काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षा गार्डबाट बरामद भएको हतियार स्वचालित र अत्याधुनिक रहेको जनाएको छ ।
जर्मनमा बनेको उक्त अर्मेरिया परिनी एसआरएल बोकेका प्रसाईंका सुरक्षा गार्ड दिपक खड्का र राजकुमार धितालको साथबाट सोमबार प्रहरीले हतियार बरामद गरेको हो ।
कालो रंगको झोलाभित्र उक्त हतियार बोकेका उनीहरूलाई रामशाह पथस्थित सर्वोच्च अदालत परिसरबाट पक्राउ गरिएको हो । अदालतको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विजय भण्डारीको टोलीले अदालत छिर्नै लाग्दा शंका लागेर जाँच गर्दा उक्त हतियार भेटिएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
मुद्दा सुनुवाइका क्रममा प्रसाईंसहित उनीहरू अदालत पुगेका थिए । उनीहरूको साथबाट हतियारसहित एक सय राउन्ड गोली, म्याग्जिन साना–ठूलो दुई–दुई थान, म्याक्जिन होल्डर एक थान बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त हतियार प्रसाईंको लाइसेन्स प्राप्त हतियार भएको खुलेको छ । प्रहरीले संवेदनशील क्षेत्रमा हतियार बोकेर छिर्न खोजेको आरोपमा अनुसन्धान थालेको छ ।