site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले–कांग्रेस मिल्ने विषयमा प्रचण्डको ‘सफ्ट धम्की’देखि नेताहरूबीच गहिरो घोचपेच
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वासको मत प्राप्त गरेसँगै अबउप्रान्त प्रधानमन्त्री प्रचण्डलाई सरकार चलाउन असहज रहेन । उनलाई प्रतिनिधिसभाका १५७ सांसदले विश्वासको मत दिए । विपक्षमा ११० जना उभिए ।

यद्यपि, उनीमाथि धोकेबाजको ‘ट्याग’ बुधबार पनि लगाइयो । उनीविरुद्ध धम्कीको स्वर सुनियो, ‘धोका पाएकाहरू एक ठाउँ उभिए कसरी पद जोगिन्छ ?’

अझ सत्तासाझेदार दलबाटै विश्वासको मत दिँदा समेत उनीमाथि घोचपेच चल्यो । प्रचण्डले कम्तीमा समर्थन गर्दा त घोचपेच नगरिदिएको भए हुने भन्दै गुनासो नै गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डको हमला कांग्रेसमाथि 
लिखित भाषण बोकेर विश्वासको मत माग्न रोस्ट्रममा उभिएका प्रधानमन्त्री प्रचण्ड सुरुआतमै गठबन्धन तोडिनु कांग्रेसको गल्ती हो भन्दै जंगिए । आफूले तेस्रोपटक विश्वासको मत लिनु नै उथलपुथल भएको जिकिर गर्दै उनले सो शब्द कोही व्यक्तिप्रति नभई समग्र सामाजिक र राजनीतिक घटनाक्रम जनाउन प्रयोग गरेको बताए ।

गठबन्धन तोड्नुको लामो फेहरिस्त उल्लेख गर्दै उनले कांग्रेसलाई कसले विश्वासघात गर्‍यो भनी प्रश्न गरे । विगतमा एमालेलाई धोका दिएर राष्ट्रपति दिलाएको भन्दै उनले अहिल्यै धोका दिएको भन्न नमिल्ने जिकिर गरे । “राष्ट्रपति त तपाईंहरूकै हुनुहुन्छ, यति छिट्टै गुन बिर्सेर धोका ? के हो धोका ? कसले गर्‍यो विश्वासघात ?,” उनले प्रश्नले शृंखला चलाए ।

Global Ime bank

आफ्ना कारणले शेरबहादुर देउवा दुईपटक प्रधानमन्त्री बनेको दाबी गर्दै उनले फेरि प्रश्न गरे, “धोका कसले दियो ?”

उनैका शब्दमा, “धोकाको आरोप त बरु मलाई प्रधानमन्त्री बनाउन पहल गर्ने दलहरू र त्यसको मुख्य नेतृत्व माननीय केपी ओलीले लगाउन मिल्छ । प्रधानमन्त्री उहाँले बनाउने अनि खुरुक्क कांग्रेससँग जाने । उहाँहरूले लगाए मिल्दोजुल्दो हुन्छ ।”

प्रचण्ड यतिमै रोकिएनन् । विगत एक वर्षदेखि कांग्रेसभित्र देखिएको गुटगत लडाइँले सरकार र सहकार्यमा असर परेकाले आजित भएर गठबन्धन फेरेको बताए । आफूले समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुसी लागेको उनले उल्लेख गरे । कांग्रेसले आफूलाई ‘भिलेन’ बनाउन जोडबल गरिरहेको प्रधानमन्त्री प्रचण्डले जिकिर गरे ।

तर, कांग्रेसभित्रको कचिगङ्ल समाधान भए लोकतान्त्रिक आन्दोलनलाई ‘ट्रयाक’मा ल्याउन सकेकामा आफू खुसी हुने भन्दै उनले व्यंग्य गरे । “मेरो कदमले कांग्रेसभित्र राम्रो एकता कायम हुँदै छ । यो युद्धविराम प्रचण्डको कारणले भएको छ । यसलाई स्थायी बनाउनुहोला, शान्तिमा बदल्नुहोला । कांग्रेसलाई एकीकृत गर्न प्रयोग गर्नुहोला, म खुसी हुन्छ,” उनको भनाइ थियो ।

ओलीको आक्रोश– कांग्रेसले कुरै गर्न चाहेन
विश्वासको मतमा प्रचण्डलाई समर्थन गर्न रोस्ट्रममा उभिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई गाली गरेरै बित्यो । ओलीले सुरुआतमै प्रचण्डलाई ‘विश्वासको मत किन नदिने ?’ भन्दै कांग्रेसलाई प्रश्न गरे । पहिले आफूले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेसले विश्वासको मत दिएको उनले स्मरण गरे ।

ओलीले कांग्रेसले गठबन्धन भत्काउने काम चीनले गरेको भन्ने अनावश्यक प्रचार गरेको सांकेतिक रूपमा उल्लेख गरे । कांग्रेसले इमानका कुरा गरेर धाक लगाएको देख्दा, सुन्दा अचम्म लाग्ने ओलीले टिप्प्णी गरे ।

“कांग्रेसले राम्रो काम गरेको सबैले आफूले गरेको भन्छ, अरूलाई एक छेउ जस दिँदैन । देशभित्रको काम हामीले गरेको भन्दा जस दिँदा हुन्छ नि, हामी दुई भाइलाई दिँदा हुन्छ नि ! को कहाँबाट कुन देश आयो भन्छ,” उनले भने ।

ओलीले सत्तापक्ष हुँदा हौसिनुपर्ने र विपक्षी भएकामा निराश हुनुपर्ने कारण नभएको भन्दै निषेधको राजनीतिले एकदलीय एकाधिकारमा पुगिने बताए ।

उनको आक्रोश यतिमै रोकिएन । आफूले कांग्रेससँग संवाद गर्न खोज्दा समेत बेवास्ता गरिएको उनको गुनासो थियो । “पानी नचल्ने, भात नचल्ने, दाल नचल्ने भन्ने सुनेको थिएँ । तर, कुरा नचल्ने भन्ने कुरा पहिलोपटक देखेँ,” ओली भने ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रचण्डबाट धोका भएको जिकिर गरे । उनले प्रश्न तेर्स्याए, “धोका पाएकाहरू एक हौँ भनेर नारा लागे कहाँ पुग्नुहोला ?”

उनले पहिले धोका पाएको एमाले र कांग्रेस मिल्ने संकेत गर्दै यस्तो प्रश्न सोधेका हुन् । “पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको । पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षमा रहेको क्लियर हुँदैन र हिसाब ? धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि ?,” उनले भने, “तब राजनेताको गद्दीको हालत के होला, सम्माननीय प्रधानमन्त्रीज्यू ? अघि यहाँले कांग्रेसको कसैलाई राजनेता भन्नुभएको छ ।”

उनले एमाले अध्यक्ष ओली र आफ्ना सभापति देउवाबीच सहमति भए प्रचण्डको प्रधानमन्त्रीको पद नरहने संकेत गरे । “कुरा नचल्ने भनेर भन्नुभो पूर्वपधानमन्त्रीज्यूले, तलबाट हाम्रा सभापतिज्यूले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरूको कुरा चल्न सुरु गर्‍यो भने यहाँको यात्राचाहिँ कति चल्छ होला, प्रधानमन्त्रीज्यू ?,” शर्माले प्रश्न गरे ।

उनले प्रचण्डलाई अरू पार्टीभित्रका बहसमा प्रवेश नगर्न चेतावनी दिए । प्रधानमन्त्री प्रचण्डले आफूले कांग्रेसबाट कोसी प्रदेश र राष्ट्रियसभा निर्वाचनमा धोका पाएको, महासमिति बैठकको प्रतिवेदनलगायत विषयका कारण गठबन्धन तोडेको बताइरहेका छन् ।

