैरहनी नगरपालिकाअन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वननजिक निकुञ्जको भित्री भागमा छाडिएको छ ।

यस्तै, कावासोती क्षेत्रबाट एक गैँडा नियन्त्रणमा लिएर पूर्व ल्याइएको छ । अन्दाजी २८ वर्ष हाराहारीको सो भाले गैँडालाई कसरादेखि पूर्वी क्षेत्रमा छोडिएको हो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या बढी भएपछि केहीलाई निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रूपमा स्थानान्तरण गर्न लागिएको हो ।

निकुञ्जका हात्ती, हात्तीसारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएका नेपाली सैनिक र अरू कर्मचारी गरी ६० जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् ।

निकुञ्जले अहिले ६ गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनानुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिनेछ ।

पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा छन् । तीमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैँडा छन् ।

एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम समेत बढ्ने हुन्छ । पूर्वी क्षेत्रमा घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा स्थानान्तरण थालिएको हो । केही वर्षअघि आएको बाढीले पूर्वका गैँडा बगाएर भारतसम्म पुर्‍याएको थियो । बगेका कतिपय गैँडा निकुञ्जकै पश्चिमी क्षेत्रमा समेत पुगेका थिए । रासस

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro