
विराटनगर । गत जेठ ५ गते रंगेली–७ को निचामारीमा ट्याक्टरले बालिकालाई ठक्कर दियो । दुर्घटनामा १३ वर्षीया बालिकाको मृत्यु भयो । दुर्घटनाको कारण थियो, सडक ढाकेर मकैको बिस्कुन सुकाइनु । बिस्कुन छलेर ट्याक्टर अघि बढाउने क्रममा दुर्घटना भएर बालिकाको ज्यानै गयो ।
सडक नै ढाक्ने गरी सुकाइएको बिस्कुनकै कारण दुर्घटना भएको भन्दै स्थानीयले रंगेली नगरपालिका र प्रशासनको ध्यानाकर्षण गराए । लगत्तै नगरपालिकाले नगर प्रहरी खटाएर ठाउँ–ठाउँमा सुकाइएको बिस्कुन हटायो । नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर आइन्दा सडकमा बिस्कुन सुकाउन नपाइने जनाउ दियो ।
तर, बाँकी क्षेत्रका स्थानीयले नगरपालिकाको उक्त सूचनाको विरोध गरे । अन्ततः नगरपालिका सडकमा बिस्कुन सुकाउन नपाइने निर्णयबाट पछि हट्न बाध्य भएको छ । मकै थन्क्याउनुपर्ने समय भएको र बिस्कुन सुकाउने स्थान अभावका कारण सडक नै एकमात्र विकल्प भएको स्थानीयको जिकिर थियो ।
यस विषयमा छलफल गर्न नगरपालिकाले सर्वदलीय बैठक डाक्यो । सर्वदलीय सर्वपक्षीय छलफलमा कृषकहरूले मकै भण्डार गर्न समयमा सुकाउने ठाउँको अभाव भएको बताएका थिए । हुलाकी राजमार्ग र कानेपोखरी रंगेली सडकमा धानमकै सुकाउन पाइनुपर्ने उनीहरूको माग थियो ।
सर्वदलीय सहमतिपछि नगरपालिकाले पुरानो निर्णय सच्याएको छ । जसअनुसार व्यस्त राजमार्गमा २० प्रतिशत क्षेत्रमा मात्र बिस्कुन सुकाउन पाइनेछ ।
नगरपालिका उप–प्रमुख झुमाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, नेपाली कांग्रेसका नेता जागरनाथ मण्डल, एमाले अध्यक्ष राम चिमोरिया, नेकपा एसका प्रतिनिधि प्रल्हादकुमार खतिवडा, किसान प्रतिनिधि लक्ष्मण साह र रंगेली प्रहरी प्रतिनिधिसहितको सर्वदलीय बैठकले अन्नबाली सुकाउन दिने सहमति गरेको हो ।
रंगेलीकी उप–प्रमुख पराजुलीले भनिन्,“दुर्घटनाको जोखिम नबढ्ने गरी मकै र अन्न सुकाउन दिने निर्णय गरेका छौँ ।” सडकमा अन्नबाली सुकाउँदा र पशुचौपाय बाँध्दा दुर्घटनाको जोखिम बढेको पराजुलीको भनाइ छ ।
हुलाकी मार्ग पिच भएपछि स्थानीयले सडकलाई मकै सुकाउन प्रयोग गर्दै आएका छन् ।