शर्माले पार्टीको डकुमेन्ट तपाईं (प्रचण्ड)लाई सोधेर लेख्नुपर्ने हो र भन्दै प्रश्न गरे । “प्रधानमन्त्रीज्यू, तपाईंहरूले गठबन्धन तोड्दै गर्दा कांग्रेसको महासमिति बैठकमा स्टल राखेर हस्ताक्षर गर्दै हिन्दुराष्ट्रको अभियान चलाएको बताउनुभयो,” उनले भने, “प्रधानमन्त्रीज्यू, कांग्रेसले कुन विषयमा छलफल गर्ने, कुनमा नगर्ने भनेर देशको प्रधानमन्त्री समेत रहेको कुनै कम्युनिस्ट पार्टीको नेतालाई सोध्नुपर्ने हो ?”

महामन्त्री शर्माले यसअघि ‘नो नट एगेन’ अभियान चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति पनि व्यंग्य गर्न भ्याए । उनले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्दै अभियान चलाएको रास्वपा विस्तारै वास्तविकतानजिक पुग्न थालेको टिप्पणी गरे ।

नयाँदेखि पुराना दल र सत्तादेखि प्रतिपक्षले सत्य छोपेको उनको भनाइ छ । “हिजो चुनावमा नजाँदै नो नट एगेन, अब यी देखिएका बुढा अनुहारहरू प्रधानमन्त्री बन्नु हुँदैन, अहिले त खुमलटार, बालुवाटार बालकोट हुँदै एगेन एन्ड एगेन,” शर्माले भने, “सरकारमा फेरिफेरि गएपछि यसले परिपक्व बनाउँछ । सरकारमा पटकपटक गएपछि नयाँ दलका साथीहरू मिसन–०८४ होइन, अब ०८०/८१ तिरै, ०८२ तिरै ध्यान हुनेछ ।”

विश्वप्रकाशलाई स्वर्णिमको जवाफ– हाम्रो पार्टीका अधिकार क्षेत्रमा प्रवेश नगर्नु होला
आफ्नो पार्टीप्रति शर्माले त्यस्तो टिप्पणी गरेपछि जवाफमा उत्रिए रास्वपाका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले । डा. वाग्लेले शर्माको प्रश्नको सिधा जवाफ दिएनन् । उनले अटल बिहारी वाजपेयी १३ दिन प्रधानमन्त्री बनेको अनुभवका आधारमा पाँच वर्ष कुशल शासन प्रदान गरेको बताए ।

प्रधानमन्त्रीले व्यक्तिगत ‘लिगेसी’का निम्ति पनि गठबन्धन तोड्नु उचित भएको उनले तर्क गरे । उनले कांग्रेस महामन्त्री शर्माले उठाएका प्रश्नमा पार्टीभित्रका विषयमा प्रवेश नगर्न आग्रह गरे । “अवसर आएपछि शासन गर्नुपर्छ, चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ,” शर्मालाई जवाफ दिँदै वाग्लेले भने, “शासनमा जाने वा बाहिर बस्ने विषय हाम्रो पार्टीलाई छाड्दिनुहोला, प्रवेश नगरिदिनु होला ।”

प्रचण्डलाई राजेन्द्रको सुझाव– यो अन्तिम गल्ती नबनोस्  
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति र दलका नेताप्रति जनताको विश्वासमा क्षयीकरण हुँदै गएको बताए । दलहरूका पछिल्ला गतिविधिले त्यसलाई मलजल गरिरहेको उनले टिप्पणी गरे । स्वार्थ मिले टाँसिने र नमिले छुट्टिने गरेको विषय सत्ता गठबन्धनका नेताबीच भएको सात/आठ बुँदे सहमतिबाट पनि देखिने उनले बताए ।

उनले सत्तालाई सुरक्षा कवचका रूपमा प्रयोग गर्न गठबन्धन बनेको जिकिर गरे । कुनै दल र नेता बदनाम हुन् भन्ने आफूलाई नलागेको उनले उल्लेख गरे । उनले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै प्रश्न गरे, “रातारात राजनेता र राक्षसको अभियोग लगाउन कसरी सकिन्छ ?”

लिङदेनले रास्वपाका सभापति रवि लामिछानेप्रति संकेत गर्दै भ्रष्टाचारकाण्डमा नाम मुछिएको भन्दै संसद्मा आएर ठूल्ठूला कुरा गरेको कसैले नपत्याउने बताए । उनले अघिल्लो निर्वाचनपछि बनेको सरकार परिवर्तन गर्दा आफूले प्रधानमन्त्री प्रचण्डलाई जीवनको अन्तिम गल्ती हुन सक्ने बताएको सुनाए ।

उनले अब पनि प्रधानमन्त्रीलाई नयाँ गठबन्धन बनाउनु जीवनको अन्तिम गल्ती नहुने नहोस् भन्ने कामना गरे । “फेरि पनि भन्छु– प्रधानमन्त्रीको जीवनको यो अन्तिम गल्ती नबनोस् । गल्ती सच्याउने मौका नहुने अवस्था नबनोस्,” उनले भने ।

सीके राउतले भने– छातीमा छर्रा भएको र घरमा नै हत्या भएकाले मत साट्न सक्दैनन् 
जनमत पार्टीका अध्यक्ष सीके राउतले चुनावअघि गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताए । उनले चुनावमा गठबन्धन गर्ने प्रवृत्ति वा निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने सुझाव दिए ।

“निर्वाचनमा गठबन्धन गर्नु कति घातक छ भने, छातीमा छर्रा भएका मान्छेले बर्जुवालाई नै भोट हाल भन्नु र जसको घरमा नै हत्या भएको छ,” राउतले भने, “हत्या गर्नेलाई नै भोट माग्नु कति घातक छ भन्ने देखाइरहेको छ । कि निर्वाचनमा गठबन्धन रोक्न सक्ने ऐन–कानुन ल्याउन सक्नुपर्‍यो कि व्यवस्था नै परिवर्तन गर्न सक्नुपर्‍यो ।”

उनले जनताको विश्वासको मत कहिले कता कहिले कता हाल्नुपरेको गुनासो गरे । जनताले नै प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

उता, प्रधानमन्त्री प्रचण्ड ‘मिलेर देखाए हुन्छ’ भन्दै कड्किए । सबैले बोलेपछि अन्तिममा जवाफ दिन रोस्ट्रममा उक्लिएका उनी आवेशमा थिए । सबैको कुरा सुनिसकेपछि रिसले चुरचुर भएका प्रचण्डले चुनौती दिए, “धोका पाएकाहरू मिलेर सरकार बनाएर देखाए हुन्छ ।”

उनले चुनौतीकै भाषा प्रयोग गर्दै ‘कोही मिल्छन् भने प्रचण्ड नडराउने’ बताए । “कांग्रेसका साथीहरूले अरू मिले भने के हुन्छ भन्दै प्रश्न गर्नुभयो, कांग्रेस र एमाले मिल्नुहुन्छ भने मिल्नुस्, प्रचण्ड डराउँदैन,” उनले भने, “हिजो तपाईंहरू मिलेर टाउकोको मूल्य तोकेको होइन ?”

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले ‘प्रधानमन्त्रीले राजनीतिक नैतिकता नदेखाएको’ भनी गरेको प्रश्नमा पनि उनले चुनौती दिए । “तपाईंहरू विश्वासको मत दिन अप्ठ्यारो भए सकिँदैन भन्नुस्,” प्रधानमन्त्रीले भने, “होइन भने कसैको मिल्ने धम्कीबाट प्रचण्ड डराउँदैन । त्यस्ता धम्कीबाट माओवादी डराउँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय