site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेडलक कपालको मेमोरीका लागि बनाइएको थियो ‘पिरैपिर’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चार वर्षदेखि जतनले पालेको डेडलक कपाल थियो । मायाले सुम्सुम्याएर पालेको कपाल काट्नैपर्ने भयो । डेडलक कपालको मेमोरी कसरी राख्ने होला !

भूपू पाण्डेले सोचे– भिडियोमै डेडलक कैद गर्न सके मेमोरी अजम्बरी होला । कपालको भिडियो खिचेर युट्युबमा अपलोड गर्ने कुरा भएन ! 

त्यसो भए के गर्ने ? 

KFC Island Ad
Dabur Nepal
NIC Asia

म्युजिक भिडियो नै बनाएर त्यसमा अभिनय पनि गर्न पाए त्यसमै डेडलक कैद हुन्थ्यो । एउटा भिडियो पनि बन्थ्यो ।

त्यसपछि उनले पल्टाए डायरी । डायरीमा भूपू कहिले गीत लेख्छन्, कहिले गीतको थिम । कहिले भिडियोको थिम उतार्छन् । कहिले गीतको स्थायी, अन्तरा, मुखडा, टुक्का जति दिमागमा आउँछ, त्यो बिर्सिएला कि भनेर टिपिहाल्छन् । त्यही डायरी पल्टाउँदै जाँदा उनले एउटा गीतको मुखडा भेटे– फूल फुलेर के गर्नु भीरैभीरमा छ, जिन्दगी चल्न त चल्या छ पिरैपिरमा छ ।

Royal Enfield Island Ad

मिति हेरे, एक वर्षअगाडि लेखिएको रहेछ । कुन सुर र ध्यानमा लेखेका थिए, त्यो सम्झनाको तरेलीबाट मेटिइसकेछ । तर, यतिचाहिँ उनी ढुक्कैले भन्छन्– कहिले पो पिर छैन यो जिन्दगीलाई ! “त्यस्तै कुनै दिन लेखेँ होला,” भूपूले अनुमान लगाए, “कुनै मुडमा लेखेँ, पछि अर्को कुनै काममा लागेँ होला, बिर्सिएँ । तर, अहिले हेर्दा मन पर्‍यो ।” मुखडाले टुक्का पाएनछ, अलपत्र परेछ !

एक महिनाअगाडि फर्किए, भूपू । “कपालको मेमोरीका लागि गीत लेख्नैपर्ने भयो, त्यो पनि तत्काल । त्यही मुखडामा टुक्का थप्न थालेँ । दुई दिनमा गीत पूरा गरेँ,” उनले सम्झिए ।

डमी बनाए । तर, बाजा हालेकै थिएन । बाजा नभई ट्रयाक बन्ने कुरै भएन । कम्प्युटरमा केही धुन खोजे, ताकि सुटिङमा लिप्सिङ गर्न मिलोस् ।

भूपूलाई गीत टिपिकल बनाउनु थियो । शब्द त्यहीअनुसारको थियो । भिडियो पनि त्यस्तै चाहियो । उनी पुगे दाङको सिसनिया । त्यो उनको गाउँ हो । लोकल टेस्ट दिन गाउँठाउँमै गीतको छायांकन गर्ने निधो गरे । भिडियो कस्तो बनाउने उनले थिम बनाइसकेका थिए । देउखुरीको पहरुवामा छायांकन गर्ने निर्णय गरे । वनभोज (पिकनिक) गएको भिडियो बनाउने दिमागमा थियो । उनले सोचिसकेका थिए, क्यामेरा फेस गरेका कोही व्यक्ति पनि भिडियोमा नराख्ने । उनले गाउँकै साथीसंगीलाई भने भिडियोका लागि । आफ्नै साथीले भनेपछि नाइँ भन्ने कुरा भएन । ‘पिकनिक जाने हो, रमाइलो गर्ने हो, त्यसैलाई भिडियो बनाउने’ भनेका थिए ।

अघिल्लो दिन उनले गाउँमै सामान्य रिहर्सलजस्तो गरे । पहिल्यै क्यामेरा फेस गरेका व्यक्ति भए पो टेक लिएर अभिनय गर्न सक्नु, सकेनन् । अनि, भूपूले निर्णय गरे– टेक लिन थाले यो भिडियो नै बन्दैन । जस्तो हुन्छ त्यस्तै खिच्ने हो, ‘र’ भिडियो बनाउने हो ।

“१४ जनामा हामी चारजना त पाण्डे मात्रै छौँ, अंकलका छोराहरू हौँ । कम्तीमा सातजनादेखि १५ जनासम्म हुनुपर्छ भन्ने थियो । १४ जना भयौँ,” उनी भन्छन्, “लोकल वातावरणमा लोकल तरिकाले हामीले पिकनिक खायौँ । त्यसैलाई क्यामेरामा कैद गर्‍यौँ ।”

अभिनय गर्न कसैलाई नआउने भएपछि प्राकृतिक रूपमा जे हुन्छ र भइरहेको त्यही देखाउने निर्णय गरेका भूपूले लोकल ... किने । गिलास किने । बँदिया भाले ३५ सयमा किने । पाँच किलो बोइलर कुखुराको मासु थपे । पाइलट र खुकुरी ... किने । गाउँमा वनभोज खान जाँदा जे–जस्तो हुन्छ, त्यस्तै गरे ।

“कथाले जे माग्यो, त्यसै गर्‍यौँ । कारण, पियोर देखाउनु थियो । हामीमध्ये अधिकांश खाने/पिउने नै थियौँ । खायौँ, पियौँ, त्यही खिच्यौँ,” भूपू भन्छन्, “मदिरा तथा धूमपान गरेको देखाउनु हुँदैन थियो होला, तर हामीले जे भइरहेको छ, देखाउनु थियो, त्यसैले भिडियोको अगाडि वा पछाडि केही लेखेर प्रस्ट पारौँला भनेर अर्ग्यानिक चिज देखायौँ ।”

भिडियोको अन्त्यतिर मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना र मृत्यु हुने दृश्य देखाउनु थियो । त्यसका निम्ति साँच्चिकै जिन्दगीमा जस्तो हुन्छ, दुर्घटना हुँदा त्यस्तै देखाउनुपर्ने थियो । त्यसैले भूपूले भनेका थिए– तिमीले म साँच्चै मरेँ, म जिउँदो छैन भन्ने फिल गर्नू र हामी सबै साथी साँच्चै मर्‍यो भनेर त्यस्तो बेला गर्ने रियाक्ट गर्छौँ ।

“भिडियोमा दुर्घटनाको सिनमा जसरी हामी रोइकराइ गरेका छौँ, त्यो घटनास्थलकै आवाज हो । हाम्रा साथीहरू नै कराएका हुन्,” उनी भन्छन्, “भ्वाइसओभर अथवा पुराना आवाज हामीले प्रयोग गरेका हैनौँ ।”

मादकपदार्थ सेवन गरे । चुरोट पिए । साँझ घर त फर्किनुपर्‍यो, सातवटा बाइक थिए । आफैँ चलाएर फर्किनुपर्‍यो । सिसहनियाबाट घर फर्कन १०/१२ किलोमिटरको दूरी थियो । पिकनिक स्पटबाट हाइवेसम्म त सडक खुला थियो, खासै डर थिएन । “हाइवेमा आएपछि भने मलाई डर लाग्यो । मैले साथीहरूलाई ‘स्लो चलाउनू’ भनेको थिएँ, तर उनीहरू एक्सिलेटर घुमाइरहेका थिए । मैले एक हिसाबले गैरकानुनी काम गरिरहेको थिएँ । सन्देश दिन त खोजिरहेको थिएँ, तर पनि डर लाग्यो,” भूपू सम्झिन्छन्, “म घर पुगेर प्रत्येक साथीलाई ‘घर पुग्यौ ?’ भनेर सोधेँ । जब सबै साथीहरूले सकुशल घर पुगेको बताए, म ढुक्क भएँ ।”

उनको घरछेउमै हाइवे छ । हाइवे भन्नु कि दुर्घटनाको हब ! कहिलेकाहीँ त उनी आफैँ दोधारमा पर्छन् । गीतको छायांकन सकेर काठमाडौं फर्कने तयारी गर्दै थिए, गाउँकै २४ वर्षको भाइ मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटनामा परे । अन द स्पट डेथ भयो । “यस्तै भइरहेको छ । त्यसैले यस्तो नहोस् भनेर जनचेतनाका लागि पनि मैले यो गीत र भिडियो बनाएको हुँ,” उनी भन्छन्, “शब्दमा विम्ब र प्रतीकको प्रयोग पनि गर्न सक्थेँ, तर गरिनँ । भिडियो पनि त्यसैगरी बनाउन सक्थेँ, तर गरिनँ । किनकि, मलाई ‘र’ कुरा नै देखाउनु थियो । त्यसैले म निर्देशक नभए पनि आफैँले निर्देशन गरेँ । किनकि, म कुनै पनि सिन आर्टिफिसियल नहोस् भन्ने चाहन्थेँ ।”

भूपू काठमाडौं आएर संघर्ष गरेको दुई दशक पुग्यो । काठमाडौंका अधिकांश गल्ली उनले खुट्टाले नै नापेका छन् । एउटै गल्ली कतिपटक एउटै आशा र सपनाको कोपिला मनभरि बोकेर नापेका छन् । दिन, महिना, वर्ष हुँदै दशक बिते, तर सपना फक्रिएन । बरु, ओइलाएर गए ।

“मैले १७ वर्ष यो काठमाडौंका गल्लीहरू खुट्टैले नापेको होइन र ? मैले बाइक चढेको भर्खर एक वर्ष त भयो,” भूपू भन्छन्, “बुवा ६५ वर्ष पुग्न लाग्नुभयो, आमा ६० वर्ष । उहाँहरू पनि त मबाट केही चाहनुहुन्छ होला । मेरो पनि त दायित्व होला छोराका नाताले । तर, के मैले मेरो दायित्व पूरा गर्न सकेँ ?” आफैँले आफैँलाई प्रश्न गरे उनले । यसो भनिरहँदा उनका आँखा रसाए । भक्कानिए । गला अवरुद्ध भयो । एक छिन बोल्न सकेनन् । यो गीतमा कति उनले आफैँले अनुभूत गरेका कुरा लेखे । कति समकालीन र सहकर्मीले भोगेका पीडा लेखे ।

देशमा रोजगारी छैन । भ्रष्टाचार छ । कालोबजारीले नागरिकको ढाड सेकिएको छ । अपराध छ । अपराधीलाई राजनीतिक संरक्षण छ । जिम्मेवार व्यक्ति र पदाधिकारी नै गैरजिम्मेवार छन् । सोझासिधा नागरिक बाँच्नै नसक्ने अवस्था छ । गरी खान्छु भन्नेलाई वातावरण छैन । साम, दाम, दण्ड, भेद अपनाएर गरिखाने वर्गमाथि थिचोमिचो हुन्छ । न्याय माग्न जाँदा थप अन्याय हुन्छ । अनि, कसरी हुँदैन आमनागरिकलाई पिर ? यस्तै भोगाइ र आफ्नै आँखाले दखेका विषय उनले गीतमा उतारे ।

“मलाई लाग्छ, मेरोजस्तै भोगाइ अधिकांश युवाको छ । भोगाइ एउटै भएपछि दिमागमा पनि सायद उस्तैउस्तै कुरा त चल्ने होला,” भूपू भन्छन्, “भिडियोमा देखिने साथीहरूको पनि अवस्था उस्तै हो । अवसर नहुँदा अधिकांश बेरोजगार नै बस्नुपर्ने अवस्था छ । त्यसैले उहाँहरूले पनि त्यही फिल गर्नुभयो होला भन्ने लाग्छ । त्यसैले भिडियो जीवन्त बन्यो कि भन्ने लाग्छ ।”

युवासँग बाइक छ, तर त्यसमा हाल्ने पेट्रोल किन्ने पैसा छैन । जसोतसो गरेर पेट्रोलको जुगाड भए युवा घुम्न निस्कन्छन् । तिनै युवाको पीडादायक कथा भूपूले गीत र भिडियोमा समेटे ।

डेडलकको मेमोरी कैद गर्दै सन्देश दिनु थियो । अर्को भिडियोका निम्ति कपाल काटिहाल्नुपर्ने थियो । त्यसैले हतारमै गीत र भिडियो बनाएका थिए । यही कारण ‘पिरैपिर’बाट उनले खासै अपेक्षा गरेनन् । गाउँको ‘र’ कुरा देखाएकाले थोरै लोभ भने थियो ।

“अपेक्षा गरेर बडो मिहिनेत गरेको काम नोटिस हुँदैन । अपेक्षा गरेको पूरा नभएपछि तनाव हुन्छ,” उनी भन्छन्, “त्यसैले मैले अहिले ठूलो अपेक्षा नै राख्न छोडिदिएँ । यो गीतमा पनि मैले ठूलो अपेक्षा नै राखिनँ ।”

ठूलो अपेक्षा नगरेकै गीत ‘पिरैपिर’बाट उनले नसोचेको प्रतिक्रिया पाइरहेका छन् । त्यसो त उनले यसको छनक रेकर्डिङ स्टुडियोमै पाएका रहेछन् । गीत रेकर्ड गर्दा त्यहाँ रहेका अग्रजदेखि समकालीनसम्मका संगीतकर्मीले ‘अर्ग्यानिक गीत, राम्रो छ, राम्रो हुन्छ’ भनेका थिए रे ! तर, स्टुडियोमै वाह ! भनिएका गीत पनि आँखैअगाडि ‘मरेका’ उनले आफैँले भोगिसकेका थिए । त्यसैले अपेक्षा नै नगर्‍यो न पिर न चिन्ता भन्नेमा थिए, भूपू ।

“स्टुडियोमा गीत रेकर्ड गर्न जाँदा धेरैले भिडियो कहिले कसरी बनाउने भनिरहेका थिए । म भिडियो त छायांकन भइसक्यो भन्थेँ । म्युजिक ट्रयाक र गीत रेकर्ड नै नगरी भिडियो खिचिसकेको भनेर छक्क पर्नुहुन्थ्यो,” उनी सुनाउँछन्, “भिडियोमा बाँसुरी र सारंगीमा साथीहरू नाचेका छन्, तर त्यो बेला सारंगी र बाँसुरीको धुन नै हालिएको थिएन । पछि बाजा हालेर मिलाएका हौँ । पहिला त फ्रेम मात्रै बनाएर सुटिङ गरेका हौँ ।”

गीत बजारमा ल्याए, अनपेक्षित प्रतिक्रिया पाइरहेका छन् । चिन्दै नचिनेकादेखि फेसबुकमा भएर पनि कहिल्यै नबोल्नेले फोन नै गरेर प्रतिक्रिया दिइरहेको भूपू सुनाउँछन् । “सायद धेरैलाई आफ्नै अनुभूतिजस्तो पनि लाग्यो होला । कतिलाई आफैँले देखेजस्तो लाग्यो होला,” उनी भन्छन्, “त्यसैले पनि मन पराउनुभएको होला । तर, एउटा कुरा केचाहिँ सत्य रहेछ भने मान्छेले आर्टिफिसियलभन्दा पनि ‘र’ चिज हेर्न मन पराउने रहेछ ।”

गीत रिलिजपछि साथीसंगी र आफन्तले पनि हेर्ने नै भए । हेरे/हेरेछन् । अनि, फोन आउन थाल्यो भूपूलाई– गाउँकै केटाहरूलाई बोलाउँदा मलाई किन छुटाइस् ! “साथीहरू फोन गरेर रिसाइरहेछन् । म किन छुटेँ, मलाई किन नबोल्याएको भनेर भनिरहेका छन्,” उनी भन्छन्, “मलाई सम्झाउनै गाह्रो भइरहेको छ । थोरैजना जानुपर्ने थियो । त्यो बाध्यता बुझाइरहेको छु ।”

त्यसो त क्रियाको प्रतिक्रिया हुन्छ नै, यो सर्वव्यापी सिद्धान्त हो । राम्रो मात्र होइन, चित्त दुखाएर कमेन्ट गर्नेहरू पनि छन् । मदिरा र पिसाब फेरेको सिनका विषयमा विशेष गरी धार्मिक क्षेत्रका मान्छेले गुनासो गरेका छन् ।

“धार्मिक क्षेत्रका केही व्यक्तिले मदिराको सिनले नै कस्तोकस्तो बनाइरहेको थियो, त्यसमा पनि पिसाबको सिन समावेश गरेको राम्रो लागेन भन्नुभएको छ,” उनी भन्छन्, “तर, हामी रियालिस्टिक सिन राखिरहेका थियौँ । त्यसैले मदिरापान गरेपछि पिसाब फेरेको सिन राख्नुपर्छ भनेर राखेका थियौँ । त्यसमा उतिसाह्रो पश्चात्ताप छैन । किनभने, नसामा बेहोसीमा रहेको मान्छेले लाजघिन केही पनि मान्दैन भन्ने सन्दर्भको सिन हो, त्यो ।”

कुराकानीको बिट मार्ने मेलोमेसो कस्दै थियौँ, यसअघि झैँ भूपूले फोनको घण्टी नजरअन्दाज गर्न सकेनन् । सरी सर, एउटा कल रिसिभ गरौँ ? 
‘प्लिज सर ।’ 

फोनमा कसैले गीतकै कुरा गर्‍यो । भूपूले माथि झैँ सामान्य प्रोजेक्ट भएको बताए । महत्वकांक्षी प्रोजेक्ट नभएकाले मिहिनेत र बजेट पनि तुलनात्मक रूपमा कमै लागेको बताउँदै थिए ।

‘सुनील गिरीजी (गायक)ले कल गर्नुभएको... ,’ भूपूले भने । 

“बाटोमा हिँडदै गर्दा सुकुम्बासी बस्तीमा एजना बुढी आमैले यो गीत घन्काएर सुनिरहेको देखेपछि कल गर्नुभएको रहेछ,” भूपूले अगाडि थपे, “हामी स्रस्टा तथा सर्जकलाई खुसी दिने भनेकै यस्तै सानोसानो कुरा र प्रतिक्रियाले त रहेछ ।” 

‘...’ 

कुराकानीको बिट मार्दै सोधेँ– भन्न मिल्छ, यसको बजेट कति थियो ? 

“धेरै छैन, रचना, संगीत, निर्देशनलगायत सबै म एक्लैले काम गरेँ । मेरो पारिश्रमिक नराख्ने हो भने अडियो २५ हजारमा निस्कियो । भिडियोमा सबै गाउँले र साथीभाइ नै भएकाले पे गर्नु परेन । सुरुमै भनेको पनि थिएँ । बाइकमा तेल पनि साथीहरू आफैँले हाले । सामान बोक्ने गाडी र खाएको खर्च तथा स्टुडियोको अलिअलि चार्ज गरेर ७० हजार जतिमा गीत निस्कियो जस्तो लाग्छ,” भूपूले गीतको कथा मात्रै होइन इमान्दारी सुनाए ।  

अनि अनुभूत गर्दै उठेँ, ७० हजारको गीतले ७० करोडको प्रतिक्रिया दिइरहेको रहेछ भूपूलाई ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro