काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक रहेको बताएका छन् । सार्वजनिक यातायात सेवा ऐन, सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक सडक सुरक्षासम्बन्धी विधेयकले ढुवानी व्यवसायीको समस्या समाधान हुन नसक्ने आफूले महसुस गरेको उनले उल्लेख गरे ।
शनिबार काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघको कार्यक्रममा उनले त्यो ऐन निर्माणका निम्ति आफैँले ‘ड्राफ्ट’ तयार पारेर सहयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे । उनले कानुनको माध्यामबाट ढुवानी व्यवसायीको समस्या समाधान गर्न आफू जिम्मेवार भएर लागिपर्ने आश्वासन समेत दिए ।
मन्त्री गिरीले कानुन निर्माणको काममा सम्बन्धित क्षेत्रको सहयोगको आफूले अपेक्षा गरेको पनि बताए । न्युज एजेन्सी नेपाल