site stats
बाह्रखरी :: Baahrakhari
देश
चौदण्डीगढी नगरपालिकाको मध्यावधि कार्यप्रगति प्रतिवेदन सार्वजनिक

काठमाडौं । उदयपुर जिल्लाका आठ पालिकामध्ये चौदण्डीगढी नगरपालिकाले पहिलोपटक आफ्नो मध्यावधि कार्यप्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार नगरपालिकाले आफ्नै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मध्यावधि कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै नगरप्रमुख कालुमान लामाले आफ्नो नेतृत्वमा बनेको स्थानीय सरकारले नगरभित्र विशेष गरी शिक्षा र स्वास्थ्यमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए । 

Argakhachi Cement Island Ad

शिक्षा क्षेत्रमा रहेको बेथितिको अन्त्य गर्दै दरबन्दी मिलानदेखि केही विद्यालयका तह घटुवा र केही विद्यालयलाई मर्ज समेत गरेर शिक्षामा परिवर्तनको प्रयास गरेको नगर प्रमुख लामाले बताए । भूमिहीन, दलित र अव्यवस्थित बसोवासीहरूको समस्या समाधान गर्न सम्पूर्ण ऐलानी जग्गा नापीको कार्य तीव्र रूपमा बढाउने उनले बताए । 

यसको दीर्घकालीन समाधानका लागि स्थानीय भूमिसम्बन्धी समिति गठन गरेर भूमि भोगाधिकार प्रमाणपत्र वितरणको तयारी गरिएको उनले बताए । 

चौदण्डीगढी नगरपालिकाले ०७९ को स्थानीय तहको निर्वाचनपश्चात् १५ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको छ भने तीन किलोमिटर निर्माणाधीन रहेको जनाएको छ । १० वटा वडा रहेको चौदण्डीगढी नगरपालिकाभित्र २५ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको र आफ्नो कार्यकालको मध्यावधिसम्म आइपुग्दा ८० किलोमिटर सडक ग्राभेल सम्पन्न गरेको नगर प्रमुख लामाको भनाइ छ ।

आफू निर्वाचित भएर आउँदा झन्डै ६ करोड घाटा बजेट रहेकोमा उक्त घाटा बजेट समेत मिलान गरिएको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्