site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र सुधार्न उद्योगदेखि किराना पसलसम्मको मनोबल बढाउनैपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनुपर्ने बताएका छन् ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा बिहीबार अध्यक्ष ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना सहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनर्कर्जा सुविधा विस्तार गर्नुपर्ने बताए । 

"सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन," उनले भने, "त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ ।"

उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि अर्थमन्त्री पुनसमक्ष आग्रह गरे 

अध्यक्ष ढकालले मन्त्री पुनलाई निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने पनि बताए ।

"निजी क्षेत्र भन्नाले ठूलो उद्योगदेखि गाउँको किराना पसलसम्म हो," अध्यक्ष ढकालले भने, "सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनु हुँदैन र निजी क्षेत्रको मनोबल बढाउनुपर्छ ।"

यसैगरी राजस्व कम उठिरहेको समयमा धरपकड गरी राजस्व उठाउने गरिएकोबारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । चार वर्ष अगाडि राजस्वले टुंग्याएको विषयलाई महालेखा परीक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि अध्यक्ष ढकालले अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 

निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने उनको भनाइ छ ।

"सरकारले खर्च नगरी विश्वास बढ्ने यस्ता विषयमा कन्जुस्याइँ गर्नु हुँदैन," उनले भने, "यी साना विषयजस्ता देखिए पनि यसले देशभरका सबै उद्यमी व्यवसायको हौसला बढाउँछ ।"

अध्यक्ष ढकालले जुनसुकै पार्टी भए पनि आर्थिक एजेन्डामा एकरूपता हुनुपर्ने माग गर्दै आइरहेको कुरा पनि अर्थमन्त्रीलाई अवगत गराए । उनले अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टि र पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताए ।

अध्यक्ष ढकालले बैंक तथा वित्तीय संस्थामा पनि समस्या देखिएमा अर्थतन्त्रमा थप जटिलता बढनेतर्फ सजग गराउँदै यसको संवेदनशीलता बुझ्न आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro