site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु
फाइल तस्बिर ।

बेनी (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो ।

सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनको नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर गुरुयोजनाको लागि स्थलगत अध्ययन सकेर प्रतिवेदन तयार गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

एकीकृत गुरुयोजनामा आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसर र भुसकेटमेलामा लज निर्माण गर्ने योजना समेटिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ५० लाख बजेटबाट लजको पूर्वाधार बनाउन सुरु गरिने भएको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध गर्नका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्न लागेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

“गुरुयोजनामा समेटिएका पूर्वाधारलाई गाउँपालिका, प्रदेश र संघीय सरकार तथा पर्यटन बोर्डलगायतका निकायसँग साझेदारी र सहकार्य गरेर निर्माण गर्ने योजना बनाएका छौँ, यस वर्ष होटल निर्माण भएपछि आधार शिविरमा खाना बस्नको सुविधा पुग्छ”, उनले भने । गुरुयोजनामा ताल परिसरमा रहेको मन्दिरको व्यवस्थापन गर्ने, अन्नपूर्ण हिमालको पहिलो आरोही मौरीस हर्जोगको सालिक स्थापना गर्ने, शौचालय र खानेपानीको सुविधा पु¥याउने, आरोहीको सुविधाका लागि गोदाम घर बनाउने योजनासमेत अध्ययन गरिएको छ ।

त्यसैगरी पदमार्गअन्तर्गत सुनखोलामा आश्रयस्थल थप गर्ने, गुफाफाँट र साँधिखर्कमा रहेको आश्रयस्थलको क्षमता विस्तार गरी खानेपानी, शौचालयलगायतका पूर्वाधार थप गर्ने, सबै आश्रयस्थलमा सोलार सुविधा पु¥याउने योजना बनाइएको छ । गुरुयोजनामा पदमार्गको आकर्षणको रुपमा रहेको फुतफुते झरनालाई व्यवस्थित गर्ने, झरनाको पानी बगेर जाने खोलामा आर्क प्रविधिको पुल बनाउने,  झरना परिसरमा रक गार्डेन बनाउने र कफी सप सञ्चालनको लागि पूर्वाधार बनाउने योजनालाई समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

गुरुयोजनामा नारच्याङमा पर्यटन सूचना केन्द्र बनाउने, प्रवेशद्वारलाई पर्यटक प्रवेशद्वारको रुपमा व्यवस्थित गर्ने योजनालाई समेत समावेश गरिएको छ भने हुमखोला, साँधिखर्क र भुस्केटमेलाको झोलुङ्गे पुललाई व्यवस्थित गर्ने, सुनखोला र नजिकैको खहरेमा समेत पूर्वाधार निर्माण गर्ने, आकासे गुफाको पहिरो रोकथाम र नियन्त्रण गर्ने योजनालाई समेत समावेश गरिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro