काठमाडौं । सांसद सरस्वती बजिमयले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै भ्रष्टाचार निर्मुल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिबद्धतामा प्रश्न गरेकी छन् ।
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद बजिमयले बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रधानमन्त्रीको प्रतिबद्धता र कामलाई पीडितले कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेकी हुन् ।
“प्रधानमन्त्रीज्यू, उथलपुथल ल्याउने भन्नुहुन्छ, भ्रष्टाचार निर्मूल पार्ने भन्नुहुन्छ,” बजिमयले भनिन्, “तर, सहकारी ठगीमा मुछिएको व्यक्तिलाई गृहमन्त्री बनाउनुहुन्छ । पीडित र जनताले के विश्वास गर्ने ठाउँ छ ?”
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा सहकारी ठगीमा संलग्न रहेको भन्दै उजुरी परेको छ । बजिमयले त्यसलाई जोडेर संसद्मा प्रश्न उठाएकी हुन् ।